|

बैतडी : जिल्लामा जंगली जनावरहरूले आतंक मच्चाउन थालेका छन्। बदेँल, भालु, दुम्सी, बाँदरलगायतका जंगली जनावरले आतंक मच्चाएका हुन्। 

जंगली जनावरले मानिसमाथि आक्रमण गर्नुका साथै बालीनाली समेत नष्ट गर्न थालेका छन्। दिउँसो बाँदर र रातिको समयमा बदेँल, दुम्सीले मकैबाली नष्ट गर्न थालेको दोगडाकेदार ३ श्रीकोटका डम्बर जोशीले बताए।  मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएको यस जिल्लाका अधिकांस क्षेत्रमा मकैबाली जोगाउनै मुस्किल भएको छ। 

 मकैबाली जोगाउन बारीमै जाग्राम बस्नुपरिरहेको  अर्का किसान झिमा विष्टले बताए।  दिउँसोको समयमा बाँदरले खेतबारीमा लगाएको  बाली नष्ट गर्ने गरेको छ। घोगा लाग्ने बेला मकैबाली जंगली जनावरले सखाप पार्न थालेको छ। 

उनले भने, ‘रातदिन खेतबारीमा टहरा बनाएर पहरा दिँदा समेत मकैबाली जोगाउन सकिने अवस्था छैन, दिनमा बाँदर र रातिको समयमा जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ।’

रातिको समयमा मात्रै आउने जंगली बँदेल अब दिउँसै बारीमा आउन लागेका छन्। रातीको समयमा बँदेलको बथान आएर किसानहरूले लगाएको मकै वाली नष्ट पार्न थालेपछि भोकमरी हुने चिन्ता बढेको पञ्चेश्वर वीरेन्द्र भट्टले जानकारी दिए। बस्ती नजिकका जंगलबाट आएर जंगली बँदेलले मकै नष्ट गर्ने गरेको छ।  उनले भने,’ जंगली जनावरले मकै सखाप पारेका छन्,जोगाउनै सकस छ।   भोकमरी हुने चिन्ता पनि बढेको छ।’

किसानले मेहनत गरेर लगाएको बालीहरू वर्षेनी जंगली जनावरहरूले सखाप पार्न थालेपछि किसानहरूलाई चिन्ता बढेको छ।

हरेक वर्ष जंगली जनावरले बालीनालीमा व्यापक क्षति पुर्याउन थालेपछि कतिपय ठाउँका किसानहरूले बालीनाली लगाउनै छोडेका छ। जिल्लाका विभिन्न ठाउँहरूमा जंगली जनावरहरूले वर्षेनी बाली नालीमा क्षति पुर्याउने थालेपछि नागरिकहरूको कृषि पेशामा आर्कषण घट्दै गएको छ।

यसैबीच जंगली जनावरले मानिसमाथि नै आक्रमण गर्न थालेको छ। केही दिन अगाडि  शिवनाथ गाउँपालिका २ फट्केढुगाँका १२ वर्षीय मनिस साउदमाथि जंगली बँदेलले आक्रमण गरि घाइते बनाएको थियो। 

मकैबाली खान आएका जंगली बँदेलले दिनमै मानवमाथि आक्रमण गर्नथालेपछि स्थानीयमा त्रास फैलिएको छ। एकातिर मकैबाली नास हुनै भन्दै चिन्ता बढेको छ भने अर्को तिर मानवमाथि नै आक्रमण हुन थालेपछि डर पनि बढेको मानसिँह साउदले बताए। उनले भने,’मेहनत गरेर लगाएको मबैबाली जोगाउन मुस्किल परेका बेला जंगली जनावरले मानिसमाथि नै  आक्रमण गर्न थालेपछि त्रास फैलिएको छ।’

जंगली जनावरले पारेको क्षतीबारे स्थानीय सरकारले एकलैले नसक्ने जनप्रतिनिधिहरूले बताउँदै आएका छन्। 

बैतडीमा १४ हजार ५ सय हेक्टर जमिनमा मकै खेती हुने गरेको भए पनि पछिल्लो समयमा उत्पादनमा कमी आउन थालेको छ। जंगली जनावरले मकैबाली सखाप पार्ने गरेकाले उत्पादन घटेको हो। बाली बीमा नहुँदा किसानहरूले बालीनालीमा क्षति पुग्ने गरेको भएपनि क्षतिपूर्ति पाउदैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.