|

दोलखा : बिगु गाउँपालिका-३ सिंगटीको खोलीखिम बजारका २२ घरपरिवारलाई स्थानान्तरण गरिएको छ। पहिरोको जोखिम उच्च भएपछि आज दोलखाको बिगु गाउँपालिका-३ सिंगटीको खोलीखिम बजारका २२ घर खाली गराइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार बजारको माथिल्लो क्षेत्रमा सडकको पहिरोसँगै ठूलो ढुंगा बस्तीमा खस्ने जोखिम बढेपछि घरहरू खाली गराइएको हो। उक्त क्षेत्रमा सवारी आवागमन पनि बन्द गराइएको छ। खोलीखिम बजार क्षेत्रका बासिन्दालाई कालिञ्चोक गाउँपालिका-३ को बजार क्षेत्रमा सारिएको छ।

ढुंगा खस्ने जोखिम बढेपछि स्थानीय बासिन्दालाई उक्त क्षेत्रमा हिँडडुल गर्न पनि रोकिएको छ। ढुंगा खसेर सिंगटी खोला थुनिने र त्यसबाट क्षतिको जोखिम अझ बढ्ने भन्दै स्थानीयमा त्रास छ। यसैबीच सोही वडाको ओलीटारमा गएको पहिरोबाट विस्थापित परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

ओलीटारमा खसेको पहिरोले ४ घरमा क्षति पुर्‍याएको थियो। बस्नै नसकिने भएपछि विस्थापितलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको हो। पहिरोले अवरुद्ध सिंगटी-लामाबगर सडक अझै खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.