|

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षभित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन हुने बताएका छन्।

मंगलवार उच्च अधिकारीसहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्। उनले सुरुङमार्गको ३५ मिटर मात्रै खोल्न बाँकी रहेको भन्दै करिब एक वर्षभित्र यातायात सञ्चालन गर्ने गरी निर्माण अघि बढाइएको बताए। मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति सन्तोषजनक रहेको भन्दै समयमै निर्माण सम्पन्न हुने विश्वास रहेको बताए।

उनले देशकै संघीय राजधानी काठमाडौं जोड्न महत्वपूर्ण आयोजना भएको भन्दै सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी दिए। उनले नेपालमा पहिलो नमूना प्रयोगको रूपमा यातायात सुरुङ मार्गको रूपमा आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए।

उनले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा सम्पन्न भएसँगै काठमाडौं आवतजावतका लागि सहजता हुने बताए। उनले यो आयोजनाले नेपालको समृद्धिमा विकास आर्थिक रूपमा ठूलो मद्दत पुर्‍याउने बताए। उनले नेपाल जस्तो पहाडी देशका निम्ति जाइकाको साढे १६ अर्ब सहयोग र नेपाल सरकारको ७ अर्ब जति लगानी भएको जानकारी दिए।

उनले अहिले देख्दा खर्च बढी भएको देखिए पनि निकट भविष्यमा आयोजनाबाट धेरै ठूलो लाभ प्राप्त गर्न सकिने बताए। उनले टनेलको निर्माण कार्य सम्पन्न गरी सुरुङ मार्गमा यातायात सञ्चालन गर्ने विषय धेरै महत्त्वपूर्ण रहेको भन्दै सरकारले निर्धारित समयमै निर्माण सम्पन्न गर्ने बताए।

उनले स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण भएका अवरोध हटाउन सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले निर्माण कार्य र ढिला गर्ने र गुणस्तर कम हुने कामलाई सरकारले कुनै छुट नदिने उल्लेख गरे।

उनले भने, ‘नागढुङ्गा सुरुङ मार्गको ३५ मिटर मात्रै खोल्न बाँकी छ। चार महिनाभित्र खुल्छ। अब करिब एक वर्षभित्र यातायात सञ्चालन गर्ने गरी लागिरहेका छौं। यो आयोजनाले नेपालको समृद्धिमा विकास आर्थिक रुपमा ठूलो मद्दत पुर्‍याउँछ। जाइकाको साढे १६ अर्ब सहयोग र नेपाल सरकारको ७ अर्ब जति लगानी भएको छ।’

मन्त्री ज्वालाले निरीक्षणका क्रममा थपिएको समय सीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिँदै निर्माण प्रक्रियामा कुनै व्यावहारिक जटिलता उत्पन्न भए सहजीकरण गर्न सरकार तयार रहेको बताए।

२.६८ किलोमिटर लम्बाइ रहेको सुरुङ मार्गको नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन्। सुरुङमार्गको निर्माण अवधि सरकारले १४ महिना थप गरेको छ।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.