|

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुराँसहित चार सयभन्दा बढी विरुवा रोपिएको छ। गाउँपालिका स्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल संखाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुराँस, धुपी लगायतका ४५० विरुवा रोपिएको हो।

प्रत्येक महिनाको एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। यो निर्णयसँगै अव वडाहरूले पनि महिनामा एक दिन श्रमदान गर्ने उनको भनाइ छ।

श्रमदान अभियान सञ्चालन गरेर यहाँको पर्यटकीय क्षेत्रमा चार सयभन्दा बढी विरुवा रोपेका छौँ, अध्यक्ष राईले भने, ‘आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने निर्णय गरेका छौँ। अब महिनामा एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गछौँ।’

अभियानको यहाँ निर्माण भइरहेको पदमार्गलाई लक्षित गरेर शुरुआत गरिएको अध्यक्ष राईको भनाइ छ। पैदल मार्गमा पर्यटक आकर्षित गर्ने खालका विरुवा रोपिएको गरिएको अध्यक्ष राईले जानकारी दिए।

घोडेटार, जोर आहाल संखाम, दिमालुङ पैदल मार्ग हाम्रो गौरवको योजनाको रूपमा रहेको छ, अध्यक्ष राईले भने, ‘यसलाई यहाँको मुख्य पर्यटकीय पदमार्गको रूपमा स्थापित गर्ने लक्ष्य छ। पर्यटकलाई लक्षित गरेर विभिन्न जातका अर्नामेन्ट प्लान्ट रोपेका छौँ।’

पदमार्गलाई वडा नं ३ मा करिब १४ रोपनी क्षेत्रमा निर्माण भइरहेको दिमालुङ स्मारक पार्क र त्यही नजिकै  वडा न. २ मा रहेको करिब ६० रोपनी क्षेत्रमा निर्माण भएको दिमालुङ पार्कसम्म विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ। दिमालुङ स्मारक पार्क र दिमालुङ पार्कलाई गाउँपालिकाको योजना र प्रदेश सरकार तथा गाउँपालिकाको दुई करोड १३ लाख लागतमा संरक्षण तथा विकास गरिएको अध्यक्ष राईको भनाइ छ।

यो रकममध्ये रु. ७५ लाख लागतले दिमालुङ पार्कमा सिमेन्ट वाल र तारजालीसहितको घेराबारा, शौचालय, गेट निर्माण लगायत संरचना निर्माण गरिएको अध्यक्ष राईले जानकारी दिए। बाँकी रहेको रकमबाट दिमालुङ स्मारक पार्क निर्माण गरिएको उनको भनाइ छ। यो स्मारक पार्कलाई अझ विस्तार गर्न केन्द्र र प्रदेश सरकार तथा सम्वन्धित निकायसँग बजेट माग गर्ने अध्यक्ष राईले जानकारी दिए।

यहाँ निकै ठूलो क्षेत्रमा दिमालुङ स्मारक पार्क र दिमालुङ पार्क निर्माण भइरहेको छ, अध्यक्ष राईले भने, ‘उपलब्ध बजेटमध्ये दिमालुङ पार्कको संरक्षण तथा विकास गरेका छौँ। खास गरेर यहाँ पर्यटकलाई लक्षित गरेर बगैँचासँगै पिकनिक स्पोर्ट निर्माण गर्ने लक्ष्य छ। निर्माणाधीन दिमालुङ स्मारक पार्कलाई अझ विकास तथा विस्तार गर्न सम्बन्धित निकायसँग बजेट माग गर्ने योजना छ।’

मानिसहरूले विरोधको भावानाले अनावश्यक रूपमा दिमालुङ पार्क र दिमालुङ स्मारक पार्कको वास्तविकता र ऐतिहासिक तथा पर्यटकीय महत्त्व नबुझी सामाजिक सञ्जालमा गरेको टीका टिप्पणीप्रति दुःख लागेको अध्यक्ष राईको भनाइ छ।

हामीले यहाँको पर्यटनको बृहत्तर विकासमा जोड दिएका छौँ, अध्यक्ष राईले भने, ‘किरातहरूको इतिहास बोकेका ठाउँको संरक्षण गर्दै पर्यटकीय स्थल निर्माण गरेका छौँ तर मानिसले हल्का टिप्पणी गरेको देख्दा दुःख लागेको छ। यथार्थ बुझेर हामीलाई खबरदारी गरिदिए भावी योजना निर्माणमा सहयोग पुग्थ्यो। हामीले संस्कृतिको संरक्षणसँगै पर्यटनलाई जोड्न पार्क निर्माण गरेका हौँ।’

श्रमदान अभियानमा गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष सुनिता किराती, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णकुमार लिम्बु, सम्पूर्ण वडाका वडाध्यक्षहरू, टोल विकास संस्था, गाउँपालिकाका कर्मचारी, स्थानीय बासिन्दा लगायतले श्रमदान गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.