|

दाङ : तुलसीपुर-१८ की कौशिला रावतले बारीमा घरका लागि तरकारी खेती गरेकी छन्। किराले सबै बोट सुक्दै गए र फल पनि कुहिए। उनले लगाएको तरकारीमा कुन रोग लागेको हो ? थाहा छैन। पहिलेको तुलनामा पछिल्लो समय विभिन्न किसिमका रोग तथा कीरा तरकारी खेतीमा देखिने गरेको उनको भनाइ छ।

उनले भनिन्, ‘बारीमा लगाएका बोरीका बोट सबै सुके। फर्सी पनि फलेका छन् तर सबै कुहिए। कुन रोग लागेको हो ? थाहा छैन। पहिलो यस्तो रोग देखिँदैनथ्यो।’ यस्तै उनले अहिलेसम्म आफूले कुनै विषादी प्रयोग नगर्ने भए पनि बुहारीहरूले प्रयोग गर्ने गरेको बताइन्।

पछिल्लो समय कुनै पनि बस्तु उत्पादन गर्न रासायनिक मल र विषादीको प्रयोग अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ। यसरी प्रयोग गर्दा मानव स्वास्थ्य र वातावरणमा पुग्ने असरबारे किसानलाई थाहा छैन। किसानलाई रासायनिक मल र विषादीको असरको जानकारी दिँदै तुलसीपुरमा रहेको पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्र दाङले तुलसीपुर उपमहानगर स्तरीय अर्गानिक झोल मल र विषादी बनाउन तालिम दिएको छ।

तीनदिने तालिममा करिब ४० जना महिला किसान सहभागी थिए। तालिममा सहभागी किसान मीना घोडासैनी बजारको विषादीले मानव स्वास्थ्यसँगै वातावरणमा असर गर्न र अर्गानिक विषादीले स्वास्थ्यमा पनि फाइदा पुग्ने र कम खर्चमा बनाउन सकिने कुरा थाहा पाएको बताइन्।

उनले भनिन्, ‘तरकारीमा रोग लागेपछि हामीले बजारबाट औषधि ल्याएर छर्कन्थ्यौँ तर त्यसले गर्ने असरबारे थाहा भएन। कीरा मार्न हाम्रै घरआँगनमा अर्गानिक औषधि रहेछ। आज तालिममा आएर थाहा भयो।’

यस्तै उनले रासायनिक मल किन्नुभन्दा पनि अर्गानिक बनाउन कम खर्च लाग्ने र माटोलाई पनि फाइदा हुने भएकाले अब अर्गानिक मल नै प्रयोग गर्ने उनको भनाइ छ। पछिल्लो समय गाईबस्तु पाल्न छोड्दा सबैले रासायनिक मल खेतीपातीमा प्रयोग गर्दै आएको भन्दै उनले अब आफू र वातावरणलाई स्वच्छ राख्न अर्गानिक खेतीपाती गर्नुपर्ने बताए।

यसैगरी तुलसीपुर-१८ की अमृता चौधरीले तरकारी खेती गर्दै आएकी छन्। तरकारी खेतीमा विभिन्न रोग लागेपछि बजारबाट विषादी ल्याएर प्रयोग गर्ने गर्थिन्। त्यो विषादीले आफूलाई कति नोक्सान गर्छ भन्ने थाहा नभएको भन्दै तालिम लिएपछि मानिसको स्वास्थ्यसँगै वातावरणमा असर गर्ने थाहा पाएको बताइन्।

उनले आफ्नै ठाउँमा रहेका बोटबिरुवा तथा जडिबुटीबाट अर्गानिक विषादी र मल बनाउ सकिने थाहा पाएको भन्दै अब अर्गानिक नै प्रयोग गर्ने बताइन्। उनले भनिन्, ‘खेतीपाती गर्दा रासायनिक मल प्रयोग नगरेमा धेरै फल्दैन। रोगले पनि त्यतिकै सताएको हुन्छ। बजारमा औषधि ल्यायो हाल्यो। अनि आफूले पनि खायो, बजारमा लगेर तरकारी बेच्यो। हेर्दा राम्रो देखिने भए पनि विषादीले के असर गर्छ भन्ने थाहा थिएन, अब अर्गानिक मल र औषधि प्रयोग गरिन्छ।’​

अर्गानिक मल र विषादीले मानव स्वास्थ्य, वातावरणसँगै बोट बिरुवालाई फाइदा हुन्छ।

प्रशिक्षक कृषि ज्ञानकेन्द्र दाङका बाली संरक्षण फिटुमान चौधरीका अनुसार अर्गानिक मल तथा विषादीले मानव स्वास्थ्यमा र वातावरण टेवा पुर्‍याउने र कीराहरू मार्ने, बोटबिरुवालाई चाहिने भिटामिन पनि दिने र उत्पादन भएको तरकारी पनि मिठो हुन्छ। पछिल्लो समय कृषिमा कीराहरू विषादि पचाउँदै शक्तिशाली बन्दै गइरहेको भन्दै उनले तिनीहरूलाई मार्न गाउँघरमा खेर गइरहेको वनस्पतिबाट विषादी बनाएर प्रयोग गर्नुपर्ने बताए।

उनले भने, ‘अर्गानिक विषादी बनाउन पिरो, अमिलो, टर्रो लगायतका झारपात प्रयोग गर्नुपर्छ। त्यसमा अदुवा, टिमुर, ब्याज, खुर्सानी, लसुन जस्ता बस्तु प्रयोग गरेर बनाउन सकिन्छ। यो विषादीले केही कीरा मार्छ भने केही कीराहरू बोट बिरुवामा आउन सक्दैन।’

यसैगरी उनले जनसंख्या वृद्धि हुँदै गएको र जग्गा कमी हुँदै गएको अवस्थामा थोरै ठाउँमा धेरै उत्पादन गर्न आवश्यकभन्दा बढी रासायनिक मल तथा विषादी प्रयोग गर्ने गर्दा मानव स्वास्थ्यसँगै वातावरणमा पनि असर पुग्दै गएको उल्लेख गरे।

यस्तै उनले स्थानीय सरकारले यस्ता तालिम गाउँगाउँमा दिएर जनतालाई अर्गानिक मल र विषादीको बारेमा जानकारी दिनुपर्ने समेत बताए। उनका अनुसार बालीमा कुन रोग लागेको हो ? कुन औषधि प्रयोग गर्ने भन्दा पनि सिधै बजार गएर औषधि र ट्याङ्की ल्याएर औषधि छर्कदा नै मुख्य चुनौती रहेको छ।

उनले भने, ‘त्यस्ता विषादी प्रयोग गर्दा क्षणिक रूपमा फाइदा पुगेको हुन्छ तर त्यो विषका कारण वातावरण र मानव स्वास्थ्यमा दीर्घकालीन असर पुग्छ। यसका बारेमा पनि जनचेतना दिन आवश्यक छ।’

अर्गानिक विषादी गर्मीमा २ हप्ता र जाडोमा ४५ दिनमा तयार हुन्छ।

चौधरीका अनुसार घरमा बनाएको अर्गानिक विषादी त्यसमा राखेको बस्तुअनुसार तयार हुन्छ। यस्तै सबै बस्तु मिलाएर राखेको खण्डमा त्यसमा तापक्रमण पनि पुगेको छ भने २ हप्तादेखि प्रयोग गर्न मिल्ने उनको भनाइ छ। यसैगरी जाडो समयमा ती सबै बस्तु गल्न समय लाग्ने भएकाले बढीमा ४५ दिनमा तयार हुने समेत उनले बताए। यस्तै तयार भएको विषादी बोट बिरुवामा सिधै प्रयोग गर्न मिल्ने समेत उनको भनाइ छ।

रासायनिक मलले माटोको शक्ति हराउँदै, विषादीले मानव र वातावरण असर पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार जिल्लामा सिँचाइ पानी पर्याप्त नहुँदा रासायनिक मलको अत्यधिक प्रयोग गर्नाले माटोमा हुने चिसोपन हराउँदै जाँदा माटो सुक्खा हुँदै गइरहेको बताए।

यस्तै रासायनिक विषादी प्रयोग गर्दै जाँदा कृषिका लागि आवश्यक जीव र चराचुरुङ्गी नष्ट हुँदै गइरहेको अवस्थामा भावी दिनमा जिल्ला सुक्खा मरुभूमि बन्ने खतरा भएको हुँदा संस्थाले अर्गानिक मल र विषादी बनाई प्रयोग गर्न किसानहरूलाई तालिम दिएको बताए।

उनका अनुसार पहिलो चरणमा तुलसीपुरमा दिएको र अबको केही समय पनि पश्चिम दाङका विभिन्न गाउँपालिकाका किसानहरूलाई तालिम दिइने लक्ष्य रहेको छ। यस्तै उनले अब आम नागरिक अर्गानिक खेतीतिर जानुपर्ने भन्दै यसमा स्थानीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.