|
फाइल तस्वीर

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विश्वासको मत लिने दिनको पूर्वसन्ध्यामा छन्।

विपक्षी दल एमालेका सांसदहरू भने घरायसी समस्या परेको भन्दै सदनमा उपस्थित नहुने भएका छन्। एमालेका ६ सांसद घरायसी समस्यामा परेका छन् भने राप्रपाका दुई सांसद अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा पनि घरायसी समस्यामा परेका कारण सोमबार तय भएको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन्।

मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभाको बैठक सोमबारका लागि आह्वान गरेका छन्। तर बैठकमा प्रदेशसभामा ज्येष्ठ सदस्य रहेका ६ जना सांसद अनुपस्थित हुने भएपछि मुख्यन्त्री थापाले विश्वासको मत पाउन सकस देखिएको छ।

एमालेको तर्फबाट निर्वाचित सिर्जना दनुवार प्रदेशसभा बैठकमा अनुपस्थित हुने चर्चा चलिरहेको अवस्थामा यदि उनी अनुपस्थित भए सदन सञ्चालन गर्ने बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले सञ्चालन गर्नुपर्ने नियम छ।

तर, एमाले र राप्रपाका ज्येष्ठ सदस्य अनुपस्थित भए सत्ता गठबन्धनका तर्फबाट प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने परिस्थिति सिर्जना हुन्छ। सत्ता गठबन्धनबाट सभाको अध्यक्षता गर्नुपर्ने अवस्था आइपरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था छैन।

यसरी बिदामा बसेका राप्रपाका अम्बरबहादुर विष्ट, राप्रपाकै अर्का सांसद गोपालबहादुर विश्वकर्मा यस्तै एमालेका सांसदहरूमा रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी रहेका छन्।

एमालेका सांसद ईश्वरचन्द्र दुलाल बिदा लिएर अमेरिका गएका छन्। सत्ता गठबन्धनलाई संकट कोशी प्रदेशसभा यति वेला सभामुखविहीन छ।

मुख्यमन्त्री थापा नेतृत्वका सरकारलाई बहुमत पुर्‍याउन सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतम प्रदेश सरकारकै आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। अहिले उपभामुख दनुवारको नेतृत्वमा अहिले प्रदेशसभा सञ्चालन भइरहेको छ।

तर भोलि अर्थात् सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन प्रदेशसभामा सभामुख र उपसभामुख नहुँदा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ। उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरूले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ।

नियमावलीअनुसार उपसभामुख पनि अनुपस्थित भएको अवस्थामा अध्यक्ष मण्डलमा बाँकी रहेका सदस्य इस्राइल मन्सुरी र गीता तिम्सिना रहेका छन्। उनीहरू सत्ता गठबन्धनका सांसद हुन्।

राप्रपाका विष्ट र एमालेकी लिम्बू पनि अध्यक्ष मण्डलमा थिए। दुवैजना बिदामा बसेका छन्। तर एमालेका ज्येष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने सूचना दिएकाले उपसभामुख सिर्जना दनुवार पनि आउने सम्भावना कम देखिएको छ।

उनी पनि नआएको खण्डमा वा राजीनामा दिएको खण्डमा ज्येष्ठ सदस्यको १३ औं नम्बरमा रहेका काँग्रेसका अमृत अर्यालले प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने भएको छ। अर्यालले अध्यक्षता गर्नुपर्ने अवस्था आइपरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था देखिँदैन।

‘हामी विश्वासको मत दिँदैनौँ’

राप्रपा राप्रपाका सांसद अम्बरबहादुर विष्टले ६ जना सांसदलाई बैठकमा अनुपस्थित नहुनु भनेर पार्टीले कुनै निर्देशन नदिएको बताए। उनले केही सांसद उपस्थित भए पनि अहिलेको सरकारलाई विश्वासको मत नदिने दाबी गरे।

‘हामीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले बैठकमा उपस्थित नहुनु भनेर निर्देशन दिनुभएको छैन, केही सांसदहरू उपस्थित हुनुहुन्छ होला’, उनले भने, ‘म चाहिँ हुन्न, स्वस्थ पनि छैन। केही सांसद उपस्थित भए पनि अहिले हामी विश्वासको मत दिँदैनौ।’

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला भारतको दिल्लीमा छन्। यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको थिए।

त्यसो त १० करोडको अफर आएको भन्दै राप्रपा अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत सार्वजनिकसमेत गरेका थिए।

सत्ता गठबन्धन दल नेपाली काँग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले लिङदेनको कुरा अफवाह मात्रै रहेको दाबी गरे। उनले सत्ता गठबन्धन दलसँग बहुमत रहेको दाबी गर्दै त्यस्तो असंसदीय गतिविधि क्रियाकलापमा आफूहरू नलागेको बताए।

‘यो सबै अफवाह मात्रै हो, हामीसँग बहुमत छ’, उनले भने, ‘हामी असंसदीय गतिविधिमा लागेका छैनौँ।’

प्रदेशसभामा यस्तो छ अंकगणित

प्रदेशसभामा ९३ सांसदमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

मुख्यमन्त्रीलाई विश्वासको मत पाउन गठबन्धनसँग बहुमत सांसद (४७) छन्। तर उपभामुखले बैठक सञ्चालन नगरेको अवस्थामा र राप्रपा पनि बैठकमा अनुपस्थित हुँदा सत्तारुढ गठबन्धनलाई बहुमत जुटाउन समस्या हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.