|

तुलसीपुर : तुल्सीराम सुनारले तुलसीपुर बजारमा व्यवसाय गर्दै आएका छन्। उनी मोटरसाइकलमा साँझबिहान घर आउने जाने गर्छन्।

उनलाई तुलसीपुर बजारमा रहेका छाडा पशुचौपायाका कारण कति वेला दुर्घटना हुन्छ भन्ने मनमा सधैँ डर हुन्छ।

हिजोआज तुलसीपुर बजारमा छाडा पशु चौपाया धेरै रहेका छन्। बजारको मुख्य चोक वीरेन्द्र चोक, घोराही रोड, शीतलपुर रोड, बसपार्क लगायत क्षेत्रमा पशुचौपाया सडकमा बसेका भेटिन्छ। यसले गर्दा सुनारलाई साँघुरा सडक र पशुचौपाया पनि बीच सडकमा हुनु, यातायातको पनि उत्तिकै चापले गर्दा दुर्घटना हुने डर हुन्छ।

उनले भने, ‘दिउँसोको समयभन्दा साँझबिहान सडकमा छाडा पशुचौपाया रहुन्छन्। यस्ता चौपायालाई व्यवस्थापन गर्न उपमहानगरले ध्यान दिएको छैन। उपमहानगरले वर्षेनि लाखौँ बजेट छुट्याए पनि छाडा पशुचौपायाको समस्या उस्तै छ।’

उनका अनुसार बजारमा रहेका छाडा चौपायाका कारण धेरै दुर्घटना हुन सक्छन्। स्थानीय सरकारले बेलैमा ध्यान दिनुपर्छ।

छाडा पशु चौपायाका कारण सवारीसाधनलाई आवतजावत मात्रै होइन, दुर्घटनाको जोखिम पनि बढाएको छ। ट्राफिक व्यवस्थापन गर्न पनि निकै समस्या हुने गरेको छ। यी चौपायाको स्थायी व्यवस्थापन गर्न जरुरी रहेको ट्राफिक प्रहरीको पनि भनाइ छ।

जिल्ला ट्राफिक प्रमुख किरणप्रकाश मल्लले स्थानीय निकायसँग समन्वय गरेर आफूहरूले व्यवस्थापनका लागि काम गर्दै आइरहेको समेत बताए। यसैगरी उनले सडकमा छाडा पशुचौपाया भेटेमा सबैले हटाउनुपर्ने समेत बताए।

उनले भने, ‘सडकमा पशुचौपाया भएमा रमिता हेर्नु भएन। तिनैका कारणले दुर्घटना हुनसक्छ। सडकमा देखेपछि ती पशुचौपायालाई साइड लगाउनु पर्छ। प्रहरी वा स्थानीय सरकार नै आएर हटाउनुपर्छ भन्ने हुँदैन। हामी सबैले यसमा ध्यान दिन जरुरी छ। जसबाट दुर्घटना कमी हुनसक्छ।’

यस्तै उनले सडकमा पशु चौपाया देखेमा स्थानीय निकाय वा प्रहरीलाई खबर गर्न आग्रह गर्दै यस्तो गरेमा व्यवस्थापन गर्न सकिने समेत बताए।

छाडा चौपाया व्यवस्थापनमा चुनौती : उपमहानगर

तुलसीपुर उपमहानगरले भने छाडा चौपाया व्यवस्थापन गर्न चुनौती रहेको जनाएको छ। उपमहानगरकी उपप्रमुख स्यानी चौधरीले जिल्लामा हुने स्थानीय तहको बैठकमा पनि यसका बारेमा आवाज उठाउँदै आएको बताइन्। उनले भनिन्, ‘जिल्लाका सबै पालिकाले आफ्ना ठाउँमा रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न जरुरी छ भनेर मैले भन्दै आएकी छु।’

उपमहानगरले गत आर्थिक वर्षमा छाडा पशुचौपायाको व्यवस्थापनका लागि २४ लाख बजेट विनियोजन गरेको समेत उनको भनाइ छ। उपमहानगरमा दुई ठाउँमा गौशाला रहेको र बजारमा आएका पशुचौपायालाई त्यहाँ लगेर व्यवस्थापन गर्ने गरेको समेत उनले बताइन्।

उनले भनिन्, ‘हामीले बजारमा देखिनैबित्तिकै गौशालामा लगेर राखेका हुन्छौँ। फेरि कहाँबाट रातारात आउँछन्। यसले हामीलाई चुनौती रहेको छ। अब उपमहानगरले गम्भीर रूपमा यसमा सोचेर अगाडि बढ्नेछ।’

यस्तै उनले गौशालामा लगेर राखिएका पशुचौपाया बाहिर नआउने समेत बताइन्। यसैगरी उपमहानगरमा आउने पशुचौपाया बाहिरबाट आउने भन्दै उनले अब उपमहानगरभित्र रहेका पशुचौपायामा उपमहानगरको चिह्नसहितको ट्रयाक लगाउन जरुरी रहेको समेत बताइन्।

उनले पछिल्लो समय गाईले दूध दिँदासम्म किसानले पाल्ने र दिन छाडेपछि छाडा छाड्ने अवस्था रहेको भन्दै अब गाईपालक किसानहरूका राहतका लागि उपमहानगरले केही गर्नु पर्ने समेत बताइन्।

उपमहानगरले पटक पटक विभिन्न स्थानमा गौशाला व्यवस्थापनका लागि लगानी गर्दै आएको छ। उपमहानगरले यसअघि ४७ लाख बराबरको शेयर लगानी र तुलसी सहकारी संस्थाको करिब ६५ लाख बराबरको शेयर लगानी गरिसकेको छ।

जिल्लामा लामो समयदेखि छाडा चौपाया व्यवस्था हुन सकेको अवस्था छैन। जिल्लाको तुलसीपुरसहित घोराही, लमही, नारायणपुर लगायतका बजार छाडा चौपायाको चपेटामा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.