४ दिनमै ५ जनाको मृत्यु

|

काठमाडौं : सर्पको टोकाइबाट पछिल्ला ५ वर्षयता १०५ जनाले अकालमै ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विसं २०७५ देखि २०८० असार २७ गतेसम्मको सर्प टोकाइको तथ्यांकअनुसार १६४ घटना घट्दा १०५ जनाको मृत्यु भएको छ।

सर्पको टोकाइबाट ६६ जना घाइते भएका छन् भने प्रभावित परिवार संख्या १६५ रहेको छ। प्राधिकरणले यो तथ्यांक प्रहरीमार्फतमात्रै जानकारी आएको र अझै धामीझाँक्रीको भरपर्ने विश्वास भएकाले त्यहाँ जाँदा मृत्यु हुनेको संख्या झनै बढ्न सक्ने जनाएको छ।

पछिल्लो समय सर्प टोकाइको जोखिम बढेको छ। सर्पको टोकाइबाट ४ दिनमै ५ जनाको मृत्यु भएको छ। दाङमा सर्पले डसेर आइतबार तुलसीपुर उपमहानगरपालिका–११ कटाहा निवासी ४० वर्षीया ललिता डाँगीको मृत्यु भयो।

बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि बाँकेको  भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरे।

कपिलवस्तुमा असार २५ सोमबार गते सर्पले टोकाइबाट २ दिनमा ४ जनाको मृत्यु भयो। 

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का २ दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालको मृत्यु भयो।

दुवै जना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए। बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पुर्‍याइएको थियो। 

सोमबार बिहान पनि बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको सर्पको डसाइबाट मृत्यु भयो। सोमबार नै  महाराजगन्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको सर्पको डसाइबाट मृत्यु भयो।

पछिल्लो समय सर्पको टोकाइबाट अकालमै नागरिकहरूले ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। उक्त घट्नाले सर्वसाधारणमा त्रास बढेको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष झण्डै ५४ लाख मानिस सर्पको टोकाइबाट पीडित हुन्छन्। यसमध्ये ८१ हजारदेखि १ लाख ३८ हजार जनासम्मको मृत्यु सर्पदंशबाट हुने अध्ययनले देखाउँछ।

२७ लाख मानिसमा अंग काट्नुपर्ने वा अन्य शारीरिक समस्या देखा पर्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ। 

जेठदेखि भदौसम्म सर्प टाेकाइको जोखिम

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठदेखि भदौ महिनासम्म सर्पले टोक्ने जोखिम हुन्छ। यो जोखिम तराई क्षेत्रमा बढी छ। पछिल्लो समय काठमाडौं उपत्यकामा पनि सर्पदंशका बिरामीको संख्या बढेका छन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले दैनिक १२ जनासम्म सर्पदंशका बिरामी अस्पतालको इमर्जेन्सी उपचार गर्न पुग्ने गरेको जानकारी दिए। अहिले भइरहेको घटनाअनुसार बढी राति सुतेको अवस्थामा सर्पले डस्ने गरेको पाइन्छ।

कसरी सर्पको टोकाइबाट बच्ने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खा याम लागेसँगै सर्पदंशबाट बच्न सुझाव दिएको छ। मन्त्रालयको वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीका अनुसार सर्पको टोकाइबाट बच्न घर वरपरको घाँस, झारपात काटेर सफा राख्नुपर्छ। घर वरपरका दुलो भए टाल्नुपर्छ। 

राति हिँड्दा टर्चलाइटको प्रयोग गर्नुपर्छ। ‘राति हिँड्दा जुत्ता वा गमबुट लगाउनुपर्छ, गोडा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउने, पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने, सधैँ झुल टाँगेर सुत्नुपर्छ,’ उनले भने। 

उनले सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मल्हम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने सुझाए।

सम्भव भएसम्म जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा बिरामीलाई पुर्‍याउनुपर्ने उनले बताए।

मन्त्रालयले घरवरिपरि सर्प बस्ने सम्भावित ठाउँहरूमा जस्तै दाउरा, इँटा, परालका चाङ छन् भने बेला बेलामा सफा राखेमा सर्पको टोकाइबाट बच्न सकिने जनाएको छ।

मन्त्रालयले भनेको छ, ‘घरभित्र मुसा छिर्न नदिने, प्वालहरू छन् भने टाल्ने, केटाकेटीहरूलाई सावधान गराउने, सर्पलाई जथाभावी जिस्काउने र समात्न गर्नुहुँदैन।’ 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पले टोकिसके पछि सर्पले टोकेको व्यक्ति आत्तिन सक्छन्। त्यस्तो बेला सान्त्वना दिनुपर्छ।

सर्पले टोकेमा अस्पताल वा नजिकको सर्पदंश उपचार केन्द्र पुर्‍याइ उपचार गराउनुपर्छ। सवारीसाधनमा लैजाँदा घाइतेलाई बसाएर लैजानुपर्छ। घडी‚ चुरा औँठी, पाउजु‚ पेटी खोल्नुपर्छ।

सर्पको टोकाइबाट बच्न जनचेतना दिइरहेका छौँ : प्राधिकरण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले सर्पको टोकाइबाट बच्न जनचेतना प्राधिकरणले दिँदै आएको जानकारी दिए।

‘सर्पको टोकाइबाट बच्न हामीले भिडियो बनाएर बच्ने उपायहरूबारे जानकारी दिँदै आएका छौँ, भोजपुरी, मैथिली, थारू, डोटेली र नेपाली भाषामा जनचेतनामूलक भिडियो बनाएर सन्देश फैलाइरहेका छौँ,’ उनले भने।

उनले स्थानीय रेडियोबाट पनि त्यस्ता जनचेतना प्रवाह गर्दै आएको जानकारी दिए। ‘हामी सर्पको उद्धारकर्ता, लोकप्रिय कलाकारहरूलाई पात्र बनाएर भिडियो सन्देश बनाउँछौँ, यस्तो गर्दा धेरैले भिडियो हेरेर सर्पको टोकाइबाट बच्न सक्छन्,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.