|

काठमाडौं : साउन आउन एक साता बाँकी रहँदा सनातन धर्मावलम्बीले साउने सोमबारको व्रत शुरु गर्दैछन्। साउन महिनामा पहिलो सोमबार १ गते नै परेको छ। त्यसोभए किन आज शुरु गरिँदैछ, साउने सोमबारको व्रत।

नेपाली जनजीवनमा दुई प्रकारका पात्रो चलेका छन्, पहिलो सौरपात्रो, अर्को चान्द्रमान पात्रो। सूर्यको मानअनुसार अर्थात् सूर्य उदयलाई आधार मानेर सौर पात्रो चल्छ भने चन्द्रमालाई आधार मानेर चान्द्र पात्रो चल्छ। चान्द्र पात्रोअनुसार गुरुपूर्णिमाको भोलिपल्ट अर्थात् कृष्ण प्रतिपदामा साउन लागिसकेको छ। त्यसअनुसार असार २५ गते साउनको पहिलो सोमबार हो।

पुराणविद् डा. प्रियंवदा काफ्लेका अनुसार सनातन वैदिक धर्ममा चान्द्रमानको पात्रोलाई बढी महत्त्व दिइन्छ। ‘धार्मिक कार्यमा चान्द्रमहिना वा दिनलाई प्राथमिकता दिने परम्परा छ’, उनी भन्छिन्, ‘त्यसैले सोमबारको व्रत पनि चान्द्र पात्रोअनुसार नै उपयुक्त हो।’

नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने निर्णय सिन्धुलगायत ग्रन्थमा रहेको बताउँछन्।

यद्यपि सौरमानलाई मानेर पनि साउने सोमबारको व्रत बस्ने चलन छ। नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्ष तथा धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन्। 

यो वर्ष साउनमा अधिक (मल) मास परेको छ। गुरुपूर्णिमाको एक महिनामा आउने जनैपूर्णिमा यो वर्ष दुई महिनामा पर्नेछ। भट्टराईको तर्कलाई मान्दा कारण सोमबारको व्रत पनि लम्बिने देखिन्छ। शुद्ध श्रावण कृष्ण पक्षमा असार २५ र साउन १ गते तथा शुद्ध श्रावण शुक्ल पक्षमा भदौ ४ र ११ गते सोमबार परेको छ।

बिचमा अधिकमासमा साउन १, ८, १५, २२ र २९ गते सोमबार परेको छ। चान्द्रमानलाई आधार मानेर व्रत बस्नेले असार २५ गतेदेखि भदौ ११ गतेसम्म आठवटा सोमबारको बस्नुपर्ने भट्टराई बताउँछन्। ‘शुद्ध श्रावण कृष्ण पक्षको सोमबार आज शुरु हुन्छ। शुद्ध शुक्ल पक्षका सोमबार भदौ ४ र ११ मा परेका छन्’, उनी भन्छन्, ‘मलमासमा परेको भनेर साउनका पाँच सोमबारलाई छुटाउन मिल्दैन। त्यसअनुरूप आठ सोमबारको व्रत बस्नुपर्छ।’ 

सौरमानअनुसार मनाउनेले भने साउन १ देखि २९ सम्मका पाँचवटा सोमबारको व्रत बसे हुनेछ।

साउने सोमबारका दिन भगवान् शिव र उनकी अर्धांगिनी पार्वतीको विशेष पूजा गर्ने परम्परा छ। नेपाल र भारतमा रहेका शिवालयमा यो दिन श्रद्धालुको घुइँचो हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.