|

काठमाडौं: मनसुनी प्रणाली सक्रिय रहँदा गत ४८ घण्टामा बाढी र पहिराेबाट ८ जनाको ज्यान गएको छ। अन्य ६ जना बेपत्ता भएका छन्।  

पहिराेमा परेर दोलखामा १ र मकवानपुरमा तीन जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

मधेश प्रदेशमा नदीले बगाउँदा ४ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। ती मध्ये एक जना भारतीय नागरिक रहेका मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।  

मधेश प्रदेशमा बाढीमा परेर मृत्यु हुनेमा धनुषा मिथिला नगरपालिका २ का १७ वर्षीय अजय यादव तथा गणेशमान चारनाथ नगरपालिका ७ का ३० वर्षीया माया परियार छिन्। सर्लाही हरिपूर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरी र रौतहट मौलापुर नगरपालिका–१ का ६५ वर्षीय सहिद राय भाटको नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको हो । 

यही अवधिमा नदीले बगाउँदा तीन जना बेपत्ता भएका प्रहरी उपरीक्षक श्रेष्ठले बताए। महोत्तरीको लोहारपट्टिस्थित रातु नदीमा आएको बाढीले बगाउँदा सोनमा गाँउपालिका–१ का ३८ वर्षीय जाविर अन्सारी बेपत्ता भएका छन्।

त्यस्तै धनुषाको कमला खोलामा आएको बाढीले बगाउँदा गणेशमान चारनाथ नगरनाथ नगरपालिका–७ का ३५ वर्षीय सजन परियार बेपत्ता भएका हुन्। पर्सा जिल्लास्थित सिर्सिया नदीमा आएको बाढीले बगाउँदा भारतीय नागरिक ३२ वर्षीय किशोर राउत कुर्मी बेपत्ता छन्। उनीहरुको खोजी जारी छ । 

मधेश प्रदेश तीन र मकवानपुरका तीन जना गरी ६ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी रहेको जनाइएकाे छ। अन्य ९ जना घाइते भएका छन् । 

बाढी पहिरोमा  देशभरका ४२ परिवार प्रभावित बनेका राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव ध्रुवबहादुर खड्काले जानकारी दिए। प्राधिकरणका अनुसार यही अवधिमा करिब ७० लाख रुपैंया बराबरको जनधनको क्षति पुगेको छ। 

गत २२ गतेबाट आजसम्ममा २२ जिल्ला बाढी प्रभावित भएकोमा मकवानपुर, सिन्धुली, दोलखा र काठमाडौँ जिल्ला बढी प्रभावित बनेको छ। तर अहिले भने दाङ, बर्दिया, डडेल्धुरा र कैलालीसमेत क्षति बढी हुने जिल्लामा थपिएको उपसचिव खड्काले जानकारी दिए।

यस्ताे ५ वर्षाकाे अवस्था

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी धनगढीमा १४३ दशमलव ७ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै ताप्लेजुङमा ६२ दशमलव ८, कास्कीको लुम्लेमा ५४ दशमलव ५ र नेपालगञ्जमा ४१ दशमलव ५ मिलिमिटर वर्षाको मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

विभागका अनुसार आज राति पनि बागमती, गण्डकी र लुुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना देखिएको मौसम पुर्वानुमान महाशाखाले बताएको छ। अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

भारी वर्षाको सम्भावना देखिएका स्थानहरुमा नदीको जल सतह बढ्ने, बाढी पहिरो जस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने जोखिमबाट बच्न विभागले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.