|

काठमाडौँ : एशिया कप क्रिकेटको उपाधिका लागि भोलि आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली समयअनुसार भोलि दिउँसो सवा ३ बजे श्रीलंकाको प्रेमदासा रंगशालामा हुने फाइनल खेलमा दुबै टोली उपाधि उचाल्ने मनस्थितिमा रहेका छन्।

भारत र श्रीलंकाबीच उपाधिका लागि पहिलोपटक भिडन्त हुन लागेको हैन। यसअघि सात पटकसम्म उपाधिका लागि भिडिसकेका यी दुबै टोलीबीच आइतबार आठौँपटक उपाधि भिडन्त हुन लागेको हो। यसअघि भएका सात खेलमध्ये भारतले चारपटक उपाधि उचाल्दा श्रीलंकाले तीनपटक मात्रै उपाधि उचालेको छ।

यसपटक भारत र पाकिस्तानले नै फाइनल खेल्न सक्ने अड्कलबाजीका बीच सुपर–४ मा पाकिस्तानलाई हराउँदै श्रीलंकाले फाइनलमा पुग्न सफल भयो। सुपर चारको खेलमा श्रीलंकालाई ४१ रनले हराउँदै भारत एक खेलअगावै एशिया कपको फाइनलमा पुगेको हो। अहिलेसम्म अपराजित भारत सुपर चारको अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग ६ रनले पराजय हुन पुगेको थियो।

यही हारका कारण भारत एकदिवसीय अन्तरराष्ट्रिय वरीयताको शीर्ष स्थानमा पुग्न समेत असफल भयो। एशिया कपको सुरुवातमा शीर्ष स्थानमा रहेको पाकिस्तानको वरीयता खस्कदै दोस्रो स्थानमा आइपुगेको छ भने भारत तेस्रो स्थानमा यथावत् छ। शीर्ष स्थानमा अष्ट्रेलियाले कब्जा जमाएको छ। सन् १९८८ मा भएको फाइनलमा भारत विजयी भएको थियो। त्यसपछि सन् १९९१ तथा १९८५ मा पनि भारतले नै उपाधि हात पार्‍यो।

त्यसपछिका तीन खेलमा लगातार श्रीलंकाले भारतबाट उपाधि खोस्न सफल भयो। श्रीलंकाले १९९७, २००४ र सन् २००८ मा भारतविरुद्ध लगातार तीन फाइनल जितेर ह्याट्रिक दर्ता गर्न सफल भयो तर सन् २०१० मा भएको खेलमा फेरि भारतले श्रीलंकालाई हराउँदै उपाधि खोस्न सफल भयो। अब सन् २०२३ को उपाधि कसले बाजी मार्छ होला ? अहिले चासोको विषय बनेको छ।

फाइनल खेलमा फेरि वर्षा बाधकः

आइतबार फाइनल खेल हुने स्थानमा वर्षाको उच्च सम्भावना देखिएको छ। श्रीलंकाको मौसम विभागका अनुसार कोलम्बोमा आइतबार ८० प्रतिशत वर्षा हुन सक्ने अनुमान गरिएको छ।

खेल हुनुभन्दा केही घण्टाअघि अर्थात् दिउँसो एक बजेदेखि बेलुकी सात बजेसम्म ठूलो वर्षा हुन सक्ने पूर्वानुमान मौसम विभागले गरेको छ। समूह चरणअन्तर्गतको भारत र पाकिस्तानबीचको खेल पनि वर्षाले रद्द हुन पुगेको थियो। फाइनल खेल वर्षाले अवरुद्ध भएमा सोमबार पर्सि खेलाइने गरी रिजर्भ डे राखिएको एशियन क्रिकेट काउन्सिल एसीसीले जनाएको छ।

फाइनल टोलीको प्रदर्शनको अवस्था :

उपाधि दाबेदार भारत र श्रीलंकाको प्रदर्शन सम्झन लायकको छ। दुबै टोली १–१ हार ब्यहोर्दै फाइनलमा पुगेका हुन्। सुपर चार चरणको खेलमा श्रीलंका भारतसँग ४१ रनले पराजित भएको थियो भने सुपर चारको अन्तिम खेलमा भारत बंगलादेशसँग ६ रनले पराजित भएको थियो।

भारतको सम्भावित प्लेइङ इलाभेन :

बंगलादेशसँगको खेलमा प्लेइङ इलेभेनमा ठूलो परिवर्तन गरेको भारतले भोलि श्रीलंकाविरुद्धको फाइनलमा विश्राम दिइएका सबै खेलाडीको पुनरागमन गराइने निश्चत छ। विराट कोहली, जसप्रीत बुमराह, मोहम्मद सिराज र हार्दिक पाण्ड्याजस्ता स्टार खेलाडी श्रीलंकाविरुद्धको खेलमा मैदानमा उत्रनेछन्। ओपनर ब्याटका रूपमा कप्तान रोहित शर्मासँगै शुभमन गिल देखिनेछन्।

​तेस्रो नम्बरमा विराट कोहलीले खेल्ने पक्का छ। केएल राहुल चौथो तथा ईशान किशन पाँचौँ नम्बरमा ब्याटिङमा आउने सम्भावना छ। छैटौँ नम्बरमा हार्दिक पाण्ड्या तथा साँतौँ नम्बरमा रवीन्द्र जडेजा खेल्ने निश्चित छ।

श्रीलंकाविरुद्धको सम्भाति प्लेइङ इलेभेनमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल (विकेटकीपर), ईशान किशन, हार्दिक पाण्ड्या‚ रवीन्द्र जडेजा, कुलदीप यादव, शार्दूल ठाकुर, जसप्रीत बुमराह र मोहम्मद सिराजले स्थान बनाउन सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.