|

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिकाकी १४ वर्षीया किशोरीलाई त्यही गाउँपालिकाका मुकेन्द्र नेपालीले बन्धन बनाएर बेपत्ता बनाएका छन्। यही १२ गतेदेखि किशोरी बेपत्ता छन्।

बालिकालाई बेपत्ता पारिएको घटना ढाकछोप गर्न र कानुनबाट बच्न केटाका आफन्तले जातीय मुद्दा बनाएर प्रचार प्रसार गरिरहेका छन्। मिडीयाहरूले पनि बालिकालाई बन्धक बनाएर बेपत्ता बनाएको घटना होइन कि घरमा आगो लगाएको विषयलाई मात्र समाचार बनाएर छाप्ने र प्रसारण गर्ने काम गरिरहेका छन्। 

१४ वर्षीया किशोरीको अवस्था के छ भनेर समाज, मिडीया र राजनीतिकर्मी बेखबर छन्। किशोरीका आफन्तले प्रहरीमा खोजी गर्न निवेदन दिएका छन्। यद्यपि अहिलेसम्म किशोरीको पत्तो छैन।

किशोरीका दाइले आवेगमा आएर बालिका बन्धक बनाएर बेपत्ता बनाउनेको घरमा आगो लगाएको विषय चर्चामा छ। आगो लगाउने दोषी पक्राउ परे पनि बालिका बन्धक बनाउने मुकेन्द्र नेपाली र उनको परिवारप्रति कसैले चासो नदिएको वास्ता नगरेको किशोरीकी आमा राज्यलक्ष्मी गिरीले बताइन्।  

त्यस्तै किशोरीका दाइ हिक्मत गिरीले १४ वर्षीया बहिनीलाई पटक पटक तातोपानी–४ का २१–२२ वर्षका मुकेन्द्र नेपालीले दुर्व्यवहार गर्दै आएको र योपटक बेपत्ता गरिएकाले पीडा सहन नसकेर उसको घरमा आगो लगाएको स्विकारेका छन्। गिरीलाई कानूनअनुसार सजाय हुनै पर्छ। 

नेपालको कानूनले युवा र युवतीको विवाह गर्नका लागि २० वर्ष उमेर तोकेको छ। त्योभन्दा कम उमेरले विवाह गर्न वर्जित गरेको छ। १८ वर्षभन्दा कम उमेरकासँग शारीरिक सम्बन्ध राखेमा कानूनतः बलात्कार मानिन्छ।

कानूनले अपराध मानेको काम गरेर नेपाली र उनका घरपरिवारले जातीय मुद्दा बनाएर मुख्य दोषीलाई उन्मुक्ति दिलाउने प्रपञ्च गरेका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि ट्वीटरमा घर जलाएको भिडियो शेयर गरेर किशोरीमाथि भएको अपराधप्रति पूरै बेवास्ता गरेका छन्।

केटाका पक्षहरू सबै राजनीतिक र सामाजिक रूपमा पहुँच भएका छन् तर किशोरीका घरपरिवार सोझासाझा छन्। उनीहरूको न राजनीतिक पहुँच छ न कुनै संघसंस्थामा पहुँच छ। त्यही भएर पनि सत्य घटनालाई ढाकछोप गर्न जातीय मुद्दा उचालेका छन्।

पत्रकारले बनाइदिएको अन्तरजातीय बिहे 
१४ वर्षीया किशोरीलाई हप्तौंसम्म बन्धक बनाएर राख्दा अन्तरजातीय विवाह भन्दै मिडीयामा उचालेको भन्दै किशोरीकी दिदी निशा गिरी दुखेसो पोख्छिन्। उनले भनिन्, ‘१४ वर्षेलाई बन्धक बनाएर बेपत्ता पारेको कुरा मिडीयाले अन्तरजातीय विवाह भन्दै आएका छन्। के यही हो मिडीयाको काम। सत्यतथ्य खोज्नु पर्दैन। हामी नै अन्यायमा परेका छौँ। अझै हामीलाई मिडीयाले अपराधी भन्दै आएको छ। कसले बोलिदिन्छ गरिबका बारेमा। यही हो नियम कानून।’ 

अहिले विभिन्न पत्रपत्रिका, अनलाइनमा उनीहरू दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए अनि अन्तरजातीय विवाह गरेको भनेर लेखिएको छ। यसमा कुनै सत्यता नभएको किशोरीकी दिदी निशा बताउँछिन्।

यसरी भयो घटना

किशोरीकी आमा जयलक्ष्मी गिरी ४९ वर्षकी छन्। उनी विगत आठ वर्षदेखि बिरामी छन्। कानको अप्रेशन गरिएको छ। नसा दुख्ने र पेट दुख्ने समस्या छ। दुखाइ कम गर्ने औषधि सेवन गर्दै आएकी छन्।

असार १२ गते उनको दुखाइ कम गर्ने औषधि सकिएको थियो। उनले औषधि ल्याउन छोरीलाई पठाइन्। छोरी औषधि लिन मेडिकल पठाउँदा अपराह्न ४ बजेको उनी बताउँछिन्। उनले भनिन्, ‘मेरी छोरी ४ बजेतिर तातोपानी–५ ऐरेनीमा रहेको मेडिकलमा दुखाइ कम गर्ने औषधि ल्याउन गएकी हो। घरमा एउटा फोन थियो, त्यही फोन लिएर गएकी हो। हामी घरपरिवारले साँझ ८ बजेसम्म बाटो कुरेर बसेका थियौँ। औषधि लिन गएकी छोरी नआएपछि पल्लो घरकी देवरकी छोरी विमला गिरीको फोनबाट फोन गर्दा मेरो छोरीले बोकेको अफ थियो।’

त्यसपछि बालिकाका बुवा कैलो गिरी र उनका भतिज नाता पर्ने धनबहादुर महत राति खोज्न गए। त्यसपछि उनीहरूले ऐरेनी प्रहरी चौकीमा छोरी हराएको भनेर जानकारी दिए। निवेदन लिएर भोलि आउनु भनेर फिर्ता पठाएको नाबालिका बुबा कैलो गिरी बताउँछन्।

आफूहरूले नेपालीको घरपरिवारसँग जातीय कुरा नगरेको किशोरीकी आमा बताउँछिन्। उनले भनिन, ‘मुकेन्द्रका बाजे खोट्या सार्की र बुवा चन्द्रवीर सार्कीले मेरो बिहे गरेर आउँदा दक्षिणा हालेका थिए। उनीहरूसँग मेरो कुनै जातीय कुरा छैन। मेरा उनीहरू माइती हुन्।’

किशोरीकी आमा भोलिपल्ट ऐरेनीमा रहेको मेडिकलमा लगी औषधि गरेर घर फकदा नेत्र ज्योति मावि नजिकै आफूलाई दुई बालिकाले छोरीलाई मुकेन्द्र नेपालीले कुटेको कुरा सुनाएको बताउँछिन्। यो कुराले उनी बेहोस भएकी थिइन्।

बेहोस भएपछि उनका श्रीमान् कैलो गिरीले स्टेचरमा बोकर आधाबाटो हाँकु पुलसम्म ल्याए। कैलु गिरीले भने, ‘छोरी मुकेद्रले कुटेको कुरा सुनेपछि पीडा सहन नसकेर श्रीमती बेहोस भई। स्टेचरमा बोकेर हाँकुका पुलसम्म ल्यायौं। त्यसपछि गाउँपालिकाको एम्बुलेन्सले अस्पताल पुगाएर अहिले पनि उपचार भइरहेको छ। १३ गते जिल्ला प्रहरी कार्यालयमा छोरीको खोजीका लागि निवेदन दिएँ।’

दाजु हिक्मतले बहिनीलाई पटक पटक मानसिक तथा शारीरिक यातना दिँदै आएको बताए। उनले भने, ‘एक वर्षअघिको कुरा हो, मुकेन्द्र नेपालीले मलाई केटा जम्मा पारेर कुटेका थिए। त्यति वेला तेरी बहिनीलाई बलात्कार गर्छु भनेर धम्की दिएका थिए।’

आगो लगाएको अपराधमा कानूनअनुसार गिरीलाई सजाय हुने जुम्ला प्रहरीले बताउँदै आएको छ।

मुकेन्द्र नेपालीका माइला दाइ भरत नेपालीले घरमा आगो लगाउनुको कारण जातीय विभेद भएको बताउँछन्। भाइ मुकेन्द्रको नाम नभएर भनेर आफ्नो नाममा उजुरी दिएको भरत नेपाली बताउँछन्। उनले भने, ‘मेरो भाइ अहिले २१ वर्षको भएको छ। यदि बालिका भगाएको प्रमाणमा देखिएको खण्डमा कानुनको दायरामा ल्याउन सहयोग गर्नेछु। म सामाजिक क्षेत्रमा काम गर्ने मान्छे हुँ। सबैभन्दा बढी बालविवाह र बालिका हिंसा सम्बन्धी मुद्दामा म आबद्ध भएको संस्था किर्डाक नेपालले उठाउँदै आएको छ।’

घरमा आगजनी गर्ने एकजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशी बताउँछन्। किशोरी बेपत्ता भएको भनेर उनका बाबु कैलो गिरीले असार १३ गते प्रहरीमा खोजीका लागि निवेदन दिएको र खोजी भइरहेको जोशीले बताए।  

बालविवाह सम्बन्धी कानुनी व्यवस्था  
मुलुकी अपराध संहिता, २०७४ ले विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनी व्यवस्था गरेको छ। उक्त ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था छ।

त्यसैगरी बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। बालविवाह गर्ने गराउने कार्य दण्डनीय हुने व्यवस्था छ। मुलुकी अपराध संहिताको परिच्छेद – १७ मा अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरको व्यवस्था गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.