|

काठमाडौँ : नेपाली फिल्म ‘गोर्खा वारियर’ लाई बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पत्रमार्फत सफलताको शुभकामना दिएका छन्।

भदौ २४ मा त्यहाँको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा विशेष प्रदर्शनी (वर्ल्ड प्रिमियर) गर्न लागिएको फिल्म हेर्न कार्यव्यस्तताको कारण उपस्थित हुन् नसके पनि गोर्खालीका विषयमा फिल्म बन्नु गौरवको विषय रहेको उनले पत्रमा उल्लेख गरेका छन्।

‘बहादुर गोर्खा सैनिकको वीरता, त्याग र समर्पणबारे बनेको फिल्मको विषयमा थाहा पाउँदा म हर्षित छु। निम्तोका लागि हार्दिक धन्यवाद। म प्रिमियर समारोहमा उपस्थित हुन असमर्थ छु। प्रिमियर सो र फिल्म सफलताको शुभकामना दिन चाहन्छु। पत्रका लागि धन्यवाद,’  प्रधानमन्त्री सुनकले पठाएको पत्रमा उल्लेख छ।

बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटका तर्फबाट अगस्ट १७ मा सांस्कृतिक मामिलामन्त्री डेनिम गोलिङलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले उक्त पत्र लेखेका हुन्।

केही समयअगाडि निर्माता तथा निर्देशक मिलन चाम्सले सांस्कृतिक मामिलामन्त्री गोलिङमार्फत प्रधानमन्त्रीलाई विशेष प्रदर्शनीमा सहभागी हुन निम्तो पठाएका थिए। बेलायतका प्रधानमन्त्रीबाट सम्बोधन भएको जानकारी दिन पाउँदा खुसी लागेको प्रतिक्रिया उनले दिए।

निर्देशक चाम्सले भने, ‘नेपाली फिल्ममा संभवत् उहाँले पहिलो पटक सम्बोधन गर्नुभएको हो। गोर्खालीको विषयमा फिल्म बनेको थाहा पाएपछि बेलायतमा हामीलाई प्राप्त भइरहेको प्रतिक्रियालाई शब्दमा व्याख्या गर्न सकिँदैन। नेपालीको विषयलाई यसअगाडि हामीले अन्तरराष्ट्रिय बजारमा यति बलियोसँग पहिले प्रस्तुत गर्न सकेका थिएनौँ।’

निर्देशक चाम्सले ‘गोर्खा वारियर’मार्फत अन्तरराष्ट्रिय बजारमा भइरहेको चर्चाले समग्र नेपाली फिल्मलाई टेवा पुग्ने विश्वास व्यक्त गरे।

‘हामीले हलिउडका फिल्मको प्रिमियर हुने फिल्म भवनमा सोही शैलीमा गर्ने प्रिमियरमा लण्डनमा नेपाली फिल्मको बारेमा चर्चा हुनेमा दुईमत छैन। अब हामीले हाम्रो वीरताको कथा भन्नुपर्छ, त्यसमा फिल्म बन्नुपर्छ,’ उनले भने।

युद्ध विधामा बनेको यस फिल्ममा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकका लडाइँ देखाइएको छ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.