|

विराटनगर : पछिल्लो समय लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामालाई सरकारले नियुक्त गरेको भन्दै नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती विवादमा तानिएका थिए।

साउन १६ गते लामालाई मन्त्रिपरिषद् बैठकबाट कोषको उपाध्यक्ष नियुक्त गरिएको थियो। सत्तारुढ माओवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका लामा पर्यटनमन्त्री किराँतीको प्रस्तावमा उपाध्यक्ष नियुक्त भएका थिए।

यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको काण्डमा मुछिएका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका कृष्णबहादुर महराको नाम जोडिए पनि मुद्दा चलाइएको छैन। महराका छोरा राहुल महरा भने भदौ १३ गते बुधबार पक्राउ परिसकेका छन्।

अनुसन्धानका क्रममा पूर्वसभामुख महराको नाम मुछिए पनि अझै पक्राउ गर्न नसकिएको र सरकारले महरालाई जोगाउन खोजेको आरोप लागिरहेको छ। यस्तै विविध विषयमा रहेर मन्त्री किराँतीसँग विराटनगरमा आज (आइतबार) थाहाखबरले गरेको कुराकानी।

ल्यारक्याल लामालाई लुम्बिनी विकास बोर्डको उपाध्यक्षमा नियुक्त गर्दा विवादमा तानिनुभयो। यसलाई कसरी लिनुभएको छ ?

संवैधानिक निकायले दोषी प्रमाणित गर्न नसकेपछि मान्छे सधैँ अभियुक्त रहँदैन। उहाँ त बौद्धदर्शनमा पिएचडी गरेको मान्छे, बुद्धिस्ट समुदायको अन्तरराष्ट्रिय महासचिव जस्तो मान्छे, संविधानसभाको दुईपटक सदस्य भएको मान्छे, राज्यमन्त्री भइसक्नुभएको हो। यसमा पनि हाम्रो पार्टीको केन्द्रीय सदस्य भएको मान्छे। नियुक्ति गरेर जायज गरेको हो, अहिले विस्तारै कुरा खुल्दै गरेको हो। मान्छे विवादित होइन, बनाइएको हो। 

कसैले विवादित बनाएर हुन्छ र ?
विरोध गरेर मात्रै आफू राम्रो भइन्छ भन्ने नेपाली संस्कृति छ तर मुख्य जिम्मेवारी यसमा राजनीतिक शक्तिहरू हुन्। हामीलाई अहिलेसम्म विरोध गर्न सिकाइयो। अर्काको ढडनसो छिनाएर आफू अग्लो सावित हुने हाम्रो प्रवृत्ति चलिरहेको छ।​


सुशासनको कुरा गर्नुहुन्छ, तर बलात्कारका घटनामा अहिलेसम्म न्याय मिलेको छैन, भ्रष्टाचारको कुरामा शीर्ष नेताहरू मुछिएका छन्। यसले सामाजिक न्याय सुशासन र भ्रष्टाचार न्यूनीकरणको विषयमा प्रश्न उठ्छ नि होइन ? 
पृथ्वीनारायण शाहले भ्रष्टाचार गर्ने शत्रु हो भनेपछि त्यहाँदेखि कुनचाहिँ यो तहसम्मको कारबाही भएको थियो। एउटा उदाहरण दिन सक्नुहुन्छ ?

यसैमा चित्त बुझाउने हो त ?
चित्त बुझाउने होइन, प्रधानमन्त्रीले नै अनुसन्धान गर्दै जाँदा भ्रष्टाचारमा आफू जोडिए पनि नछोड्नु भन्नुभएको छ। भ्रष्टाचारीलाई छोड्ने होइन। राज्यको एउटा निकायले छानबिन गर्दा दूधको दूध पानीको पानी व्यावसायिक ढंगले छानबिन गर्नुपर्‍यो। हल्लाको भरमा पछि लागेर भएन, निर्दोष नपरोस्।

पूर्वसभामुख कृष्णबहादुर महराको प्रसंगमा त ढाकछोप भएजस्तो देखिएन ?
अनुसन्धान भइरहेको छ। अहिले छोरा अनुसन्धानको दायरामा आउनुभएको छ, अनुसन्धान जारी छ। हाम्रो पार्टीको महरा मात्रै होइन प्रधानमन्त्री नै आए पनि कारबाही हुन्छ, नछोड्ने भन्ने त हाम्रो प्रतिबद्धता नै छ।

अब वाइड बडी कुरा गरौँ, यसको फाइल कहिले खुल्छ ?
मैले खोल्ने होइन, यो त अदालतले खोल्ने हो। अदालतको विषय हो।

तपाईंहरूले रोक्नुभएको छ भन्ने छ नि ?
अख्तियारको विषय भइसकेको छ। मन्त्रीले खोल्दैन नि, त्यो त संवैधानिक निकायले खोल्छ। त्यस कारणले ठूलो केस अदालत र अख्तियारको मुद्दा बनिसकेको छ।

पोखरा र भैरहवा सञ्चालनमा आएको छैन‚ अन्तरराष्ट्रिय विमानस्थलबाट कहिले सुरु हुन्छ ?
हामी आएपछि सुरु भएको छ। त्यो ठाउँबाट पनि व्यावसायिक रूपले जहाजहरू उडान हुँदोरहेछ भन्ने प्रमाणित भयो त। चीनका विभिन्न शहरबाट चार्टर फ्लाइट सुरु गरेका छौँ। खोटाङबाट पोखरा चाँडै आउँदै छ। अर्को चाँडै नेपाल एअर लाइन्सबाट राष्ट्रिय दायित्व कोलम्बोको बाटो भैरहवा, भैरहवाबाट काठमाडौँ, काठमाडौँबाट हङकङ लगायतको स्थानमा उडान सुरु गरिसकेका छौँ। यो दुईवटा विमानस्थल धेरै खर्चमा बनाएका छौँ। यसको के कति व्यावसायिक अध्ययन अनुसन्धान थियो मभन्दा अगाडिका मन्त्रीहरूलाई थाहा होला तैपनि म उत्तराधिकारी भएकाले त्यसलाई सञ्चालन गर्नुपर्छ। सञ्चालन गर्ने सन्दर्भमा हाम्रो लेभलमा कूटनीतिक पहल भइरहेको छ। भारत र चीन भ्रमणमा जाँदा पनि संवैधानिक प्रधानमन्त्री छलफल भइरहेको छ। व्यावसायिक परिणाम लिनुपर्छ भन्ने हो। छिटै हामी नागरिक उड्डयन प्राधिकरणमा निर्णय गरेर मन्त्रालयमार्फत क्याबिनेटमा लग्ने हाम्रो तयारी छ।

अन्तरप्रदेश उडान विराटनगरबाट पोखरामा सुरु भए पनि सञ्चालन हुन सकेन। अन्तरप्रदेश उडानमा के समस्या छ ?
हामीसँग सरकारी जहाज नभएकाले अन्तरप्रदेश उडान हुन सकेन। सरकारी जहाज नभएकाले बजारमा हामीले हस्तक्षेप बढाउन सकिएन। एउटा प्रमुख कारण त्यो हो। हामीले निजी क्षेत्रका जहाजलाई पनि मिलाएर लानुपर्ने हुन्छ। उहाँहरू घाटा पर्नुभयो होला, जान मान्नु भएन। अर्को विषय जति पनि एअरपोर्ट खाली छन् अहिले हाम्रा २२ वटा एअरपोर्ट खाली छन्, त्यो दुर्गम क्षेत्रको एअरपोर्ट हुन्। कतिपय बन्द नै भइसके। यस्तो एअरपोर्ट व्यावसायिक रूपले सञ्चालन गर्न हामी जहाज किन्दै छौँ। व्यावसायिक रूपले नाफा हुँदैन राष्ट्रिय ध्वजावाहकको सामाजिक उत्तरदायित्व मात्रै हो। एउटा जहाज वर्षौंदेखि ग्राउण्डेड भएको रहेछ, त्यो पनि एक महिनाभित्र बन्दै छ। हामीसँग तीनवटा हुन्छ र दुर्गम जाने जहाज किन्ने हाम्रो अन्तिम तयारी हुँदै छ। हामीले ४ अर्ब ऋण तिरिसकेका छौँ, जुन वर्षौंदेखि तिर्न सकेको थिएन। तीनवटा जहाज किन्ने क्षमता भएको छ। त्यसो हुँदा व्यावसायिक उडान पहाडी जिल्लामा यसरी हामी गर्छौं।

माओवादीले सामाजिक सद्भाव बिथोल्ने काम गरेको भन्ने आरोप छ नि ?
आफ्नो संस्कृति लागू गर्दा आफ्नो संस्कृतिको आधारमा आफूले गतिविधि गर्दा अर्काको संस्कृतिमाथि आघात पुर्‍याउन हुँदैन। हामीले त लोकतन्त्रको कुरा गरेका हौँ नि सामाजिक न्याय र सम्मानको कुरा हो नि, जातीय साम्प्रदायिक कुरा गरेका होइनौँ। जातीय साम्प्रदायिक कुरा नेपाली जनताले अस्वीकार गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.