सल्यान : सल्यानको लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयपछि डाक्टरबाट सेवा सुरु भएको छ। छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रले झण्डै ५ वर्षपछि डाक्टर पाएको हो।
विसं २०६४ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा नियुक्ति लिएर आएका एक जना डाक्टर पनि अध्ययन विदामा गए पछि ५ वर्षदेखि उक्त केन्द्र डाक्टरविहीन रहेको थियो।
डाक्टरसहित १० जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य केन्द्रमा छत्रेश्वरी गाउँपालिकाले डाक्टर नियुक्त गरेर सेवा प्रदान गरेको गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले जानकारी दिए। संघीय सरकारसँग अनुमति लिई आवश्यक सबै प्रक्रिया गरेर डाक्टरको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष बुढाथोकीको भनाई छ।
छत्रेश्वरी, गाउँपालिकासँगै शारदा नगरपालिकाका केही वडाका नागरिकलाई समेत उपचार सुविधा दिन लेखपोखरामा स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयहरुलाई खलंगा, श्रीनगर, लुहाम तथा दाङ पुग्नुपर्ने बाध्यता थियो। अब भने गाउँमै डाक्टरसहितको स्वास्थ्य सेवा सुरु भएपछि विभिन्न रोगको परीक्षण र उपचार पाइने अपेक्षा गरिएको स्थानीय रेमन्त पुनले बताए।
मेडिकल अधिकृत डाक्टर निशा आचार्यले प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा आफू लामो समयसम्म सेवा गर्ने प्रतिबद्धता जनाए। ‘डाक्टर छिटो जाला भनेर स्थानीयहरु आत्तिनु पर्दैन,’ उनले भनिन्‚ ‘तर केही चुनौतीहरु छन्, पहिले यहाँ डाक्टर किन टिकेनन् भन्ने पनि बुझ्नुपर्छ।’
प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा हाल मुख्य रुपमा ल्याबको समस्या रहेको जनाउँदै कतिपय मेसिनहरु भएको तर संचालन हुन नसकेको उनले बताइन्।
उनले भनिन्‚ ‘आधारभूत जाँचहरु दिसापिसाब, रगतको जाँच, एक्सरे सेवा नहुँदा उपचारमा समस्या हुन्छ। सबै औषधि पनि उपलब्ध छैनन्।’
छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संयोजक केशरी भट्टराईका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टर, एक जना स्टाफ नर्स, एक जना एचए, ३ जना अहेब, ३ जना अनमी र एक जना ल्याब असिस्टेन्टको दरबन्दी छ।
स्वास्थ्य केन्द्रमा आएका डाक्टर हेमराज शर्मा २०७५ भदौमा अध्ययन विदामा गएपछि डाक्टरबिनै स्वास्थ्य संस्था सञ्चालन हुँदै आएको थियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।