‘शिक्षा शहर केन्द्रित हुँदा गाउँमा समस्या भयो’

|

काठमाडौं : नेपालको सार्वजनिक शिक्षामा सुधार गर्नुपर्छ र हुनुपर्छ भन्ने मध्येका एक हुन् कृष्णप्रसाद पौडेल। त्यसो त अहिले दैनिक बिहान घरमै बसेर नि:शुल्क ट्युसनको सेवा दिइरहेका छन्। उनी अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गका वडाध्यक्ष पनि हुन्।

उनै वडाध्यक्षको पहिलो प्राथमिकता शिक्षा सुधार पर्छ। त्यसैले उनको बिहानी समय विद्यार्थीहरूलाई शिक्षा दिनमै बित्छ। उनले बिहान साढे ६ बजेबाट ९ बजेसम्म घरमै माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको ग्रेडवृद्धि परीक्षा दिने तयारी गरेका विद्यार्थीहरूलाई अध्यापन गराउँछन्। त्यसपछि वडा कार्यालयमा गइ सेवाग्राहीहरूलाई सेवा दिन्छन्।

हाल उनीबाट १२ जना विद्यार्थीहरूले नि:शुल्क शिक्षा सेवा पाइरहेका छन्।  गणित विषयमा स्नातक गरेका उनले विद्यार्थीहरूलाई गणित र ऐच्छिक गणित पढाउँछन्।

उनले पढाइरहेको दृश्यले अहिले सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ।  उनको अहिले प्रशंसा भइरहेको छ। २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट जितेका पहिलो निर्वाचित वडाध्यक्ष हुन् उनी। जनप्रतिनिधि भएर आएपछि सधै जनताकै सेवामा समपिर्तत हुने उनको प्रतिबद्धता छ। उनले गत वर्ष पनि यसैगरी नि:शुल्क ट्युसन सेवा दिएका थिए।

‘म सानैदेखि समाजसेवा गर्नुपर्छ भन्ने धारणा लिएको थिए,त्यसैले त मलाई जनताहरूको मन जित्न पनि सफल भए,’उनी थाहाखबरसँग भन्छन्,‘अध्यक्षमा निर्वाचित भएपछि गाउँ ठाउँमै बस्दै समाजसेवा दिने सोच आफै स्वःस्फूर्त बस्यो,अघिल्लो वर्ष पनि यसैगरी ट्युसन पढाएको थिए।’ उनले पढाएको शिक्षाबाट राम्रो नतिजा ल्याउँछन् भन्ने अपेक्षा लिएका छन्। 

दक्ष जनशक्ति शहर केन्द्रित हुँदा गाउँमा समस्या

पछिल्लो समय गाउँबाट शहरी क्षेत्रमा बसाइसराइ सर्ने क्रम बढ्दो छ। गाउँघर सुन्ने हुने अवस्थामा पुगेको छ। यो हुनुको कारणमा दक्ष जनशक्ति सशर केन्द्रित भएको वडाध्यक्ष पौडेल बताउँछन्।

‘भौतिक पूर्वाधार,दक्ष जनशक्ति शहर केन्द्रित मात्रै भयो,ग्रामीण क्षेत्रमा भएन,शिक्षकहरू पनि सुविधासम्पन्न ठाउँमा मात्रै गएर पढाउन खोजे,त्यसैले गाउँमा पर्याप्त मात्रामा विद्यार्थी छैन,त्यसैले शिक्षामा धेरै समस्या र चुनौती थपिएको छ,’उनले समस्या सुनाए। उनका अनुसार बढी बसाइसराइकै कारण यो समस्या बढिरहेको छ। यो राष्ट्रिय समस्या नै भएको उनी बताउँछन्।  

‘यो समस्या समाधानका लागि पहल गर्दै आएका छौँ, शिक्षक,अभिभावकबीच अन्तरक्रिया गर्ने, शैक्षिक गुणस्तरलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल गर्ने, विद्यार्थीहरूलाई अतिरिक्त कक्षा सञ्चालन गर्नेलगायत काम गरिरहेका छौँ,’उनले भने। उनकाअनुसार वडाभित्र पाँच वटा सामुदायिक विद्यालय छन्।
सरकारी शिक्षा सुधारका लागि राज्यले पनि ध्यान दिन आवश्यक रहेको उनी बताउँछन्।

‘शिक्षा सुधार पनि सहर केन्द्रित भयो,यसको समाधानका लागि राज्यले एकै प्रकृतिको नीति बनाएर समान शुल्क, गुणस्तरीय शिक्षा बनाउने, समान हैसियतको शिक्षा बनाउनुपर्छ,’उनले भने,‘अझै पनि ग्रामीण क्षेत्रमा शिक्षक दरबन्दीको समस्या छ,त्यसैले शिक्षामा सोचेजस्तो सुधार आएको छैन,यी कुराहरूमा ध्यान दिनुपर्छ।’

नेपालमा पढेर पनि केही रोजगारीको सम्भावना नभएको भन्दै अहिले कक्षा ११,१२ सकिए लगत्तै उच्च शिक्षाको लागि विदेशिने क्रम जारी छ। तर,यहाँ पनि धेरै अवसर रहेको वडाअध्यक्ष पौडेल बताउँछन्।

‘विद्यार्थीहरूले शिक्षा,पैसा र विभिन्न बहानामा विदेश जाने क्रम बढ्दो छ,यही नेपालमा रोक्न र अवसर छ भनी केही सफल उदाहरणहरू पनि छन,त्यसैले उनीहरूलाई आत्मभाव बोध गराउनुपर्छ, सम्भावना छ,’उनले भने। 

सबै जनप्रतिनिधिहरू समाज सेवीमात्रै हुन्छन् भन्ने पनि छैन। कोही भोटरहरूको मन जित्ने र पछि वेवास्ता गर्ने गर्छन्। त्यस्ता जनप्रतिनिधिहरूलाई वडाअध्यक्ष पौडेल सुझाउँछन्,‘जनप्रतिनिधहरूको तह एउटै हुन्छ भन्ने हुँदैन,सबै दक्ष हुन्छ भन्ने पनि छैन, खासगरी जनप्रतिनिधिको तह भनेकाे नीति निर्माण गर्ने,कसरी सुधार विस्तार गर्न सकिन्छ भन्ने,समग्र क्षेत्रलाई नेतृत्व गर्ने हैसियत हो,त्यो हिसाबले काम गर्दै नीति निर्माण गरेर शिक्षा लगायत समग्र सबैमा सुधार गर्नुपर्छ भन्ने सोच हुनुपर्छ।’

के छन् अन्य योजना ?

उनले त्यस वडाका जनप्रतिनिधिहरूको सेवामा निरन्तर खट्ने पनि प्रतिबद्धता जनाए। ३० वर्षीय वडाध्यक्षका अनुसार जनप्रतिनिधि हुनुअघि र भइसकेपछि पानीको समस्या भएकाले एक घर एक धारा जडान गर्ने प्रतिबद्धता जनाएका छन्।

‘खासगरी यहाँ धेरै कुराको अभाव छ खानेपानी छैन, एक घर एक धारा जडान गर्ने प्रतिवद्धता जनाएका थियौँ,त्यही अनुसार साविक ३ वटा वडा करिब १२० घर धारामा सम्पन्न गरेका छौँ,यस वर्ष पनि केन्द्र,प्रदेश र स्थानीय तहबाट थप बजेट आएर २ वटा योजना सञ्चालन गर्ने तयारीमा छौँ,’उनले भने।

त्यसैगरी उनले भौतिक पुवार्धारमा पनि बाटाघाटाको स्तरोन्नती गर्ने, खोलाहरूमा पुल निर्माण गर्ने काम निरन्तर रूपमा गरिरहेको पनि जानकारी दिए। ‘आर्थिक क्षेत्रमा यो पाणिनिमा कृषिको राम्रो सम्भावना छ, यहाँ आलु पकेटको रूपमा अगाडि बढाएका छौँ, कार्यक्रम पनि छ, पर्यटन विकासको सम्भावना छ, हाम्रो ऐतिहासिक सिद्धेश्वर गुफा छ, सँगै जोडिएका महाभारत लेख,कालिका मन्दिर छन् पर्यटक भित्र्याएर भ्रमण गराउने छौँ,’उनले भने।

स्वास्थ्य क्षेत्रमा पोषणमैत्री वडा बनाउने संकल्प उनको छ। ‘गर्भवती महिलाहरूलाई नि:शुल्क आइरन चक्की वितरण गरेका छौँ, वडाबाट क्याल्सीयम चक्की निःशुल्क दिइरहेका छौँ,यो क्रम पाँच वर्षसम्मै रहन्छ, पोषणमैत्री वडा बनाउने संकल्पकासाथ अगाडि बढाएका छौँ,’उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.