|

काठमाडौं : पछिल्लो समय मानिसहरूको अल्पायुमै मृत्यु हुने एउटा कारण बनेको छ, हृदयघात अर्थात् हार्ट अट्याक।​​ युवा मात्रै होइन उमेर पुगेकाहरूमा पनि आकस्मिक मृत्युको कारण प्रायः हृदयघात भएको देखिन्छ। 

​​सामान्यतया उच्च रक्तचाप र मधुमेहको समस्या देखिएका बिरामीलाई हृदयघातको सम्भावना बढी हुन्छ। पछिल्लो समय हृदयघातको जोखिमभन्दा बाहिर रहेका भनिएका व्यक्तिमा पनि हृदयघात भएको चिकित्सकहरू बताउँछन्।

सामान्यतया उच्च रक्तचाप, मधुमेह र कोलेस्टोरोल भएका बिरामीलाई हृदयघातको उच्च जोखिम मानिए पनि हृदयघात जुनसुकै वेला र जस्तोसुकै मानिसलाई हुनसक्ने बताउँछन्‚ वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमी।

सुगर, प्रेसर र उच्च कोलेस्टोरोल भएकालाई हृदयघातको उच्च जोखिम मानिए पनि हृदयघात जुनसुकै वेला स्वस्थ मानिसलाई पनि हुनसक्ने तर मुख्य कुरा हृदयघात हुनेबित्तिकै एक तिहाइ बिरामी समयमै अस्पताल नपुग्ने डा. सायमीको भनाइ छ।

‘हृदयघात जुनसुकै वेला स्वस्थ मानिसलाई पनि हुनसक्छ तर मुख्य कुरा के हो भने हृदयघातको लक्षण देखिनासाथ समयमै अस्पताल पुगे ९० प्रतिशलाई बचाउन सकिन्छ’, डा सायमीले भने‚ ‘हृदयघात भएर समयमै अस्पताल पुर्‍याउन सकिए एन्जियोप्लाष्टी तथा एन्जियोग्राम गरेर बेलैमा उपचार गरी बिरामीलाई  बचाउन सकिन्छ तर हृदयघात भएकामध्ये एक तिहाइ विरामी समयमा नै अस्पताल पुग्दैनन् जसले गर्दा हृदयघातबाट मृत्यु हुन पुग्छ।‘

कुनै पनि रोगको लक्षण नदेखिएका वेला पनि कहिलेकाहीँ मुटुको चाल अचानक बन्द भई आकस्मिक हृदयघात हुने सम्भावना हुन्छ तर उच्च रक्तचाप, मधुमेह र कोलेस्टोरोल, मुटुको चाल गडबड सम्बन्धी समस्या भएकालाई उच्च जोखिम समूहमा राखिन्छ। त्यसैले उच्च रक्तचाप, मधुमेह र कोलेस्टोरोल‚ मुटुको चाल गडबड सम्बन्धी समस्या भोगिरहेकाले हृदयघात हुने वेला छाती दुख्ने, जीउ भारी हुने  जस्ता लक्षण देखिए विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

तर आकस्मिक हृदयघात हुनेहरूलाई त्यस्तो केही लक्षण नदेखिइकन अचानक मुटुको चालमा गडबड भई बन्द भएर (सडेन डेथ) मृत्यु हुन सक्ने डा. सायमीको भनाइ छ।

‘हृदयघातको जोखिम जुनसुकै वेला स्वस्थ मानिसलाई पनि हुनसक्छ तर उच्च रक्तचाप, मधुमेह र कोलेस्टोरोल मुटुको चाल गडबडको समस्या भएकाहरूलाई उच्च जोखिम समूहमा राखिन्छ। छाती दुख्ने, जीउ भारी हुने तथा मुटुको चाल गडबड भएको महसुस भएमा समयमै अस्पताल पुग्नुपर्छ। यदि समयमै अस्पताल पुग्न सकियो भने बिरामीलाई उपचार गरेर सामान्य जीवनमा फर्काउन सकिन्छ'‚ डा. सायमीले भने।

युवावस्थामा हृदयघात हुनुको मुख्य कारण वंशाणुगत हो। कहिलेकाहीँ रक्तनलीको खराबी‚ मोटोपना, अनावश्यक तनाव, विलासी जीवनशैली पनि युवावस्थामा हृदयघात हुने मुख्य कारण रहेको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.