|

विराटनगर : विसं २०७८ सालको कुरा हो।  पहिलो पटक भेट्दा उनले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन्। टाउकोमा रातो फेटा बाँधेकी हुन्थिन्। उनी अक्सर वडा प्रहरी कार्यालय विराटनगर परिसरमा नै भेटिन्थिन्।

सुशासन र राष्ट्रियताका विषयमा ब्रेक नलगाई ‘ननस्टप’ कुरा गरिरहने उनले आफूलाई सुशासनको अभियन्ता हो भनेर परिचित गराएकी थिइन्। हातको झण्डा देशप्रतिको प्रेम, सम्मान र  टाउकोमा बाँधिएको रातो फेटा विद्रोहको प्रतीक रहेको उनले सुनाएकी थिइन्।

उनी थिइन् विराटनगर-५ की इन्दिरा चापागाईं। त्यसो  त उनी सुशासनका विषयमा मात्रै आवाज उठाउँदिनन्। साहित्यमार्फत आफ्ना भावना सार्वजनिक गर्ने खुबी पनि उनीमा छ। विराटनगरको तातो होस् या ज्यान काँप्ने चिसोमा उनी पैदल यात्रामा नै रमाउने गर्छिन्।

बाटोमा जम्काभेट भइहाले उनी हाँस्दै भन्ने गर्थिन्, ‘म हिँड्ने सडक कालोपत्रे नहुँदो हो त मेरा चप्पलका डोबहरु कतै न कतै थुप्रिएका भेटिन्थे।’ त्यही कालोपत्रे बाटोमा भ्रष्टाचारविरुद्ध र सुशासनको अभियान लिएर अनवरत हिँडेकी इन्दिराले कति जोर चप्पल फटाइन् त्यसको गन्ती गर्न उनले भ्याएकी छैनन् होला।

तर आफूले अभियानको यात्रा एक्लै थाल्दै गर्दा जीवनमा भोगेको सुखदुःखका भोगाइको गणना भने उनीसँग असंख्य छन्।

करिब डेढ महिनादेखि सरकारी (सामुदायिक) विद्यालयमा शैक्षिक सुधारको माग राख्दै विराटनगर महानगरपालिकाको प्रवेशद्वारमा प्रदर्शन गर्दा उनलाई मानसिक रोगीको उपनामसमेत कतिपयले दिएका थिए। उनलाई बुझ्ने कैयौँले भने केही गर्छु भन्दै एक्लै हिँड्नेलाई समाजले अपराधी या पागल तुल्याउँछ भन्ने तर्कसमेत राख्ने गरेका छन्।

अहिले सरकारी विद्यालयमा शैक्षिक सुधारको माग राख्दै विराटनगर महानगरपालिकामा ब्यानर लिएर प्रदर्शन गर्दै आएकी इन्दिरा प्रहरी हिरासतमा छिन्। उनलाई थुनामै राख्न म्याद थपसमेत भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सह–प्रवक्ता प्रहरी निरीक्षक पप्पु नायकले दिएको जानकारीअनुसार थुनामै राखेर अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत मोरङबाट ८ दिन म्याद थप भएको हो।

यही साउन १५ गते महानगरपालिका कार्यालयले चापागाईंविरुद्ध अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको थियो।

विराटनगर–५ की इन्दिरा सरकारी विद्यालयमा शैक्षिक सुधारको माग गर्दै गएको जेठदेखि महानगरपालिका कार्यालयअगाडि धर्नामा बस्दै आएकी थिइन्। महानगरका मेयर नागेश कोइरालालाईलाई गालीगलौज गरेको आरोपसहित महानगरले प्रहरीमा उजुरी दिएको थियो।

गोग्राहा उच्च माविमा निजी स्रोतबाट सञ्चालित शिक्षा संकायको कलेजलाई महानगरले ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको भन्दै उनले विरोध गरेकी हुन्। बजेट फिर्ता गरेर सरकारी विद्यालयबाट कलेज हटाउन उनले प्रमुख रूपमा माग गरेकी थिइन्।

चापागाईं ग्रोगाहा माध्यमिक विद्यालयकी सञ्चालक समितिकी पूर्वअध्यक्ष समेत हुन्। उनले अशोभनीय शब्द प्रयोग गरी जथाभावी गालीगलौज गर्नुका साथै मेयर नागेश कोइलालाई मुख्य गेटबाट प्रवेश गर्न अवरोध गरेको आरोप महानगरले लगाएको छ।

इन्दिरा चापागाईं प्रहरी हिरासतमा भएसँगै विवादमा तानिएका  नगरप्रमुख कोइराला भने नगर प्रहरीले चापागाईंलाई दुर्व्यवहार गरेको प्रमाणित भए पदबाट राजीनामा दिने बताउँछन्।

उनले भनेका छन्, ‘महानगरपालिकाले या मेरो कर्मचारीले‚ नगर प्रहरीले कुनै गाली या अभद्र व्यवहार गरेको छ भने म राजीनामा दिन तयार छु, फुटेज लिएर अदालतमा जानुस्‚ म तयार छु।’

नगर प्रमुख कोइरालाले कसैले उक्साएर पठाएको हुनसक्ने अनुमान लगाउँदै आमाबुवाको नाम लिएर गाली गर्ने जस्तो क्रियाकलाप गरेको बताए। आफूमाथि गालीगलौज भएको बताउँदै गोग्राहाका दुईजना प्रिन्सिपलले समेत राजीनामा दिनुमा चापागाईं नै कारण रहेको समेत प्रमुख कोइरालाले आक्षेप लगाए।

उभिएर धर्ना दिनुमा कुनै आपत्ति नरहेको बताएका नगर प्रमुख कोइरालाले परिवारसँग हिँड्दा पेटीकोटले छोप्ने साथै अपशब्द बोल्ने जस्तो क्रियाकलापले आफ्नो अधिकार हनन भएको बताए।

अढाई महिना चापागाईंको क्रियाकलापलाई सहँदा अति भएपछि अन्त्यमा खप्न नसकी जिल्ला प्रहरी कार्यालयमा निवेदन हालेको नगर प्रमुख कोइरालाले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.