|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले सम्बन्धन प्राप्त कलेज/क्याम्पसहरूलाई पटकपटक सम्बन्धन नवीकरण गर्न ताकेता गरे पनि नवीकरण नगरेपछि एक सय ७५ कलेज/क्याम्पसको नामावली सार्वजनिक गरेको छ।

त्रिविले बुधबार नवीकरण नगर्ने उक्त क्याम्पसहरूको नाम सार्वजनिक गरेको हो। सार्वजनिक गरेको सूचीअनुसार ५३ कलेज तथा क्याम्पस काठमाडौं उपत्यकामा सञ्चालित छन् भने अन्य क्याम्पसहरू उपत्यकाबाहिर जिल्लाका रहेका छन्।

उपत्यकाभित्र सञ्चालन भएका तर नवीकरण नगरेका आदर्श कन्य क्याम्पस,अनमोल राष्ट्रिय कलेज,आशीर्वाद कलेज,बागमती कलेज,बासु कलेज,भानुभक्त मेमोरियल कलेज,बौद्ध मल्टिपल क्याम्पस छन्।

यस्तै,ब्राइट भिजन इन्टरनेश्नल कलेज,क्यानोपी कलेज,क्यानभास इन्टरनेश्नल कलेज,क्यापिटल कलेज,छिन्नामस्त कलेज,गिताञ्जली कलेज,गोल्डेन स्राइन कलेज,ग्रामर कलेज,हिरालाल क्याम्पसले पनि नविकरण गरेको छैन।

जनमैत्री क्याम्पस,कान्तिपुर कलेज,काठमाडौं क्याम्पस,काठमाडौं उत्कृष्ट क्याम्पस,ललितपुर नर्सिङ क्याम्पस लगायत छन्। यी कलेजहरूलाई यसअघि नै त्रिविले सार्वजनिक सूचना जारी गरी नवीकरण गर्नु भनेकाे थियाे। तर, क्याम्पसहरू भने अटेर गरिरहे।

त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय, योजना निर्देशनालयको सूचनामा भनिएको छ,‘त्रिविबाट सम्बन्धन प्राप्त तर सम्बन्धन नवीकरण नगरेका क्याम्पस/कलेजहरूको सूची मिति २०८० असार २७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी हाल सञ्चालनमा रहेका क्याम्पस/कलेजहरूलाई गोरखापत्र मार्फत पटक पटक (मिति २०७९/९/२० तथा ०७९/१२/२८) सम्बन्धन नवीकरण गर्नका लागि सूचित गरी नवीकरण नगरे किन सम्बन्धन खारेज नगर्ने ? भन्ने सूचना सम्प्रेषण गर्दा पनि सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरूको सूची त्रिविको वेबसाइटमा प्रकाशित गरिएको छ।’

त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका उक्त क्याम्पसहरूलाई त्रिवि नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने त्रिविले जनाएको छ। तर,त्रिविले नविकरणको लागि समय भने दिएको छ। (पुनश्चः यदि कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ,’सूचनामा उल्लेख छ।

समयमा नवीकरण नगरे कलेज खारेज हुन्छ : निर्देशक प्राडा गौतम

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका निर्देशक प्राडा ध्रूवकुमार गौतमले तोकिएको समयमा नविकरण नगर्ने क्याम्पसहरू स्वात खारेज गर्ने जानकारी दिए।

उनले थाहाखबरसँग भने,‘नवीकरण नगर्ने कलेजहरूले खारेज गर्ने भए यहाँ जानकारी गराउन सक्छ, खारेज गर्न पनि चाहेनन् अनि नविकरण पनि गरेनन् भने अन्तिममा गर्ने भएको स्वात खारेज हो,हामी खारेज गछौँ,’उनले भने।

उनका अनुसार नवीकरण गर्नको लागि केही समय दिइएको छ। उक्त समयमा पनि नविकरण नगरे क्याम्पस खारेज गरिने छ। पछिल्लो समय त्रिविले सम्बन्धन प्राप्त कलेजहरूलाई कडाइ र कम विद्यार्थी भएका कलेज व्यवस्थापनमा लागेको छ।

त्रिविले सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पसहरू पूर्ण रूपले आपसमा समायोजन (मर्ज) गर्ने योजना पहिलो पटक कार्यान्वयन ल्याउँदै छ। त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले मर्ज हुन चाहने त्यस्ता क्याम्पसहरूले असार मसान्तभित्र निवेदन पेस गर्न सक्ने व्यवस्था गरेको छ।

गत जेठ ३० गते प्रकाशित सूचनाअनुसार आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई ०८० असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न सकिनेछ। समायोजन बापत कुनै शुल्क नलाग्ने त्रिविले जनाएको छ।

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका निर्देशक प्राडा गौतमका अनुसार पहिलो पटक सम्बन्धन प्राप्त क्याम्पसहरूलाई  त्रिविले मर्ज गराउने तयारी गरेको हो। 

नवीकरण नगरेका क्याम्पस/कलेजहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.