हतारहतारमा ३० हजार भाइल खोप किनियो

|

काठमाडौं :समयमा नै एन्टी रेबिज भ्याक्सिन (एआरभी) खरिद नगर्दा खोपको कमी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एआरभी खोपको स्टक कम हुँदै गए पनि समयमै खरिद प्रकृया अगाडि नबढाएपछि खोपको कमी भएको हो।

केन्द्रीय भण्डार कक्षमा नै खोप थोरै रहेकाले देशैभरबाट एआरभी खोप सकियो भन्दै माग भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सिफारिशमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाले हतारहतार ३० हजार भाइल एआरभी खरिद गरेर तत्कालका लागि समस्या टारेको छ।

आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरासियाका अनुसार एआरभी खोप देशभर सकिनै लाग्यो भन्ने खबर आएपछि द्रुतमार्गबाट ३० हजार भाइल एआरभी खोप खरिद गरेर ल्याइएको बताए।

‘देशैभर एआरभी खोप सकिन लागेपछि मात्रै हामीलाई खोप सकिन लाग्यो भनेर खबर आयो तर पनि हामीले द्रुतमार्गबाट ३० हजार भाइल खोप ल्याएका छौं, यो खोपले डेढ महिना पुग्छ त्यसपछि अब फेरि बाँकी खोप खरिद प्रकृया अगाडि बढ्ला’‚ डा चौरासियाले भने।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतका अनुसार केही समय एआरभी खोपको सर्टेज नै भएर अप्ठ्यारो भए पनि ३० हजार भाइल खोप आएपछि हाललाई खोपको अभाव टरेको बताएको छ। 

महाशाखा स्रोतले भन्यो‚ ‘खरिद प्रक्रियामा परेको विवाद तथा अन्य कारणले गर्दा खोप खरिदको लागि ढिला हुँदा केही समय खोपको अभाव भएर अप्ठ्यारो भएको हो, हाल द्रुत मार्गबाट खरिद गरिएको ३० हजार भाइल खोप आइसकेको छ, फेरि एक लाख मात्रा जति खोप खरिदको लागि प्रकृया अगाडि बढेको छ।‘

देशभर हरेक वर्ष करिब ३ लाख हाराहारीमा कुकुरलगायत जनावरको टोकाइबाट प्रभावित हुने अनुमान महाशाखाको छ। नेपालमा रेबिजका कारण वार्षिक १०० जनासम्मको मृत्यु हुने गरेको छ।

यो भ्याक्सिन एउटा भारतीय कम्पनीले मात्र उत्पादन गर्दै आएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा रेबिजका कारणले करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ। १ करोड मानिसलाई रेबिजको उपचार आवश्यक पर्ने गरेको छ।

एशिया क्षेत्रमा मात्रै रेबिजका कारण ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। कतिपय देशले भने कुकुरलाई अनिवार्य खोप र मानिसका लागि रेबिज खोपको राम्रो व्यवस्थापन गरेका छन्।

यदि कुकुर तथा अन्य जनावरले टोक्यो र त्यसमा रेबिज भाइरस रहेछ भने १० दिनमा त्यो जनावर मर्ने र उक्त जनावरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने हुन्छ।

यदि कुनै पनि कुकुर तथा अन्य जनावरले टोक्यो र त्यसमा रेबिज भाइरस रहेछ भने १० दिनमा त्यो जनावर मर्ने र त्यही समयसम्म अनिवार्य ३ वटा भ्याक्सिन लगाउन सकियो भने रेबिज सन्चो हुन्छ।

यदि खोप लगाइएन र रेबिज संक्रमण देखियो भने मानिसको मृत्यु हुन्छ‚ जसकारण रेबिजलाई प्राणघातक रोग भन्ने गरिन्छ। रेबिजविरुद्धको भ्याक्सिन सरकारले निःशुल्क वितरण गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.