उपत्यकामा दैनिक ५० लाख थान प्लाष्टिक प्रयोग

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रयोग गर्न निषेध गर्ने योजना ल्याएको लामो समयपछि कार्यान्वयन गरेको छ। महानगरपालिकाले आज (आइतबार)देखि महानगरपालिकाभित्र प्लाष्टिक प्रयोगको अनुगमन गर्न थालेको हो।

महानगरपालिकाले साउन १ गतेदेखि नै प्लाष्टिकलाई निषेध गर्ने निर्णय गरेको थियो। महानगरपालिका वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले आजदेखि टोलीसहित अनुगमन सुरु गरेको जानकारी दिए।

उनका अनुसार माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिनेछ। महानगरपालिकासँग ५ वटा माइक्रोमिटर छ। यति माइक्रोमिटरले ३२ वडामा अनुगमन गर्न सम्भव छ भन्ने प्रश्नमा महानगरपालिका वातावरण विभागका निर्देशक श्रेष्ठले भने, ‘तत्काललाई यति माइक्रोमिटरले नापेर अनुगमन गर्छौैं, यो सुरुवाती चरण हो, आवश्यक परे थप उपकरण खरिद गर्दै जान्छौँ।’ 

महानगरपालिकाका प्रमुख बालेन शाहका अनुसार यसको कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गरिएको छ।

प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ। महानगरपालिका पूर्वप्रमुख विद्यासुन्दर शाक्य महानगर प्रमुख हुँदा नै महानगरमा प्लाष्टिकजन्य झोला बिक्री वितरण तथा प्रयोग निषेध गर्ने नीति ल्याएका थिए।

विसं २०७६ मै न्यून माइक्रोनका झोला उत्पादन र प्रयोग गर्न प्रतिबन्ध लगाउन जनचेतना, प्रचारप्रसार, पत्राचार तथा अनुगमन र कारबाही गर्ने कार्य योजना महानगरको थियो। महानगरले यसका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन पनि गरेको थियो तर महानगरप्रमुख शाक्यले उनको कार्यकालमा कार्यान्वयनमा ल्याउन सकेनन्। 

‘माइक्रो प्लाष्टिकले मानव कोषमा पार्ने असर सबैभन्दा घातक छ’

काठमाडौं महानगरपालिकाका प्रमुख शाहले माइक्रो प्लाष्टिकले मानव कोषमा पार्ने असर सबैभन्दा घातक  रहेको अध्ययनले देखाएको बताएका छन्।

‘यसैकारण दीर्घ रोग र महामारीबाट जनधनको क्षति बेहोर्नु परिरहेको छ, मानिसमा जस्तै असर अन्य जीव जनावरमा पनि परेको छ, जमिनको उर्वराशक्ति क्षय भइरहेको छ,’ उनले सामाजिक सञ्जालमा यसको अनुगमन गर्ने जानकारी दिँदै भनेका छन्।

महानगरपालिकाले मानव सभ्यता र वातावरण माथिको यो असर घटाउन पोलिथिन झोला र प्लाष्टिकजन्य फूललगायतका सामान निषेध अभियान थालनी गरेको उनले जानकारी दिए।  

उनले भने, ‘अहिलेसम्म बिग्रिएको अवस्थामा सुधार ल्याउन र बचेको अवस्थालाई संरक्षण गर्न मानव आचरण र व्यावसायिक क्रियाकलापमा सुधार गर्नुपर्छ, नागरिकको स्वच्छ वातावरणमा स्वास्थ्य भएर बाँच्न पाउने संरक्षण गर्न महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ,’ उनले भने।

दैनिक ५० लाख थान प्लाष्टिक प्रयोग

काठमाडौं उपत्यकामा दैनिक करिब ५० लाख थान प्लाष्टिक झोलाको प्रयोग हुने काठमाडौं महानगरपालिकाको अनुमान छ। शहरमा उत्पादन हुने फोहोरमध्ये ७५.५ प्रतिशत जैविक र २४.५ प्रतिशत नकुहिने फोहोर रहेको महानगरपालिकाका प्रमुख शाहले जानकारी दिए।

‘नकुहिने फोहोरमा सबैभन्दा धेरै प्लाष्टिक (६.५ प्रतिशत) छ, यसको पनि ३.८ प्रतिशत पोलिथिन झोला छ, नकुहिने अन्य फोहोरमा धातु, शिशा, रबर, कपडाजन्य, विद्युतीय र अन्य खालको फोहोर छ, नदी प्रदूषण गराउन प्लाष्टिकको ७० प्रतिशत भूमिका छ,’ उनले भने। 

उनका अनुसार प्लाष्टिक उत्पादन गर्न रसायनको पनि प्रयोग गरिन्छ। त्यसैले यसलाई बाल्दा डाइअक्सिन, फ्युरान जस्ता विषाक्त ग्याँसहरू उत्सर्जन हुन्छन्। जुन ग्याँसका कारण मानिसमा फोक्सो, मुटु र छालासम्बन्धी रोगहरू लाग्ने खतरा हुन्छ। फालिने प्लाष्टिकले ढल निकास बन्द हुन्छ। माटोको प्राकृतिक गुण परिवर्तन गरिदिने, जथाभावी उडेर तथा छरिएको अवस्थामा रहेर शहरी सुन्दरतामा ह्रास ल्याउँछ।

शहरको सभ्यताका विम्ब बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचालगायतका नदी, राजकुलाहरू र खुल्ला स्थानहरूमा प्लाष्टिक फ्याँकिएका कारण प्रदूषित बनेको उनको भनाइ छ। उनले सामुदायिक चौपायाले खानेकुरासँगै प्लाष्टिक खाँदा पशु स्वास्थ्यमा पनि गम्भीर असर परेको बताए। 

प्लाष्टिक प्रयोग गरेको पाइए के हुन्छ कारबाही?

महानगर प्रमुख शाहका अनुसार महानगरबाट खटाइएको उक्त टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्छ। यदि यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्छ।

उनले भने, ‘प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन, यसर्थ अनुगमनमा आउनु र जफत गर्नुअघि आयात, भण्डारण र बिक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन अनुरोध गर्दछु।’

महानगरपालिका वातावरण विभागका निर्देशक श्रेष्ठका अनुसार अहिले अनुगमन मात्रै गरिनेछ। ‘यो सुरुवाती चरण हो, त्यसैले अनुगमन गर्दा प्लाष्टिक भेटिए जफत हुन्छ, तत्काल जरिवाना भने तिराउँदैनौँ,’ उनले भने। केही समयपछि भने जरिवाना तोकेर तिराउनेलगायत अन्य कारबाही हुने उनले बताए।    

(याे पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.