|

झापा : मेचीनगरमा धारिलो हतियार प्रयोग गरी एकजनाको हत्या भएको छ। मेचीनगर नगरपालिका–८ का  ४३ वर्षीय सुन्दर किसानको हत्या भएको हो। 

बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि उनी घर फर्किएका थिएनन्। बिहीबार बिहान घरदेखि डेढ किलोमिटरको दूरीमा खेतको पैनीमा झाडीले छोपेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए।

प्रहरीले किसानको हत्या भएको जानकारी दिँदै घटनाको अनुसन्धान शुरु गरिसकेको जनाएको छ। हत्याको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टा, झापा जिल्ला प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले संयुक्तरूपमा अनुसन्धान शुरु गरेको छ। परीक्षणका लागि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ। 

स्थानीय वडाध्यक्ष गिरिराज धमलाले बुधबार साँझदेखि हराइरहेका किसानको हत्या भएको बताए। ‘घाँटी र टाउकामा धारिलो हतियार प्रयोग भएको चोट प्रष्ट देखिएको छ’, वडाध्यक्ष धमलाले भने, ‘फुटबल खेल हेर्न जान्छु भनेर घरबाट निस्कनुभएको रहेछ । हत्या गरेर खेतको पैनीमा शव फालेको अवस्थामा उहाँलाई आज बिहान मात्र भेटियो ।’

स्थानीय मेची विद्योदय आधारभूत विद्यालयको मैदानमा फुटबल खेल हेरेर उनी मेचे गाउँ पुगेकोसम्म जानकारी गाउँलेले दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.