|

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले विगतका दुई आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको अन्त्यमा आइपुग्दा करिब दोब्बर बढी राजश्व संकलन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार आर्थिक वर्षको २०७६/०७७ मा छ हजार तीन सय सात सवारीलाई कारबाही गर्दा ३६ लाख ३९ हजार पाँच सय रुपैयाँ राजश्व उठेकोमा आर्थिक वर्ष २०७७/०७८ मा पाँच हजार पाँच सय तीन सवारीलाई कारबाही गर्दा ३५ लाख सात हजार रुपैयाँ सङ्लन भएको थियो। चालू आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त नआइपुग्दै नौ हजार नौ सय सवारीमाथि गरिएको कारबाहीबाट ६२ लाख ५४ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको हो।

चालू आर्थिक वर्षमा सबैभन्दा बढी राजश्व कार तथा जिपलाई गरिएको कारबाहीबाट उठेको छ। ट्राफिक नियम उल्लङ्घन गरेका, कागजपत्र ठीक अवस्थामा नरहेका लगायतका शीर्षकमा तीन हजार आठ सय ८३ वटा कार तथा जिपलाई कारबाही गर्दा २३ लाख ६१ हजार पाँच सय रुपैयाँ संकलन भएको छ। यस्तै दुई हजार ९९ वटा ट्रक तथा टिपरलाई कारबाही गर्दा १३ लाख ५१ हजार, नौ सय ४६ बसलाई कारबाही गर्दा पाँच लाख ५९ हजार पाँच सय, एक हजार ११ वटा ट्रयाक्टरलाई कारबाही गर्दा छ लाख ११ हजार र एक हजार नौ सय ६१ वटा मोटरसाइकललाई गरेको कारबाहीबाट १३ लाख ७१ हजार पाँच सय रुपैयाँ संकलन भएको छ।

सवारी साधन र त्यसका चालकबाट हुने गल्तीमा न्यूनीकरण गरी दुर्घटना र ट्राफिक नियम उल्लङ्घनका घटनामा कमी ल्याउन ट्राफिक प्रहरीले चेतनामूलक कार्यक्रमहरूलाई अभियानका साथ चलाएको भए पनि कारबाहीको संख्या पनि बढिरहेको ट्राफिक प्रहरी प्रमुख निउरे बताउँछन्। चालू आर्थिक वर्षमा करिब पाँच हजार भन्दा बढी व्यक्तिको माझमा पुगेर जनचेतनामूलक कार्यक्रमहरू गरिएको उनको भनाइ छ। बर्सेनि थपिँदै गएका सवारीको संख्या र ट्राफिक प्रहरीको जाँच गर्ने अभियान ग्रामीण सडकहरूमा समेत पुगेकाले चालू आर्थिक वर्षमा कारबाही र राजश्व दुवैमा उल्लेख्य वृद्धि भएको निउरेले बताए।

‘हामी बजारमा मात्रै केन्द्रित भएर बसेका छैनौँ। ग्रामीण सडकको यात्रालाई पनि सुरक्षित बनाउनको लागि ग्रामीण क्षेत्रमा पनि कारबाहीको संख्या बढेको छ। सकेसम्म कसैलाई पनि कारबाही गर्न नपरोस् भनेर ट्राफिक सचेतनामूलक कार्यक्रमहरू चलाउँदै आएको भए पनि कारबाही झनै बढेको छ’, उनले भने, ‘बिस्तारै सवारी प्रयोग कर्ताहरूको चाप बढ्दै गएकाले पनि कारबाहीको संख्या बढ्दै गएको हो। अर्को हामीले ट्राफिक नियममा अटेरी गर्ने, ठीक अवस्थामा कागजपत्र नभएका र मादक पदार्थ सेवन गरी सवारी चलाएकाहरूप्रति शून्य सहनशीलतामा काम गरिरहेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.