|

काठमाडौं : काठमाडौं महानगरपालिकाले खुला दूधबिक्री वितरण गर्न रोक लगाउने भएको छ।  कामपाले खुलारूपमा दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत रहेको भन्दै तत्काल रोक्ने बताएको हो।  

पछिल्लो समय बजारलाई थप व्यवस्थापन गर्नका लागि भन्दै नियमितरूपमा अनुगमन गर्ने तयारी गरिरहेको कामपाले विषेशगरी खुलारूपमा बेचिने खानेकुरा, पेयपदार्थ, तरकारी र फलफूल बजारमा निगरानी बढाउने कामपाका उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्।  

उनका अनुसार बर्खायाममा सङ्क्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल टोली परिचालन हुनेछ ।  

‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो सङ्क्रमण फैलिन्छ। यसको स्रोत मासु पसल, दूध डेरी, तरकारी तथा फलफूल पसल हुन्’, उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो। मौका दिँदा पनि सुधार नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’

चालु आर्थिक वर्षमा कामपाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यक्तिगत तथा संस्थागत भान्छालाई स्वस्थकर बनाई आरोग्य कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। महानगरको समग्र स्वास्थ्य कार्यक्रमका लागि ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन भएको छ ।  

स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था गरिएको छ। कार्यपालिकाअन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्नेछ।

उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्ने व्यवस्था छ। सुपरीवेक्षण समितिको कामको समन्वय एकाइले गर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.