|

काठमाडौं :  युरोपेली क्लब फुटबल सिजन २०२२–२३ लगभग सकिएको छ। आगामी सिजन  २०२३–२४ को लागि क्लबहरुले तयारीसमेत अघि बढाएका छन्।

अधिकांश टोलीले आगामी सिजनमा परिवर्तन र सुधार खोजिरहेका छन्। वर्तमान परिप्रेक्षमा एसियाली राष्ट्र साउदी अरेबियाले आक्रमक रुपमा युरोपेली स्टार खेलाडीलाई मध्यपुर्वमा भित्र्याइरहेको छ।

अर्जेन्टिनी स्टार लियोनेल मेस्सी भित्र्याउन असफल भए पनि  स्टार खेलाडी अनुबन्धनको क्रममा साउदी प्रो लिग (एसपीएल) शिर्ष स्थानमा छ।

अल–नासरमा क्रिस्टियानो रोनाल्डोको स्थानान्तरणपछि अन्य युरोपेली खेलाडीहरुलाई समेत मध्यपुर्व एसिया प्रवेशको ढोका खुल्ला भएको हो।

क्लबहरुले प्रस्ताव गरेको तलब र सुविधाहरुलाई इन्कार गर्न खेलाडीहरुलाई असहज भइरहेको छ। खर्च गर्न पाउने रकम र आर्थिक नियममा प्रतिबन्ध नभएको कारण साउदी प्रो क्लबले खेलाडीहरूलाई उनीहरूको अघिल्लो क्लबहरूमा पाउनेभन्दा ज्यादा तलब र भत्ता प्रस्ताव गरिरहेका छन्। यी क्लबहरूले किन यति धेरै खर्च गरिरहेका छन्? तिनीहरूको दृष्टिकोण के हुन सक्छ?

क्रिस्टियानो रोनाल्डोको अनुबन्ध साउदी प्रो लिगमा अहिलेसम्मको सबैभन्दा ठूलो क्षण हो। विशेष गरी युरोपका धेरै टोलीहरूले पोर्चुगिज अन्तर्राष्ट्रियलाई क्लबमा  सामेल गर्ने प्रयास गरिरहेका थिए।

यद्यपि, रोनाल्डोले मध्य पूर्व जाने निर्णय गरे र अहिले साउदी अरबमा आफ्नो फुटबलको आनन्द लिइरहेका छन्। भर्खरै, न्यूक्यासल युनाइटेडको स्वामित्व लिएको पब्लिक इन्भेष्टमेन्ट फण्ड (पिएफए) ले साउदी प्रो लिगमा ठूलो लगानी ग‍र्‍यो।

अहिले अल–इत्तिहाद, अल–अहली, अल–नासर र अल–हिलालमा ७५ प्रतिशत उसको नियन्त्रण छ।

फुटबलमा साउदी अरेबियाको लक्ष्य

रिपोर्टहरूका अनुसार, साउदी अरेबियाले फुटबल लिगबाट राजस्व बढाउने र यसलाई विश्वको शीर्ष १० लिगहरूमा लैजाने लक्ष्य राखेको छ। साउदी क्लबहरू खर्चमा कुनै नियममा बाँधिएका छैनन्। यसको मतलब उनीहरूले उच्च तलब प्रस्ताव गर्न सक्छन् जसले खेलाडीहरूलाई मध्यपूर्वमा आकर्षित गर्न सक्छ।

साउदी युवराज मोहम्मद बिन सलेमले एक निजीकरण योजना सुरु गरेको छ जुन मुख्यतया फुटबल क्लबहरूमा केन्द्रित छ। उनीहरुले लिगबाट उत्पन्न राजस्व बढाउने योजना बनाएका छन्। सन् २०३० सम्म, राजस्व १२० मिलियन बाट ४८० मिलियनमा पुर्‍याउने साउदी अरबको लक्ष्य रहेको छ। उनीहरुले बजार मूल्य २.१ बिलियनभन्दा बढी हुने अपेक्षा गरेको छ।

साउदी अरेबियाले पनि फिफा विश्वकप २०३० को आयोजना गर्ने दाबी गरेको छ। कतारले सन् २०२२ को संस्करणको आयोजना गरेपछि साउदीले पनि इतिहासको किताबमा विश्वकप आयोजनाको नाम लेखाउन चाहन्छ।

लिगले शीर्ष खेलाडीहरूलाई आकर्षित गर्दै मध्य पूर्वराष्ट्र फुटबलमा द्रुत गतिमा बढिरहेको देखिन्छ। साउदी युवराज मोहम्मद बिन सलमानले खेलकुदलाई देशको अन्तरराष्ट्रिय राजनीतिक र आर्थिक स्थिति परिवर्तन गर्न आफ्नो समग्र रणनीतिको महत्वपूर्ण भागको रूपमा हेरेका छन्।

सन् २०३० को फिफा विश्वकप आयोजना गर्ने मौका कुन राष्ट्रले पाउँछ त्यो हेर्न चाखलाग्दो हुनेछ। साउदी अरेबिया र साउदी प्रो लिग यतिबेला चर्चामा छन्। उनीहरूले आफ्नो देशमा फुटबलको विकास गर्न र विश्वका उत्कृष्ट लिगहरूमध्ये एक बन्न खोजेका छन्।

बेन्जेमा देखि महरेजसम्म

फ्रान्सेली स्टार करिम बेन्जेमाले आफ्नो पूर्वसहकर्मीलाई पछ्याएर भर्खरै साउदी लिगमा सामेल भए। फ्रान्सेलीलाई साउदी प्रो लिगले प्रस्ताव गरेको रकम स्वीकार गर्न समय लागेन्।

बेन्जामसँगै एन्गोलो कान्टे अर्को ठूलो नाम हो जो साउदी अरब जाँदै छन्। म्यानचेस्टर सिटीमा ट्रेबल जितेका अल्जेरियन रियाद महरेज सहित अन्य धेरै प्रभावशाली खेलाडीहरुको रोजाइ नैमध्य पूर्व भएको छ।

करिम बेन्जेमा : रियल म्याड्रिडदेखि अलइत्तिहाद

स्पेनिस क्लबको दोश्रो सर्वाधिक गोलकर्ता एवम असिस्टमा शीर्ष स्थानमा रहेका ३५ वर्षीय बेन्जेमा फ्रि ट्रान्सफरमार्फत रियल म्याड्रिड छोडे। ५ पटकको युइएफए च्याम्पियन्स लिग विजेता र वर्तमान बालोन डि ओर होल्डरले सन् २०२५ सम्म रहने गरी अल इत्तिहादमा सम्झौता गरे।

१४ वर्ष स्पेनिस क्लबसँग बिताएका फ्रान्सेली स्टारले २५ वटा ट्रफी दिलाएपछि यात्रा मध्यपुर्व मोडिएको हो। वर्तमान साउदी प्रो लिग च्याम्पियनसँग प्रतिहप्ता ३.३ मिलियन डलर पाउनेछन्।

एङ्गोलो कान्टे : चेल्सीदेखि अलइत्तिहाद

फ्रान्सेली स्टार कान्टे जेद्दामा आफ्नै देशका बेन्जेमासंग देखिनेछन्। उनले तीन वर्षको लागि चेल्सीबाट फ्रि टान्सफर मार्फत अल इत्तिहादमा सामेल भएका हुन्।

कान्टेले प्रति वर्ष १०८.९ मिलियन कमाउनेछन्। चेल्सीसँगको सात सिजनको कार्यकालमा ३२ वर्षिय डिफेन्सिभ मिडफिल्डरले प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै उपाधि जितेका थिए।

एडवर्ड मेन्डी : चेल्सीदेखि अलअहली

सेनेगाली गोलकिपर स्ट्यामफोर्ड ब्रिजमा तीन सिजन पछि तीन वर्षको सम्झौतामा जेद्दा जानेछन्। बेलायती मिडियाका अनुसार साउदी क्लबले ३१ वर्षका युवाका लागि २०.२४ मिलियन डलर तिर्नेछ।

स्ट्यामफोर्ड ब्रिजमा ३ बर्ष रहँदा मेन्डीले च्याम्पियन्स लिग, सुपर कप, फिफा क्लब विश्वकप जितेका छन्।

रोबर्टो फर्मिनो : लिभरपुलदेखि अलअहली

३१ वर्षीय ब्राजिलियन फरवार्ड लिभरपुलसँग आठ उत्कृष्ट सिजनहरू पछि फ्रि ट्रान्सफरमा अल अहलीमा सामेल भएका छन्। स्टेनले पार्कसंग रहँदा उनले २०१९ मा च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप तथा २०२० मा प्रिमियर लिग जितेका थिए।

उनी ८२ गोल गर्दै प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडीसमेत हुन्। उनीसँग चिरप्रतिद्धन्द्धी चेल्सीका गोलरक्षक मेन्डी रहनेछन्।

जोटा : सेल्टिक देखि अलइत्तिहाद

पोर्चुगलका २४ वर्षिय विङ्गर दुई सिजनमा स्कटिस जाइन्ट्सका लागि उत्कृष्ट खेलाडी बनेका छन्। रियल भालाडोलिड र बेनिफिका पुर्व स्टारले अल इत्तिहादसंग ३ वर्ष सम्झौता गरेका छन्। उनको स्थानान्तरण शुल्क ३१.७७ मिलियन डलर रहेको स्कटिस मिडियाले जनाएका छन्।

रुबेन नेभ्स : वोल्भरह्याम्प्टन वान्डरर्स देखि अलहिलाल

२६ वर्षिय पोर्चुगल मिडफिल्डर आफ्नो करियरको प्राइममा साउदी लिगमा सर्ने पहिलो स्थापित नाम मध्ये एक हो।

वोल्भरह्याम्प्टन वान्डरर्सका कप्तानको भुमिका समेत निर्वाह गरेका उनी अल हिलालसँग तीन वर्षको सम्झौतामा ६० मिलियन डलरमा सामेल भएका छन्।

जोर्डन हेन्डरसन : लिभरपुलदेखि अलएत्तिफाक

३३ बर्षिय हेन्डरसनले जुलाई २७ मा अल–एत्तिफाकसँग हस्ताक्षर गरे। लिभरपुल लिजेन्ड स्टिभन जेरार्ड टिमको प्रबन्धकको रुपमा अल–एत्तिफाकसंग अनुबन्ध भएपछि पूर्वसहकर्मी नेभ्सलाई क्बल भित्र्याए। 

क्लबले प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि जित्दा इंग्ल्यान्डका खेलाडी जेरार्ड लिभरपुलका कप्तान थिए। उनले प्रति हप्ता ९ लाख डलर कमाउने बताइएको छ।

कालिदो कुलिबाली, चेल्सीदेखि अलहिलाल

सेनेगाली डिफेन्डर स्ट्यामफोर्ड ब्रिजमा एक सिजन बिताएर तीन वर्षको सम्झौतामा रियादमा नेभ्ससँग सामेल हुनेछन्।

ब्रिटिश मिडियाले स्थानान्तरण शुल्क लगभग २१.६ मिलियन डलर भएको रिपोर्ट गरेका छन्।

सर्गेज मिलिन्कोभिक साभिक :  लाजियोदेखि अलहिलाल

२८ वर्षीय सर्बियालीले सन् २०२६ सम्म अल हिलालसँग सम्झौता गरेका छन्। ८ बर्ष इटालियन क्लबमा बिताएर उनको यात्रा मध्यपुर्व तर्फ सोझिएको छ।

इटालियन मिडियाको रिर्पोट अनुसार अल हिलालले मिडफिल्डरको लागि लगभग ४४.५ मिलियन तिरेको छ।

मार्सेलो ब्रोजोभिक : इन्टर मिलानदेखि अलनासर

३० वर्षीय क्रोएसियाली मिडफिल्डरले साउदी क्लब अल नासरसंग तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्। क्रोएसिया राष्ट्रिय टोलीका नियमित सदस्य ब्रोजोभिकले पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डासँगै अल नासरमा देखिनेछन्।

इटालियन मिडियाले स्थानान्तरण शुल्क १९.६ मिलियन डलर रहेको बताएको छ। इटालियन क्लबसँग रहँदै उनले २०२०–२१ को सिरी ए, कोपा इटालिया, सुपर कोपा इटालिना जितेका थिए।

२०२१–२२ सिजनको उत्कृष्ट मिडफिल्डर उनले मिलानसंग रहँदै च्याम्पियन्स लिग २०२२–२३ र युरोपा लिग २०१९–२० को उपविजेता टोलीमा रहेका थिए।

सेको फोफाना : लेन्सदेखि अलनासर

२८ वर्षीय आइभोरी कोस्ट मिडफिल्डर तीन वर्षको सम्झौतामा क्रिस्टियानो र ब्रोजोभिकसंग अल नासरमा सामेल भएका छन्। ३ वर्षअघि सिरी ए क्लब युडिनेसबाट लिग वान क्लब लेन्समा आवद्ध फोफनाले यस सिजनबाट रियाद क्लब रोजे।

फ्रान्सेली मिडियाले स्थानान्तरण शुल्क लगभग २८.१ मिलियन डलर रहेको बताएको छ।

एलेक्स टेल्स : म्यानचेस्टर युनाइटेड देखि अलनासर

ब्राजिलियन डिफेन्डरले रेड्सका लागि ५० खेल खेलेपछि युनाइटेडका पूर्व सहकर्मी रोनाल्डोसँग पुनर्मिलनका लागि तयार छन्।

गत सिजन, उनले स्पेनिस क्लबसँग लोन स्पेलमा सेभिल्लासँग युरोपा लिग जितेका थिए।

टेल्सले २०२५ सम्म एक सम्झौतामा हस्ताक्षर गरे।  मिडिया रिपोर्टका अनुसार युनाइटेडले सम्झौता बापत ७.७१ मिलियन डलर पाउनेछ। 

रियाद महरेज : म्यानचेस्टर सिटी अलअहली

३२ बर्षिय अल्जेरिय स्टार म्यानचेस्टर सिटीसंगको ट्रिबलपछि यस सिजनबाट जेद्दामा विताउनेछन्। जहाँ उनलाई प्रिमियर लिगको प्रतिद्धन्द्धी क्लब लिभरपुलबाट स्थानान्तरण भएका रोवर्टो फर्मिनो र चेल्सीबाट आएका मेन्डीले साथ दिनेछन्।

३८.५ मिलियनमा अल्जेरियन स्टार इथियार्डबाट तीन वर्षको सम्झौतामा जेद्दामा रहनेछन्। सिटीसंग रहँदै उनले लगातार ३ इंगिलस प्रिमियर लिग जितेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.