|

भोजपुर : विभिन्न समस्याका कारण नागरिकता नपाएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर सेवा दिन थालेको छ। पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पौवादुङमा गाउँपालिका–४ र ६ का अपा‌ग, अशक्त र फरक क्षमता भएका नागरिकलाई घर–घरमै गएर नागरिकता वितरण गरेका हुन्।  प्रमुख जिल्ला अधिकारी घिमिरेले वडा नं. ४ बास्तिमका तेजकुमार राईलाई ०९–०१–८०–०१३७४ नम्बर, सोही वडाका आसमाया राईलाई ०९–०१–८०–०१३७५ र वडा नं. ६ ठूलोदुम्माका अरुणराज राईलाई ०९–०१–८०–०१३७६ नम्बरको नागरिकता घरमै पुगेर वितरण गरे।

नागरिकता नहुँदा सरकारी सेवाबाट पनि बञ्चित हुनुपरेको जानकारी गाउँपालिकाबाट आएपछि आफूहरूले घरमै गएर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए। ‘नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट समेत अपांगता भएका, अशक्त र फरक क्षमता भएका नागरिक वञ्चित हुनुपरेको अवस्थामा हामीले घरमै पुगेर नागरिकता दिएका हौँ।’

प्रमुख जिल्ला अधिकारीसहित नागरिकता वितरणका क्रममा जिल्ला न्यायाधीश मणिराम न्यौपाने, प्रशासकीय अधिकृत राजु शर्मा, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरदकुमार थापा क्षेत्री, सशस्त्र प्रहरीका प्रमुख दिनेश श्रेष्ठ, पालिका अध्यक्ष किरण राई, स्थानीय वडाका जनप्रतिनिधि र स्थानीयको सहभागिता थियो ।

जिल्ला प्रशासन कार्यालय आएर नागरिकता बनाउन नसक्नेका लागि विगतका पनि घरमै गएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रशासकीय अधिकृत राजु शर्माले जानकारी दिए।

आफ्ना पालिकाभित्रका नागरिक नागरिकता लिनबाट वञ्चित हुन नदिनका लागि पालिकाले स्थानीय प्रशासनसँग समन्वय गरेको पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले बताए। ‘हामीले जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बनाउन नसक्ने तीन जना अशक्तलाई गाउँमै नागरिकता दिलायौँ। यो क्रम आगामी दिनमा पनि जारी रहन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.