|

 बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ। बंगलादेशको राजधानी ढाकाबाट करिब २४० किलोमिटर दक्षिणपूर्वमा रहेको देशको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैनिकहरु परिचालन गरिएको हो।

चट्टोग्रामको कोक्स बजार जिल्लामा सोमबारयता भएको वर्षापछिका विपद्का कारण ६ जनाको ज्यान गइसकेको जनाइएको छ। उक्त क्षेत्र अहिले पहाडको भिरालोमा बसोवास गरिरहेका करिब १० लाख रोहिंग्या शरणार्थीहरूको घर हो।

बंगलादेशका शरणार्थी, राहत र स्वदेश फिर्ता कमिश्नर (आरआरआरसी) मोहम्मद मिजानुर रहमानले भने, ‘सोमबारदेखिको भारी वर्षाका कारण दुईवटा छुट्टाछुट्टै पहिरोमा परी चार रोहिंग्याको मृत्यु भएको छ, र दुईजना घाइते भएका छन्।’

कक्सबजार जिल्लाको दुर्गम पहाडी क्षेत्रमा पहिरोले घरको पर्खाल भत्किँदा दुई बालबालिकाको पनि मृत्यु भएको बताइएको छ। बाढी प्रभावित क्षेत्रमा आपतकालीन राहत र चिकित्सा सहायतासहितको उद्धार कार्य जारी रहेको रक्षा मन्त्रालय अन्तर्गतको अन्तरसेवा जनसम्पर्कले जनाएको छ। वर्षाका कारण बढी आश्रयस्थलहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने बंगलादेशको बन्दरगाह शहर चट्टोग्रामलाई पनि क्षति पुर्‍याएको छ।

तराईका क्षेत्रहरू डुबानमा परेका छन् र सडक यातायात अवरुद्ध भएको छ। देशको प्रमुख बन्दरगाह शहर चट्टोग्रामका केही भागमा सडक, लेन र बाइलेन घुँडा मुनिसम्म पानी जम्मा भएकाले चट्टोग्रामका तल्लो क्षेत्रका बासिन्दाले दिनदेखि जलमग्नताको सामना गरिरहेका छन्, जसले यात्रुहरूलाई ठूलो सास्ती खेप्नुपरेको छ।

बंगलादेशको पहाडी क्षेत्रहरूमा प्रायः जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको समयमा पहिरो जाने गर्छ। किनभने सो क्षेत्रमा जमिनमा बाली उब्जाउन र नयाँ घरहरू बनाउनको लागि ठूलो मात्रामा वन विनाश भएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.