|

दाङ : तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय दाङमा गत आर्थिक वर्षमा साढे ३० हजार बढी बिरामीले सेवा लिएका छन्। अस्पतालले सेवा सुविधा बढाउँदै ल्याएपछि सेवा लिने बिरामीहरूको क्रम बढि रहेको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी वसन्तबहादुर केसीका अनुसार विगतका वर्षहरूको तुलनामा पछिल्लो समय बिरामीहरूको संख्या बढ्दै गएको छ।

अस्पतालबाट दिइने सेवाको प्रभाव र सर्वसुलभ सेवाका कारण बिरामीहरूको संख्या बढ्दै गएको समेत उनले बताए। 

उनले भने, ‘हामीले विशेषज्ञ राम्रो सेवा प्रदान गर्दै आएका छौँ। यहाँबाट उपचार गरेर बिरामीहरू निको भएपछि उनीहरूले नै यहाँको राम्रो प्रचार गरिदिँदा बिरामीको संख्या बढ्दै गएको हो।’

 उनका अनुसार कतिपय बिरामीहरू काठमाडौंमा गएर उपचार गर्दा पनि निको नभएपछि यहाँ आएर गर्दा निको भएको समेत रहेका छन्। 

आर्थिक वर्ष २०७७-७८ मा अस्पतालबाट ७ हजार ६० जनाले विभिन्न सेवा लिएका थिए, भने आर्थिक वर्ष २०७८ र  ७९ मा ११ हजार ९०२ जनाले सेवा लिएको उनले बताए। यस्तै गत आर्थिक वर्ष २०७९ र ८० मा ३० हजार ७६८ जनाले सेवा लिएको उनले बताए।

जसमा १७ हजार ४४६ जना महिला र १३ हजार ३२२ जना पुरुष रहेका छन्। यस्तै आर्थिक वर्ष २०७७ र  ७८ मा सबै भन्दा बढी अम्लपित्तका बिरामीहरू आएका थिए।

जसमा १ हजार २७८ जना बिरामी सेवा लिन आएका थिए, भने गुद विकारका ५८२ जना, वादब्याधीको ३६१ जना, दम, रुघाखोकीका २४१ जना र अन्य विभिन्न बिरामीहरूले सेवा लिएका थिए।

यसैगरी, आर्थिक वर्ष २०७८ ÷ ७९ मा अम्लपित्तका बिरामीहरू बढी आएका थिए। जसमा १ हजार ५८५ जना आएका थिए।

यस्तै, नसाजन्य वृद्धावस्थामा लाग्ने रोगका १ हजार ३७५ जना, मलद्वारसम्बन्धी रोगमा १ हजार ३३८ जना, बादब्याधीका ९३० जना लगायत अन्य रोगका बिरामीहरूले सेवा लिएको सूचना अधिकारी भण्डारीले बताए।

 यस्तै आर्थिक  वर्ष २०७९-  ८० मा सबैभन्दा बढी बालबालिकाहरूले सवा लिएको उनले बताए। उनका अनुसार ५ हजार ६६२ जना बालबालिकाहरूले अस्पतालबाट सेवा लिएका थिए।

अस्पतालले स्वर्ण प्राशन सेवा शुरु गरेपछि बालबालिकाको संख्या बढेको समेत उनको भनाइ छ। यस्तै मलद्वार सम्बन्धी रोगका ५ हजार १५८ जना, अम्लपित्तका  ४ हजार ४३० जना, बादब्याधीका  ३ हजार ७७४ जना, जराजन्य वृद्धावस्थामा लाग्ने रोगका ३ हजार ४८७ जना, मधुमेहका ९०४ जना लगायत अन्य रोगका बिरामीहरूले सेवा लिएको समेत उनले बताए।

अस्पतालले अहिले शल्यसम्बन्धी क्षारसूत्र सेवा, पञ्चकर्म सेवा, नाक, कान घाँटीसम्बन्धी विशेषज्ञ सेवा, भिडिओ एक्सरे सेवा, अग्नि कर्म, जलौका कर्म, इमर्जेन्सी सेवा, गत आर्थिक वर्षदेखि बच्चाहरूको लागि स्वर्ण प्राशन सेवा, अन्तरंग सेवा दिँदै आएको समेत उनले बताए।

उनका अनुसार अहिले अस्पताल ३० बेडमा सञ्चालन भइरहेको छ। अस्पताललाई ५० बेडसम्म  स्तरोन्नति गर्ने प्रदेश सरकारले तयारी गरेको समेत उनको भनाइ छ।

अस्पतालले करारमा चिकित्सकहरूको व्यवस्थापन गरेर विशेषज्ञ सेवा दिँदै  आइरहेको समेत उनले बताए।  अस्पतालमा भर्ना भएका बिरामीहरूलाई निःशुल्क रुपमा दुई पटक खाना र दुई पटक नास्ता दिने गरेको समेत उनले बताए।

बेड नपुगेर भुइँमा राखेर उपचार

अस्पतालका सूचना अधिकारी केसीका अनुसार ३० बेडको मात्र अस्पताल हुँदा कहिले काहीँ अस्पतालको भुइँमा सुताएर उपचार गर्नुपर्ने बाध्यता हुन्छ। नयाँ बिरामीहरू सेवा लिन आइरहने र भर्ना भएका बिरामीहरूलाई बेड अभावका कारण समय भन्दा अगाडि नै घर पठाउनुपर्ने बाध्यता हुने गरेको समेत उनले बताए।

सर्वसुलभ रुपमा सेवा पाउँदा बिरामी खुशी

रुकुम खाराका खमनसिंह खत्री अस्पतालमा भर्ना भएको करिब २५ दिन हुन लाग्यो। उनलाई पायल्सको समस्या थियो। अस्पतालमा आएर अप्रेसन गरेपछि  अहिले ठिक हुँदै गएको भन्दै अस्पतालबाट राम्रो सेवा सुविधा पाएको समेत उनले बताए।

लामो समयदेखि उनलाई पायल्सले सताएपछि उनी उपचारको लागि भारतको सिम्ला भन्ने ठाउँमा गए। त्यहाँ उपचार गर्दा भारतीय एक लाख लाग्ने भएपछि गाउँकै  साथीले यसको उपचार दाङमा सस्तोमा हुन्छ, भनेपछि त्यहाँ उपचार नगरेर आएको समेत उनले बताए। 

उनले भने,‘ शुरुमा गाउँकै मेडिकलमा उपचार गरेँ तर, ठिक भएन। पछि  भारतको सिम्ला गएँ। त्यहाँ एक लाख आइसी लाग्ने अस्पतालले भनेपछि त्यहाँ रहेका साथीले दाङको बिजौरीमा उपचार हुन्छ, भनेपछि यहीँ आएर उपचार गरेँ। उताको भन्दा धेरै  सस्तोमा उपचार भइरहेको छ।’

 अर्का रुकुम मुसीकोट नगरपालिका ९ का कर्ण बहादुर बूढा पनि अस्पतालमा भर्ना भएको करिब २० दिन हुन लाग्यो। उनलाई पनि पायल्सको नै समस्या हो। उनको पनि अहिले अप्रेसन भइसकेको छ। उनी पनि अस्पतालबाट पाउने सेवा सुविधाका कारण खुसी भएको बताउँछन्। 

अपेक्षा गरे अनुसार सहयोग पाएनौँ : अध्यक्ष बस्नेत

अस्पताल विकास समितिका अध्यक्ष कृष्णबहादुर बस्नेतले अस्पतालले अपेक्षा गरेजति लुम्बिनी प्रदेश सरकारबाट सहयोग नपाएको बताए।

उनका अनुसार प्रदेश सरकारबाट भने जति सहयोग नपाएका कारण अस्पताल विकास समिति कोषबाट अस्पताल सञ्चालन भइरहेको छ।

 उनले भने, ‘प्रदेशका मुख्यमन्त्री, स्वास्थ्यमन्त्री, अर्थमन्त्री यही ठाउँमा हुँदा यो अस्पताललाई उहाँहरूले प्राथामिकतामा राख्नुहुन्छ, होलाजस्तो हामीहरूलाई लागेको थियो। हामीलाई डेढ करोड बजेट आवश्यक पर्छ। तर, हामीलाई ७५ लाख मात्र आएको छ। त्यो पैसाले सबै काम पूरा गर्न सकिँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.