|

कास्की : २०६९ को मनसुनी समय। पर्यटन पत्रकार मञ्च पोखराको आयोजनामा कास्कीको मादी गाउँपालिकाको ताङ्तिङ (साविकको नामार्जुङ गाविस) जाने योजना बन्यो। गुरुङ मौलिकताले ओतप्रोत भएको अर्ग्यानिक गाउँ थियो ताङ्तिङ। हिमालयन मिलन माविका प्रधानाध्यापक प्रकाश गुरुङ स्थानीय व्यवस्थापक हुनुहुन्थ्यो।

सिन्दुजुरेको  सबि  भन्ने  ठाउँबाट  करिब  ६  घण्टाको  हिँडाइमा  ताङ्तिङ  पुग्न  सकिन्थ्यो।  करिब  २० जनाको टोली थियो। आयोजक संस्थाको अध्यक्ष भएको नाताले उक्त टोलीको नेतृत्व मैले गरेको थिएँ। ताङ्तिङ गाउँमा पुग्नै लाग्दा डाँडामा एउटा पाटी थियो। घाँस उम्रेको सानो चौतारो पनि सँगै थियो। लामो उकालो पछि विसौनीको लागि त्यो बनाइएको थियो।

हाम्रो टोली त्यही चौतारोमा सुस्तायो। कोही त्यहीँ पल्टे, कोही हात टेकेर थकाइ मारे कोही पाटीभित्र भएर बिसाइ मारे। कोही भने चौतारीमा बेफिक्री बसिरहे।

करिब पाँच मिनेटको बसाइपछि पत्रकार अमृत सुवेदीले भने, ‘दाइ पोखरामा एउटा नाटक गरौँ।’ उनको कुरा खस्न नपाउँदै अर्का पत्रकार तथा कलाकार रेम विकले भने, ‘गज्जब हुन्थ्यो नि।’

मैले भने, ‘गर्न त मज्जै हुन्थ्यो, समय र खर्चको व्यवस्थापन कसरी हुन्छ? हामी काम नगरी बाँच्न नसक्नेहरूलाई नाटक गर्न गाह्रो छ हौ।’

बिसाइ मारेको समय सकियो। टोली ताङ्तिङ हिँड्यो। गाउँमा रातभरी रमाइलो गरेर भोलिपल्ट अर्को गाउँ याङ्जाकोट हुँदै पोखरा फर्कियो।

साल फेरियो, २०७०  को  वैशाखमा   म  पर्वत स्थित  गाउँमा  थिएँ।  गोधुली  साँझको  बखत  गाउँले यारहरूसँग गफिँदै थिएँ। यत्तिकैमा फोन आयो। सौगात पोखरेलले गरेको रहेछ। फोन उठाउनेबित्तिकै सञ्चो विसञ्चो पनि नसोधीकन उसले ‘तत्काल पोखरा आउनुस् नाटक गर्ने भइयो’, भन्यो।

म  पोखरा  फर्किएँ। साहित्यकार  कृष्ण  उदासीको  लेखन  र  निर्देशनमा  ‘अन्तर्राष्ट्रिय  रक्सी भट्टी’  भन्ने नाटकको  रिहर्लसलको  तयारी  भएको  रहेछ।  नयाँबजार  स्थित  महेन्द्र  माविको  एउटा  कक्षाकोठामा नाटकको  अभ्यास  सुरु  भयो।  केही  हप्ता  अभ्यास  गरेपछि  टोलीले  गैह्रापाटनस्थित  नवीन  माविको कक्षामा अभ्यास गर्न थाल्यो।

प्राविधिक र कलाकार व्यवस्थापनको कष्टसाध्य अध्याय पुरा गरेपछि असारमा नाटक प्रदर्शनको लागि तयार  भयो। पोखरा  उद्योग  वाणिज्य  संघको  हलमा  मञ्च  सेट  गरियो।  पहिलो  दिन  सो  नाटक हाउसफुल भयो। दोस्रो दिन शनिबार थियो। सो दिन पनि  खचाखच दर्शकको उपस्थितिमा नाटक सानदार रूपमा मञ्चन भयो।

नाटकलाई एक हप्ता प्रदर्शन गर्ने माग आयो। तर, हलको अभावमा दुई दिन मात्रै नाटक प्रदर्शन सम्भव भयो। उक्त नाटक प्रदर्शन गर्न युथ क्रियशन थिएटर नामक संस्था खडा भएको थियो। पछि त्यसलाई आधिकारिक रूपमा दर्ता पनि गरिएको थियो।

‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’को मञ्चनपछि पोखरामा युवा कलाकार तथा सर्जकहरू उत्साहित भए। केही युवा मिलेर छुट्टै नाम राखेर नाटक समूह स्थापना गरे। नाटक प्रदर्शन गरे। मञ्चका साथै उनीहरूले

रेडियो नाटक पनि गरे।

असारकै अन्त्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय नाटक महोत्सवमा सो नाटक छनोट भएर मञ्चन भयो। प्रज्ञा प्रतिष्ठानको ठूलो हलमा नाटक प्रदर्शन गरियो।

पोखरा फर्किने बेलामा धादिङको जाममा गम खाँदै मैले भनें, ‘अब आफ्नै थिएटर निर्माण नगरी नाटक नगर्ने।’ कलाकार कपिल शर्माले भने, ‘हो, व्यावसायिकताका लागि आफ्नो थिएटर चाहिँदो रहेछ।’ पोखरा  फर्केपछि युथ क्रियशन  थिएटरको  नेतृत्वमा  हल  निर्माणको  लागि  ‘मुठ्ठीदान’  चन्दा  संकलन अभियान सुरु गरियो। जसले जे दिन्छन्, त्यही लिने नीति लिइयो। कसैले बालुवा दिए, कसैले सिमेण्ट दिए, कसैले रड दिए,कसैले नगद दिए।

पोखराको नागढुंगामा थिएटर निर्माणको काम सुरु भयो। तर, उचित व्यवस्थापन र आर्थिक अभावमा थिएटर निर्माण रोकियो र जग्गादाता संस्था नेष्टले अपूरो भवनमा आफ्नो कार्यालय बनायो।

थिएटर  निर्माणसँगै  नाटकको  तयारी  पनि  भइरहेको  थियो। युथ  क्रियसनले साहित्यकार रामलाल जोशीको  कथा  संग्रह  ‘ऐना’ भित्रको  ‘भर्जिन  कथा’ लाई  मञ्चन  गर्ने  तयारी  गर्यो।  यसका  लागि लेखकसँग  अनुमति  लिएर  फिल्डमा  अध्ययनका  लागि  पनि  गइयो।  फर्केपछि  भरत  छन्त्यालले  सो कथालाई पटकथामा ढाले र नाटकको तयारी सुरु भयो।

यतिबेलासम्म पोखरामा मोतीबहादुर कार्की ‘परिवर्तन’ को नेतृत्वमा थिएटर निर्माण भइसकेको थियो। ‘पोखरा  थिएटर’ ले  गन्धर्व  नाटकघर  निर्माण  गरेको  थियो। काठमाडौंबाहिर पहिलोपटक नाटक महोत्सव पोखरामा हुँदै थियो।

 यसका लागि युथ क्रियसनको ‘भर्जिन कथा’ छनोट भएको थियो। २०७५ सालको असोज महिना। दशैँ अघिको सोह्र श्राद्धको मध्य बेला थियो। भर्जिन कथाका कलाकार केदारनाथ पौडेलले उनको घर पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी लिएर गए। घरमा श्राद्ध सकिएर खाना खाने बेला भएको रहेछ। हामीले खाना खाएर माथि डाँडामा गएर असोज मासको पोखराको दृश्‍य नियाल्यौँ। बसेर गफिँदै गर्दा केदारले एउटा डायरी निकालेर ‘घेरो’ भन्ने शीर्षकको कथा सुनाए। कथा मिठो थियो। पश्चिम नेपालको आञ्चलिकताले भरिपूर्ण भएको यो कथामा सुरुमा लघु चलचित्र बनाउने योजना बन्यो। सो योजनामुताविक हामी कलाकार र प्राविधिकको टोली लिएर पर्वतको फलेवास गएर दुई दिनसम्म छायांकन गयौँ। पछि प्राविधिक कारणले सो लघु चलचित्र पूरा हुन सकेन।

कथा अदभूत  थियो।  यो  कथालाई  यत्तिकै  थन्क्याइयो  भने,  सिर्जनाको  अवमूल्यन  हुन्छ भन्ने  ठानेर यसलाई नाटक बनाऔँ भन्ने योजना बन्यो। युथ क्रियसन थिएटरकै आयोजनामा यो कथालाई नाटक बनाएर देखाउने भन्ने निर्णय भयो।

 यसका लागि मौलिक शैलीको खोजी गर्दै जाँदा यसै क्षेत्रमा प्रचलित बालन शैलीलाई अपनाउने निर्णय भयो।

पोखराले व्यावसायिकताको लागि अझै पनि  काठमाडौंकै संलग्नता खोज्छ। जे  कुरा निर्माण  गरे पनि काठमाडौंको  को  छ  भनेर  पहिल्यै  खोज्छ।  यसलाई  अझै  बढी  व्यावसायिक  बनाउनका  लागि  मेरो सहपाठी सरोज अर्यालालाई काठमाडौंबाट पोखरा झिकाइयो  र पहिलोपटक कलाकार कपिल शर्माले यसको निर्देशन गरे।

पोखरा  थिएटरको  गन्धर्व  नाटकघरमा  करिब एक  हप्ता  यो  नाटक  व्यावसायिक  मञ्चन  भयो।  नयाँ शैलीलाई आत्मसाथ गरेको भन्दै यो नाटकको प्रशंसा पनि भयो। यसबेलासम्म पोखरामा नाटक घिस्रिँदै थियो। घेरोको मञ्चन पछि व्यावसायिक रूपमा थिरीथिरी गर्न थालेको हो।

पोखरामा व्यावसायिक मञ्चन पछि घेरो नाटकले धेरै मेला महोत्सवहरूमा सहभागिता जनायो। २०७५ मा  पोखरा  अन्तर्राष्ट्रिय  नाटक  महोत्सव,  सुर्खेतमा  रारा  राष्ट्रिय  नाटक       महोत्सव,  जर्मनीमा  १३  औं अन्तर्राष्ट्रिय  लोकनाटक  महोत्सव,  २०७६  मा  काठमाडौंमा  राष्ट्रिय  लोकनाट्य  उत्सव,  २०७८  मा कोरियामा  एसियन  प्लेराइट  फेस्टिबलमा  सहभागिता  जनायो।  यो  नाटकलाई  कोरियन कलाकाहरूले​ समेत मञ्चन गरे। घेरोले इजिप्टमा आयोजित नाटक महोत्सवमा समेत सहभागिता जनायो।

इजिप्टमा भने घेरेको मञ्चन इन्द्रेणी थिएटरको ब्यानरमा भएको थियो। घेरेको व्यावसायिक मञ्चन पछि यसका लेखक केदारनाथ पौडेलले आफ्नै नेतृत्वमा इन्द्रेणी थिएटरको स्थापना गरे। अनि घेरोले यसैको ब्यानर पाएको थियो।

घेरो पछि इन्द्रेणीको ब्यानरमा धनिरामको गोरु, भ्रुण र आतुरकाल नाटकको सफल मञ्चन भएको छ। यसबीचमा पोखराको नाट्य क्षेत्रमा धेरै हलचल आयो। अन्तर्राष्ट्रिय रक्सीभट्टीको प्रदर्शन पछि पोखरामा पञ्चामृत, ओथेलो पोखरा नाट्य समूह लगायतका समूहहरू स्थापना भए। पोखराका महोत्सवहरूमा उनीहरूले सहभागिता पनि जनाए। तर तिनिहरूले निरन्तरता पाउन सकेनन्।

अहिले पोखरामा एउटा व्यावसायिक थिएटर छ। तर त्यो पुर्ण व्यावसायिक रुपमा चल्न सकेको छैन। अझै पनि काठमाडौंकै भरमा पोखराको नाटक छ भन्न सकिन्छ। यसबाट पर रहेर इन्द्रेणी थिएटर भने काठमाडौं बाहिर अन्तर्राष्ट्रियकरण भइसकेको छ।

यसका संस्थापकहरू विभिन्न देशमा भएका नाटक महोत्सवहरूमा सहभागिता जनाउने, कार्यशालाहरूमा भाग लिने लगायतका गतिविधिहरू गरिरहेका छन्।

समग्रमा पोखरामा नाटक प्रति धारणा त सकारात्मक छ। तर व्यावसायिक हुन धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ। अन्त्यमा भन्नुपर्दा पोखराको नाटकको पुनर्जागरणको बिउ भने ताङ्तिङको चौतारोमा बसेको हो भन्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.