|

विराटनगर :  ‘अब मात्र ७ जनाको निशुल्क कक्षाको लागि सिट खाली’ कक्षाकोठामा विद्यार्थीहरूको साथमा खिचिएको तस्वीर क्याप्सनसहित सीताराम नेपालको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको थियो। सोही क्याप्सन र तस्वीरका आधारमा प्रश्न सामाजिक सञ्जाल म्यासेन्जर मार्फत सोध्न पुगियो।

उनले सहजै  सोधेको प्रश्नको जवाफ म्यासेन्जर मार्फत नै व्यक्त गरे।  संखुवासभा  जिल्ला धर्मदेवी– ५ का सीताराम पेसाले शिक्षक रहेछन्।   खाँदबारी नगरपालिका  ७ नयाँ बजारमा रहेको अरुण भ्याल्ली पब्लिक  स्कुलमा  ४ वर्षदेखि अध्यापन गराउदै आइरहेको  उनले बताए। अहिले उनी बिहानको समय कक्षा १० का विद्यार्थीहरूलाई निशुल्क गणित र विज्ञानको ट्युन पढाउदै आइरहेका छन्। एसइइका विद्यार्थीलाई लक्षित गरेर निशुल्क ट्युसन पढाउदै आएका उनले  परिक्षाका समय गणित विषयमा कम अंक ल्याउने र फेल हुने समस्यालाई समाधान गर्ने मुख्य उद्देय रहेको बताए।

‘कतिपय विपन्न परिवारका बच्चाहरू पैसा तिरेर कोचिङ कक्षा पढ्न पाएका हुँदैनन्, कुनै विद्यार्थी गणितमा कमजोर हुन्छन् अथवा भनौँ  फेल हुन्छन्’, उनले भने,‘त्यही समस्यालाइ समाधान गर्ने बिकल्पको रुपमा यो अभियान सुरू गरेको हो।’

आफ्नो पेसागत जिम्मेवारी निभाए बापतबाट आएको रकम (तलब)ले जीवन धानिरहेको बताउँदै उनले  जीवन पैसाले चल्ने भन्दा पनि  आत्मसन्तुष्टि र खुसी भए जीवन रमाइलो हुने सुनाउँछन्।

त्यसो त उनी थुप्रै वर्ष सुनौलो भविष्यको खोजिमा वैदेशिक रोजगारीका लागि साउदी, कतार  नगएका पनि होइनन्।

अर्काको देशमा पसिना बेचेर आफ्नो भविष्य स्वर्णिम बनाउने सपनाका चाङ लिएर विदेश पुगेका उनी अर्कोको देशमा असहज परिस्थितिले बाँचेका नेपालीलाई खुलेर आर्थिक, नैतिक साथ  दिएका थुप्रै किस्साहरू छन् उनीसँग।

‘म  विदेश बस्दा  एन आर एन ए को वरिष्ठ उपाध्यक्ष हुँदा आफ्नो तलब सकिएको थाहा नपाइ थुप्रैलाई सहयोग गरेको छु’, उनले भने,‘अहिले विपन्न बच्चालाई पढाउन पाउदा मन सन्तुष्ट भएको छ।’ वैदेशिक रोजगारी जान अगाडि पनि उनी शिक्षक पेसामा नै आवद्ध थिए। विदेशबाट फर्किएपछि पनि  शिक्षक पेसा नै रोजको उनले सुनाए। उनले  जीवनको उर्जाशिल उमेर कहिले शिक्षक भएर त कहिले विदेशी माटोमा श्रम गरेर बिताए। 

करिब  २ दशक बढी शिक्षण पेसामा आवद्ध भएका उनी सरकारी स्कुल कहिल्यै नपढाएको बताउँछन्। उनी भन्छन्,‘ मैले करिब २४ वर्ष जति काठमाडौं, झापा, विराटनगर लगायत नेपालका विभिन्न स्थानमा पुगेर शिक्षक भएर काम गरे अहिले आफ्नै जिल्लामा केही गरौँ भन्ने सोचले यतै काम सुरु गरेको छु।’

अहिले उनीसँग खाँदबारिको मंगलादेवी मावि तिनपोखरी,बागेस्वरी मावि. ढुङ्गेधारा, सरस्वती मावि. माल्टाका लगायतका विद्यार्थीहरू ५० जना निशुल्क ट्युसन पढ्न आउने गरेको उनले बताए।  संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा सोही जिल्लाका विभिन्न स्थानबाट मात्रै नभएर भोजपुर जिल्लाबाट पनि अध्यनका लागि आउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.