१५ बिघाको मकै बँदेलले सिध्याएपछि किसान चिन्तित

|

दाङ :  तुलसीपुर उपमहानगरपालिका ७ का स्थानीयले जंगली बँदेलले बारीमा लगाएको मकै खान थालेपछि चिन्तित बनेका छन्।

गाउँ नजिकै रहेको जङ्गलमा रहेको बँदेलहरूले रातको समयमा आए आधाभन्दा बढी मकै खाएको उनीहरूको भनाइ छ। स्थानीय ढुण्डीराज पराजुलीका अनुसार आफ्नो टोलमा करिब १५ बिघा बारीमा रोपेको मकै जंगली बँदेलले खाएर सिध्याउन थालेका छन्।

जंगली बँदेलका कारण आफूहरूले निकै समस्या भोग्दै आएको भन्दै त्यसको व्यवस्थापन गर्नको लागि  समेत उनले आग्रह गरेका छन्।

पराजुलीले भने, ‘हामी किसानहरूले दु:ख गरेर  रोपेको मकै खाएर बँदेलले सखाप पार्न थालेका छन्। यसका बारेमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ। यदि होइन्, भने हामीलाई बँदेल मार्ने अधिकारी दिनुपर्छ। हामीले  लगाएको खेती यसरी बँदेलले खाएर सखाप पारेपछि हामीले के खाने?’

केही वर्षदेखि आफूहरूले यस्तै समस्या भोग्दै आएको भएयता पनि यसपटक जङ्गलमा बँदेलको संख्या बढेका कारण अहिले धेरै क्षति पुर्‍याएको समेत उनको भनाइ छ।

जङ्गलमा बँदेलको संख्या बढ्दै जाँदा अबको दिनहरूमा उनीहरूले अझ धेरै क्षति गर्न सक्ने पनि उनले बताए। रातको समयमा आएर आफूहरूले लगाएको मकै खाने र दिउँसो भर जङ्गलमा जाने गरेको पनि उनले बताए। 

पीडित किसान पराजुलीले भने, ‘गाउँका कुनै किसानले लगाएको मकै नखाएको ठाउँ छैन। हामी राति १२ बजेसम्म त बसेका हुन्छौँ। तर,  कुन बेला आएर खान्छ थाहा हुँदैन। बिहान बारीमा हेर्दा मकै  खाएर सत्यानाश हुन्छ।  हामीलाई कसरी खेती बचाउने भन्ने चिन्ता छ।’

यस्तै, उनले बर्खे बाली मकै बँदेलले खाएर सिध्याउने र हिउँदे बाली छाडा चौपायाले खाने गर्दा आफूहरू निकै पीडित बनेको पनि बताए।

बँदेलले आलु, गुइयाँ धेरै मन पराउने भएकाले पनि गाउँमा आउने त्यो नपाएपछि मकै खाने गरेको उनको भनाइ छ।  यस्तै, उनले यस समस्याका बारेमा वडा कार्यालय र उपमहानगरमा समेत जानकारी गराउँदै आएको भएयता पनि त्यहाँको कुनै चासो नदिएको समेत बताए।

उनले भने, 'हामीले भन्ने भनेको  यी ठाउँमा हो। तर, हाम्रो कुराको सुनुवाइ नै हुँदैन। हामीलाई कि तारबारको लागि सहयोग गर्नुपर्छ। कि मार्न दिनुपर्छ। अब कसरी बाच्न सकिन्छ।’

यस्तै, सोही ठाउँकी  यशोदा पौडेलले आफूहरूले  मकै खेती गर्दै  आएको धेरै वर्ष भएयता पनि यसपटक भन्दा क्षति पहिला नभएको बताइन्। उनका अनुसार आफूले एक बिघा बारीमा मकै खेती लगाएकोमा बँदेलका कारण आधा मकैमा क्षति भएको छ।

उनले भनिन्, ‘रातको समयमा हुलका हुल आउँछन् होला। राम्रो मकै खाएका हुन्छन्, भने उत्तिकै ढालेर नाश बनाएको बिहान बारीमा हेर्न जाँदा देखिन्छ। एक त महँगोमा मकैको बिउ ल्याएर रोप्नुपर्छ। त्यसमा पनि समयमा मल पाइँदैन। जसोतसो गरेको खेती बँदेलले खाएर क्षति पुर्‍याउँदा के खाने भनेर चिन्ता परेको छ।'

यस्तै उनले बारीमा लगाएको मकै बँदेल खाएर नष्ट गरिदिन थालेको भन्दै यिनीहरूलाई रोक्नको लागि स्थानीय सरकारले ध्यान  दिनुपर्ने बताइन्।

तमाखेकी सीता भण्डारीको करिब ९ कठ्ठा बारीमा मकै छ। उनलाई गतवर्ष भन्दा यसपालि मकै राम्रो उत्पादन हुने आशा थियो। तर, बारीमा बँदेलको आतङ्कले यसपालि पनि भनेजति उत्पादन नहुने बताउँछिन्।

साँझ बारीका राम्रा मकैका बोट हेरेर खुत्यो बिहान उठेर बारीमा जाँदा लमतन्न सुतेका मकैका डाँठ मात्रै भेटिने गरेको उनको भनाइ छ।

मकै खेती भएको यो क्षेत्रबाट तुलसीपुर ७ मा रहेका श्री गणेश सामुदायिक वन र गरौखाली सामुदायिक वन नजिकै पर्दछन्। दुईवटा सामुदायिक वनक्षेत्रबाट आउने बँदेलले मकै नष्ट गर्ने गरेको उनीहरूको भनाइ छ।

यस्तै, अर्का स्थानीय खगेश्वर पराजुलीले पनि सम्बन्धित निकायले ध्यान नदिएमा आफूहरू यहाँबाट विस्थापित हुनुपर्ने अवस्था आएको बताए।  आफूहरूले पटकपटक भन्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको उनको गुनासो रहेको छ।

उनका अनुसार बर्खामा  बँदेलका कारणले मकै बालीमा र हिउँदका समयमा छाडा पशु चौपायाका गहुँ खेतीमा क्षति हुने गरेको छ। विगत ४ ५ वर्षदेखि आफूहरूले छाडा पशुचौपायाका कारण गहुँ खेती गर्न छाडेको पनि उनको भनाइ छ।

किसान पराजुलीले भने, ‘बर्खामा बँदेलको आतंक हुन्छ। हिउँदमा छाडा चौपायाको हुन्छ। अनि के गरेर हामी किसान यस ठाउँमा बस्न सक्छौँ?'

समस्या सुनेका ौँ : प्रवक्ता वली

तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले अहिले तुलसीपुरका विभिन्न ठाउँमा जंगली बँदेलले मकै बाली नष्ट गरेको कुरा सुनेको बताए। उनका अनुसार अहिलेसम्म उपमहानगरपालिकामा लिखित रुपमा कसैले निवेदन  दिएका छैनन्। तर, वडा कार्यालयमा के गरेका छन्, भन्ने बारेमा पनि जानकारी नभएको उनको भनाइ छ।

अहिले कार्यपालिकाको बैठक नबसेका कारणले गर्दा पनि कुरा नआएको भन्दै उनले यसअघि बसेका कार्यपालिकाको बैठकमा कुनै पनि वडाध्यक्षहरूले यस विषयमा कुरा नउठाएको बताए। 

उनले भने, ‘तत्काल हामीले यही नीति बनाएर अगाडि बढ्ने भन्नु कुरामा हामीले सोचेका छैनौँ। यो विषय कार्यापालिकामा उठेपछि त्यसपछि छलफल गरेर नीति बनाएर अगाडि बढ्न सकिन्छ। तर, हामीले सुन्नमा आएपछि क्षतिको विवरण माग गरेका छौँ।’

यस्तै, कार्यपालिकाको बैठकमा क्षति अनुसारको राहत दिने कुरामा पनि अगाडि बढ्ने उनले बताए। 

उनका अनुसार अहिले गाउँमा जङ्गलबाट आएर बँदेलले मकैबारीमा क्षति गर्ने गरेको छ। त्यसलाई रोक्नको लागि वन कार्यालय, संघीय र प्रदेश सरकारसँग पनि समन्वय गर्नुपर्ने हुन्छ।

यस्तै, उपमहानगर यो विषयमा गम्भीर हुने भन्दै उनले  २ - ४ वर्ष अगाडि यस्तो समस्या कम मात्रामा भएयता पनि यसपटक धेरै भएको भन्ने कुरा आएको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.