दबाबले टिक्दैनन् प्रशासकीय अधिकृत

|

जुम्ला : जुम्लाको गुठिचौर गाउँपालिका एक वर्षदेखि विवादको केन्द्र बनेको छ। विवाद बढेपछि अहिले घटना सर्वाेच्चसम्म पुगेको छ। गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) ले आफूलाई प्रहरीको हिरातमा राखेर बजेट पास गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेकी हुन्।

उनका अनुसार जुम्लाको गुठिचौर गाउँपालिकाको यही चालु आवको बजेट जुम्ला बजारमा रहेको होटल पौवामा बाँडफाँड भएको थियो। उनले भनिन्, ‘गत असार २९ गते राती होटल पौवामा आएर बजेट बाँडफाड गरेको कुरा जानकारी पाएँ, अध्यक्ष दानबहादुर बुढालाई बुझ्न खोज्दा उल्टै म सरकार प्रमुख हुँ भन्दै धम्काएका थिए।’

त्यसपछि ३१ गते दिउँसो बजेट पास गर्ने भन्दै कार्यपालिका बैठक राखिएको थियो। ‘मैले बजेटको सिलिङ माग्दा अध्यक्षले उल्टै जथाभावी बोलेर आफूमाथि हातपात भएको भन्दै प्रहरी लगाएर थुनियो। त्यही ३१ गते राती ११ बजे मलाइ हिरासतमा राखेर बहुमतले बजेट पारित गरियो।’

त्यही कारण आफ्नो अधिकार हनन् गरिएको भनेर सर्वाेच्चमा मुद्दा दर्ता गरेको उनले बताइन्। उनले अध्यक्ष दानबहादुरले झुटो आरोप लगाएर अभद्र व्यवहारको मुद्दा लगाएको बताइन्। बजेट पास गर्ने दिन अध्यक्षकाे उजुरीपछि उनी हिरासतमा परेकी थिइन्।

उपाध्यक्षलाई थुनेर होटलमा बसेर ल्याइएको पालिकाको बजेट अमान्य भएको उनी बताउँछिन्। गत असार १० गते नीति तथा कार्यक्रमसहितको डल्लो बजेट ल्याइएको थियो। त्यसपछि बजेट पारित गर्ने विषयमा गाउँ कार्यपालिकामा कुनै पनि  छलफल नभएको उनले बताइन्।

स्थानीय तह सञ्चालन ऐन मै उपाध्यक्षलाई राजश्व परामर्श समिति, न्यायिक समितको संयोजक, बजेट  ल्याउन पाउने अधिकार दिइएको छ। ‘तर मलाई बन्धक बनाएर ल्याएको बजेट गैरकानुनी हो। अध्यक्ष दानबहादुर बुढासँग मेरो व्यक्तिगत लेनदेन केही छैन। तर मेरो अधिकार मिचेर ल्याइएको बजेट स्वीकार्य छैन’, उनले भनिन्।

त्यसैले आफूले आफ्नो मात्रै नभइ मलाइ निर्वाचित गराउने गुठिचौरबासीको न्यायको निम्ति सर्वोच्च अदालतमा उत्प्रेषणसमेतको आदेश जारी गरी पाउँ भनी मुद्दा दायर गरेको उनले बताइन्। 

उनले रिटमा पालिकाको सबै शाखाको खर्च माग्दा अध्यक्ष दानबहादुर बुढाले धम्कीपूर्ण भाषा बोलेर खर्च नदेखाउने बताएका उल्लेख गरेकी छिन्। उनले धेरै मात्रामा होटल र गाडीमा हालेको तेलको बील पालिकामा आएको, त्यसको लेखाजोखा खोज्दा धम्क्याउने गरेका, आफूलाई थुनेर बजेट ल्याएका कारणले सर्वोच्चमा मुद्दा हालेकी बताइन्।

गुठिचौरका अध्यक्ष दानबहादुर बुढाले उपाध्यक्षलाई बन्धक बनाएर बजेट ल्याइएको भन्ने विषय गलत भएको बताए। उनले बजेट पास गर्ने दिन आसर ३१ गते आफूलाई हातपात गरेकाले उजुरीका आधारमा प्रहरीले थुनेको बताए।

उपाध्यक्षले सर्वोच्चमा प्रतिशोधका आधारमा मुद्दा दायर गरेको अध्यक्ष बुढा बताउँछन्। सर्वोच्च अदालतले भदौ २८ मा उनीहरुलाई छलफलका लागि बोलाएको छ। 

टिक्दैनन् प्रशासकीय अधिकृत 

पछिलो १६ महिनामा पालिकामा पाँच वटा प्रमुख प्रशासकीय अधिकृत फेरबदल भए। कोही पनि प्रमुख प्रशासकीय अधिकृत लामो समय बस्न सकेनन्, अथवा गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले राख्न चाहेनन्। तर लामो समयसम्म कोही प्रमुख प्रशासकीय अधिकृत बसेनन्। 

पालिकामा कहिले स्वयमसेवक शिक्षक भर्ना गर्ने विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतसँग पालिका अध्यक्ष दानबहादुर बुढाको विवाद भयो त कहिले बजेट खर्चका विषयमा। 

सरुवा भए जाने सबै प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्ष बुढाले जनताको काम नगरेको आरोप लागाउने गरेका छन्। उनले फोनको भरमा मौखिम राखिएका १४ जना शिक्षकलाई प्रदेश र संघबाट पालिकामा आएको बजेटमार्फत तलब खुवाउन दबाद दिँदा आफूहरुले नमानेको सरुवा भएका प्रशासकीय अधिकृत बताउँछन्। 

पालिकाको आफ्नो अन्तरिक स्रोत र राजश्वबाट उठेको पैसाले शिक्षक राख्न पाउने कानुनी व्यवस्था छ। तर पालिकाको आन्तरिक स्रोत नभएकाले प्रदेश र संघबाट आएको बजेटले मनोमानी तरिकाले राखेका शिक्षकलाई तलब खुवाउन प्रमुख प्रशासकीय अधिकृतलाई पालिका अध्यक्षसहितका केही जनप्रतिनिधिले दबाब दिने गरेका बताइएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.