|

दाङ :  बंगलाचुली गाउँपालिका ४ का दिनेश सार्कीले गत साउन ३१ गते ११ वर्षीया नातिनी अस्मिता सुनार र भदौ १ गते २७ वर्षीया छोरी  ईश्वरी सुनारलाई गुमाएका छन्।

उनीहरूले गत साउन २८ गते साँझ बंगलाचुली ४ भित्ताला जङ्गलबाट खोजेर ल्याएको जंगली च्याउ खाँदा ईश्वरी उनका ३१  वर्षीय श्रीमान  अजय र  छोरी अस्मिता बिरामी भएका थिए।

उपचारको क्रममा अस्मिता र ईश्वरीको मृत्यु भएको छ, भने ज्वाइँ अजयको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो। 

उनको ६ जनाको परिवार रहेको थियो। च्याउको तरकारी नपाक्तै सुतेका ३ जना नाबालक भने मृत्युको मुखबाट बचेका छन्।  गतवर्षको वर्षाले आफ्नो घर भत्किएपछि माइतीको छेउमा अर्काको घरमा सहारा लिएर बसेका अजयको परिवार थियो।

दिनेशले जंगली च्याउ खाएर आफ्ना नातिनी र छोरी गुमाएको भन्दै कसैलाई पनि जंगली च्याउ नखान आग्रह गरेका छन्। 

उनले जंगली च्याउ खाएर छोरी र नातिनी गुमाएको र ज्वाइँको  पनि उपचार भइरहेको भन्दै अहिले तीनजना नातिनातिनीहरूको विचल्ली भएको समेत बताए।

उनले भने, ‘ बरु नुन पिसेर खानुहोस्, तर, जङ्गलमा भेटिएका च्याउ नखानुहोस्। आज जङ्गलबाट ल्याएको च्याउ खाँदा हामीले छोरी र नातिनी गुमाएका छौँ। यी ३ जना नाबालकले आमा र दिदी गुमाएका छन्। अब कसैले पनि यसरी दु:ख नपाउनुहोस्। राम्रो च्याउ भेटाए भनेर जुन पायो, त्यही च्याउ खानु नहुने रहेछ।’ 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार गतवर्ष प्रदेशका १२ जिल्लामा जंगली च्याउ खाएर ९३ जना बिरामी परे। यो वर्ष ५९ जना बिरामी परे भने, असारयता  दाङ, रोल्पा र बाँकेका गरी ८ जनाको मृत्यु भइसकेको छ।

विभिन्न पक्षबाट विभिन्न खालका सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहँदा पनि  दूरदराजहरूमा जनचेतनाको कमीका कारण दु:खदायी तवरले यसखालको संख्या दिनानुदिन बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाउँछ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमका अनुसार प्रहरीले जंगली च्याउ नखानको लागि सचेतनामूलक सूचना जारी गरेको भएयता पनि यसको रोकथाम हुन नस्कनु दु:खद पक्ष हो।

उनले भने,‘ यस्ता घटनाहरू हुन नदिनेको लागि सबैले सचेतनामूलक कार्यक्रम गर्न जरुरी रहेको छ।’ मिठो तरकारीका रुपमा लिइने च्याउको व्यावसायिक  खेती भइरहेको छ।  खेती गरिएको च्याउसँगै वर्षाको समयमा जङ्गलमा उम्रिएका विभिन्न खाले च्याउहरू गाउँ  तथा शहरमा पनि भित्रिने गरेका छन्। जंगली च्याउ खाएर बिरामी र मृत्यु भएका घटनाहरू बाहिर आइरहँदा त्यही जङ्गलबाट ल्याएको च्याउ, विषालु हो? कि होइन कोही पनि जानकार छैनन्।

सिजनको तरकारी भन्दै दाङका बजारहरूमा ६ सयदेखि १ हजार रुपैयाँ प्रतिकिलो जंगली च्याउको बिक्री हुने गरेको छ। 

सबै सचेत हुनुपर्छ : उपप्रमुख

यस्तै, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुँमा डिसीले जङ्गलमा च्याउहरू धेरै प्रकारका पाइने भए तापनि थोरै मात्र खान मिल्ने बताइन्। जुन पायो, त्यही च्याउ खाँदा नागरिकहरू बिरामीहरू हुने र मृत्युसमेत भएको भन्दै यस विषयमा  सबै सचेत हुनुपर्ने बताइन्।

 उनले भनिन्,‘ बजारमा बिक्रीमा ल्याएर खाएको च्याउभन्दा ग्रामीण क्षेत्रमा आफैँ खोजेर जुन पायो, त्यही च्याउ खाँदा नागरिकहरू बिरामी हुने र मृत्यु हुने गरेको छ। अब यसका बारेमा सबैले सचेतना गराउन जरुरी छ। कुन च्याउ खाने कुन नखाने भन्ने बारेमा जानकारी दिनु पर्छ।’

विषालु च्याउहरू खाँदा बान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू देखा पर्ने गर्दछन्। विषालु च्याउका कारण कलेजो र मिर्गौलामा असर गर्ने  र जसले गर्दा मानिसहरको च्याउ जाने सक्ने खतरा हुने  चिकित्सकहरू बताउँछन्।

व्यवसायिक रुपमा खेती गरिएका र कृषि विज्ञबाट सिफारिस भएका बाहेकका च्याउहरू खानै नहुने उनीहरूको सुझाव छ।

बारीतिर उम्रेको च्याउ खानु खतरा हुन्छ : चिकित्सक

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डाक्टर अजय गौतमका अनुसार जङ्गल तथा बारीतिर उम्रेको च्याउ खानु हुँदैन। उनले जङ्गलबाट ल्याएका  च्याउहरूमा विष भए पनि पकाएर खाँदा केही हुँदैन, भन्ने सोचाइ हुने भएकाले विषालु च्याउ पकाउँदा  पनि विष नहराउनेसमेत बताए।

उनले भने, ‘विषालु च्याउ खाँदा तत्काल लक्षण देखिन्छ, भन्ने हुँदैन। खाएको २- ४ घण्टादेखि १०- १२ घण्टापछि पनि देखिन सक्छ। जति ढिलो लक्षण देखिन्छ। त्यो त्यति नै  कडा हुन्छ। जसले गर्दा मानिसको ज्यान जान सक्छ। त्यसैले जंगली वा घर वरपर उम्रिएको च्याउ खानु हुँदैन।’

च्याउ खानका लागि मिठो तरकारी मात्रै नभएर कतिपयमा औषधीय गुणहरू पनि हुने चिकित्सकहरूको भनाइ छ। तर, त्यही च्याउ नचिनेर खाँदा थुप्रै मानिसहरूले अकालमा ज्यान पनि गुमाइ राखेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.