|

काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको फिल्म ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ। उनले यस फिल्ममा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छ।

राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले फिल्मले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन्। उनले भने, ‘एउटा आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ। कलेज जीवनमा नै यसलाई नजिकबाट नियालेकाले यससम्बन्धी केही ज्ञान छ।’ 

उनले आफू कुनै पार्टीको विचारसँग नभई केही व्यक्तिसँग प्रभावित रहेको बताइन्। सामाजिक विषयको फिल्ममा देखिँदै आएकी अभिनेत्री खड्काले आफू अभिनित फिल्म ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताइन्। 

आफूले अभिनय गरिरहेका फिल्म एकै विधाका भएकाले यसपटक दर्शकले फरकरूपमा पाउने उनको भनाइ थियो। अभिनेत्री खड्काले भनिन्, ‘मैले कलात्मक फिल्ममा केही समय अभिनय गरेँ। यो पूर्णरूपमा व्यावसायिक हो। त्यसैले यो मेरा लागि महत्वपूर्ण छ।’

निर्देशक कृषा चौलागाईंले आफ्नो लगावका कारण फिल्म निर्देशन यात्रा सुरु गरेको बताइन्।

उनले भनिन्, ‘म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीका रूपमा जोडिएँ। त्यसपछि केही छोटा फिल्म र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ। यो म एक्लोभन्दा पनि सम्पूर्ण समूहकै प्रयासले सफल भएको हो।’

केपी फिल्म्सको ब्यानरमा निर्माण भएको उक्त फिल्ममा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन्। 

यसमा अभिमन्यू निरवीले कथा, पुरुषोत्तम प्रधानले छायाँङ्कन, कविराज गहतराजले नृत्य निर्देशन, सुजिल कर्माचार्यले पार्श्र्व सङ्गीत, रेनिश फागोले रङ्ग संयोजन, विपिन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.