|

ललितपुर : विभिन्न मिठामिठा परिकारको साथमा आइतबार दर खाइँदै छ । आफ्ना दु:ख भुलाउन र भोलिपल्ट बसिने हरितालिका तिजको अवसर पारी नेपाली महिलाहरुले दर खाँदैछन्। भाद्र शुक्ल द्धितीयाका दिन दर खाने चलन छ।  

तर पछिल्लो समय आधुनिकताका नाममा महिना दिन अघिदेखि नै तिजको दर खाने चलन बढ्दै जाँदा यसले समाज र संस्कृतिमा समेत असर परेको पाइएको छ।

 महिनादिन अघि नै विभिन्न ठाउँमा दर खान जाँदा  त्यसका निम्ति पहिरन र खानपानका लागि खर्च बढ्दै गएको धेरैको अनुभूति छ। 

गोदावरी नगरपालिका १० का सन्तोष लामिछाने टोलैपिच्छे र आफू संलग्न भएका विभिन्न संघ संस्थामा समेत दिन दिनै दर खाने चलन बढ्दा खर्च बढेको अनुभव सुनाउँछन्।

'कहिले कता त कहिले कता, कहिले वडा, कहिले सहकारी, कहिले नाता गोता तथा कहिले साथीकोमा दर खान जाँदा खर्च बढिहाल्छ नि' उनले भने, ' सबै ठाउँमा आफूले खर्च नगरी जान मिल्दैन, फेरि अहिलेका महिलाहरुलाई एक ठाउँमा लगाएको पहिरन अर्को ठाउँमा नहुने भएको छ।' 

विभिन्न पार्टी प्यालेस, होटल , क्याफे या घरमा केही दिन अघिदेखि दिनहुँ जसो दरको कार्यक्रम भइरहेको उनले बताए। सामाजिक सन्जालमा विभिन्न मदिराजन्य पेय पदार्थ पिएर उच्छृङ्खल तरिकाले नाच्ने र गाउँने गरेका कृयाकलापका भिडियो र तस्बीर पोष्ट भइरहेका छन्। 

राष्ट्रियसभा सदस्य डा विमला राई पौडेल पछिल्लो समय तिज र दरमा बढी शहरीकरण र तडकभडक मिसिएको बताउँछिन्।

'अहिले पैसा हुने र नहुने बीचको खाडल तिज र दरले ल्याएको छ, पहिला घरमा गरेका दैनिक कामबाट फुर्सद लिन र पीडा भुलाउन माइत गएर दर खाने चलन थियो, 'उनी भन्छिन्, ' श्रीमान्सँगको माया र माइतीसँगको सम्बन्ध जोडिएको चाड अहिले आएर देखावटी, तडकभडक बनेको छ।' 

धर्म संस्कृतिका अभियन्ताहरु यसप्रति चिन्तित छन्। श्रीमद् भागवत वाचिका राधीका दास तिज र दर खाने परम्परागत संस्कृति पछिल्लो आधुनिकताले हराउँदै गएको बताउँछिन्। 'जे थियो त्यो मासिँदै गएको छ' उनले भनिन् 'सबै मोर्डन भएका छन्, के भाइटीका एक महिना अघिदेखि ३० दिन नै मनाउन मिल्छ र? त्यसका मौलिकता र पहिचान हुन्छन् नि।' 

कस्तो हो दर खाने?

टाढाटाढा रहेका चेलबेटीहरु माइतीघरमा भेला भएर वा आफ्ननै घरमा रहेर खीर, गुँद , हलुवा ,ढकनी, घ्यु दही दुध मिठाइ, फलफूल लगायतका  मिठा परिकारको दर खाने पुरानो चलन छ।

भोलिपल्ट निराहार व्रत बस्ने भएकाले भोलिपल्टको आडका लागि अघिल्लो दिन साँझ अथवा बेलुकी शरिरलाई ताकत दिने खालका खाद्यान्नको दर खाने चलन रहेको बुढापाकाको भनाइ छ।

हरितालीका तिजका बेला पानी पनि नखाई व्रत बस्ने र त्यस दिन महिलाहरुले नाचगान पनि गर्ने भएकाले शक्ति आवश्यक हुने भएकाले गुलियाशरिरमा फुर्ति दिने खालका वस्तु सेवन गरिन्छ।

कतै कतै साँझमा अन्य चिज नखाइ दर खाने प्रचलन छ भने कति ठाँउमा पहिले खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । दर पकाउन महिलाहरुलाई श्रीमान, दाजुभाइ, छोराले पनि सहयोग गर्ने र रातको समयमा नाचगान गर्दै रमाइलो गर्ने परम्परा पनि यथावतै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.