|

तुलसीपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमसीसीको विरोध गर्दै शुक्रबार दाङको तुलसीपुरमा प्रदर्शन गरेको छ।

विरोध कार्यक्रममा विद्यार्थी लगायत पार्टीका नेता तथा कार्यकर्ताले ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ एमसीसी सम्झौता खारेजी गरौँ’ भन्दै नारा लगाएका थिए।

‘स्वाधीनता बेचेर समृद्धि चाहिँदैन, देश बेच्न पाइँदैन। एमसीसी चाहिँदैन’ भन्दै विरोध प्रदर्शन गरेका थिए।

सरकारले भदौ १४ गतेदेखि नेपालमा एमसीसी कार्यान्वयन गर्ने खोजको भन्दै पार्टीले यसको खारेजी गर्नुपर्ने भनेर विरोध गर्दै आएको छ। कार्यक्रममा नेपालका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज समीरले एमसीसी कार्यान्वयनका चरणमा रहेको बताउँदै एमसीसी खारेजीको माग गरे।

उनले भने, ‘हामी क्रान्ति होइन, शान्ति चाहन्छौँ। अमेरिकी साम्राज्यवाद लगायतका वैदेशिक शक्तिहरू आज नेपालमा युद्ध निम्त्याउन चाहन्छन्। नेपालका प्रतिक्रियावादी शासकहरू पनि अर्को युद्ध निम्त्याउन चाहन्छन्।’​

यसैगरी उनले नेपालमा अमेरिकी बुट बजारिए आफूहरू चुप लागेर नबस्ने समेत चेतावनी दिए। अमेरिकी साम्राज्यवादले नेपालमा पनि युद्ध निम्त्याउने कोसिस सहित नेपाल प्रवेश गर्न खोजिरहेको उनको आरोप छ।

एमसीसी अमेरिकाको सहयोग नभई लगानी भएको भन्दै उनले एमसीसीको नाममा ५५ अर्ब नेपाली पैसा आएको भन्दै त्योभन्दा एनसेलबाट कर असुली गर्न समेत आग्रह गरे।

यस्तै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक नवीन खाकाले अहिलेका शासकहरूले नेपाललाई युद्धको क्रीडास्थल बनाउन खोजेको भन्दै एमसीसी संसद्‌बाट पास गरेको आरोप लगाए।

उनले भने, ‘यसका विरुद्धमा हाम्रो पार्टी सडकमा उत्रिएको छ। एमसीसी परियोजना पास गरेर काङ्ग्रेस, एमाले माओवादी केन्द्रले ठूलो राष्ट्रघात गरेका छन्।एमसीसीको बुँदामा यस्तो लेखिएको छ। एमसीसी प्रयोजनका लागि नेपालमा चाहे हवाई मार्ग होस् वा स्थल मार्गबाट होस्। आउँदा नेपालका सुरक्षानिकायले चेकजाँच गर्न नपाउने भन्ने छ।’

यस्तै अर्को बुँदामा एमसीसी प्रयोजनका लागि अमेरिकाबाट आएका नागरिकहरूले कुनै पनि हत्याहिंसा वा बलात्कार जस्ता घटना घटाएमा नेपालको कानुनअनुसार उनीहरूलाई पक्राउ गरी कारबाही गर्न नपाइने भन्ने रहेको छ।

नेपालमा विभिन्न देशहरूले सहयोग गर्दै आइरहेको अवस्थामा अहिले एमसीसी मात्र संसद्‌बाट पारित गर्नु भनेको ‘दालमा कुछ काला है’ भन्ने जस्तो रहेको समेत उनले बताए। उनले अमेरिकाको कानुनलाई नेपालमा लागू गरेर सिरिया र युक्रेन जस्तो बनाउन लागेको समेत आरोप लगाए।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले एमसीसी सम्झौताको विरोध जनाएको छ। पार्टीले बिहीबार तुलसीपुरमा एमसीसी सम्झौता कार्यान्वयनविरुद्ध डिजिटल प्रचार गरेको थियो।

एमसीसी सम्झौता कार्यान्वयनका विरुद्ध जनतामा जागरण पैदा गर्ने उद्देश्यले तुलसीपुरको वीरेन्द्र चोकमा रहेको डिजिटल बोर्डमा खारेज गरौँ लेखिएको पोस्टर प्रचार गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.