नेपाली बक्सर रविन अन्तिम १६ मा

|

ललितपुर : चीनमा जारी १९औं एसियाली खेलकुदमा सोमबार पनि नेपालको प्रदर्शन सन्तोषजनक रहेन। अधिकांश खेलाडी पराजित भएका छन् भने केही खेलाडीले एउटा दुईटा गेम जित्न थालेका छन्।

विशेषगरी नेपाली बक्सरको प्रदर्शन सोमबार राम्रो  छ। पुरुष बक्सिङमा नेपालका रविन थापा सोमबार आफ्नो खेलमा विजयी भएका छन्। 

हाङझाउ जिम्न्यासियममा भएको पुरुष ५१ केजी तौल समूहको अन्तिम ३२ को खेलमा रविनले इण्डोनेसियाका खेलाडी दियो कोएबानुलाई हराए। 

खेलमा रविन अंकका आधारमा ४–१ ले विजयी भएका हुन्। रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग प्रतिस्पर्धा गर्नेछन्।

तेक्बान्दोमा दुवै खेलाडी पराजित 

एसियाली खेलकुदको तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन्। लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको तेक्वान्दोमा नेपालकी अन्जली तामाङले अन्तिम ३२ को खेल जितेपनि अन्तिम १६ कटेर अघि बढ्न सकिनन्। 

महिला ४९ केजीमुनि उनले राउण्ड अफ ३२ मा विजयी भए पनि अन्तिम १६ को खेलमा पराजित भइन्। अञ्लीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन्। पहिलो राउण्डमा ७–७ को बराबरी खेलेकी अञ्जलीले दोस्रो राउन्डमा १०–४ अंकले आफ्नो पक्षमा पार्दै अन्तिम १६ मा स्थान पक्का गरिन्। 

अन्तिम १६ मा भने अन्जली थाइल्याण्डकी पानीपक वोङपातान्कितसँग १२–०, १०–० ले पराजित भइन्। यसैगरी पुरुष ५८ केजीमुनि राउण्ड अफ ३२ मा नेपालका राहुल कुमाल साउदी अरेबियाका रियाद नासेर हम्दीसँग सहजै पराजित भए।

कुमाल साउदी अरबियाका नासिर अहमदी रियादसँग ४–१२ र २–० ले निराश भए। तेक्वान्दोको पहिलो दिन आइतबार एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए।

जुडोमा सबै तीन खेलाडी पराजित

१९औं एसियाडको जुडोमा सोमबार प्रतिस्पर्धा गरेका नेपालका सबै तीन खेलाडी पराजित भएका छन्। जिओसान लिम्पु जिम्न्यासियममा भएको खेलमा नेपालका मनिता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए।

१३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्णधारी पुनम महिला ७५ केजीमुनि अन्तिम १६ को खेलमा मंगोलियाकी इड्रेना नयम बात्सुरीसंग पराजित भइन्।

महिला ५७ केजीमुनि मनिता तुर्कमिनिस्तानकी मायसा पार्दायेभासँग हारेकी छिन्। जुडोमै पुरुष ८१ केजीमुनि जंगबहादुर भने  फिलिपिन्सका भिरोन जोन फेरेरसँग स्तब्ध भए।


उसुमा सन्तोषजनक प्रदर्शन भएन 

उसुमा पनि अरु खेल जस्तै सोमबार नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन। 

एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको थाउलोअन्तर्गत महिला चाङक्वानमा नेपालकी सुस्मिता तामाङ  ९.४१० अंक स्कोर गर्दै ११ खेलाडीमध्ये आठौँ स्थानमा रहिन्।  

यस्तै थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा ९.०१३ अंक स्कोर गर्दै १८ खेलाडीमा अन्तिममा रहे। 

पौडीमा हिटबाटै बाहिर

पौडीमा पनि सोमबार नेपाली खेलाडीको प्रदर्शन कमजोर रह्यो। नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए। हाङजाउ स्पोर्टस सेन्टरको पौडी पोखरीमा भएको महिला २०० मिटर फ्रिस्टायलमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिइन्।

हिट–२ मा प्रतिस्पर्धा  गरेकी डुवाना २ मिनेट १६.२९ सेकेन्ड  समयमा दुरी पार गर्दै आठ खेलाडी सहभागि हिटमा पुछारमा रहिन्। 

स्तै पुरुष ५० मिटर फ्रिस्टायलमा २४.१५ सेकेण्डका साथ दूरी पार गर्दै एलेक्स शाह पनि आफ्नो हिटमा अन्तिम स्थानमा रहँदै बाहिरिए। 

महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित 

थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ। देकिङ जिओग्राफिक इन्फरमेसन पार्कको बास्केटबल कोर्टमा सोमबार सम्पन्न खेलमा नेपाल जापानसँग १८ स्कोरको अन्तरले पराजित भयो। 

समूह बी अन्तर्गत भएको खेलमा जापानले २२ स्कोर गर्दा पराजित नेपालले मात्र ४ स्कोर गर्न सक्यो। नेपालको लागि गरिसा सिलवाल र  मिना गुरुङले समान २–२ अंक स्कोर गरे। एसियाली वरियतामा दोस्रो वरियतामा रहेको जापानसँग १५ औँ वरियताको नेपालले प्रतिस्पर्धा गरेको थियो। 

समूह ‘बी’ मा जापान र नेपालसँगै चाइनिज ताइपेईं र काजाकिस्तान पनि छन्। नेपालले बुधबार काजाकिस्तानसँग तथा ताइपेईंसंग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। 

 फेन्सिङमा सबै पराजित 

एसियाली खेलकुदमा सोमबार फेन्सिङमा नेपालका सबै खेलाडी पराजित भएका छन्। हानझाउ डियान्जी युनिभर्सिटी जिम्नयासियममा भएको पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका प्रयास योञ्जन पाँचवटै खेलमा पराजित भए।

काजकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिन लोसँग समान ५–० ले पराजित भएका प्रयास उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान सायद इस्माइलजादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ ले पराजित भए।

यस्तै पुरुष साब्रे व्यक्तिगत स्पर्धामै राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२, हङकङका लोन आरोन हो स्जे, चीनका यिनगुइ यान, भियतनामका भान क्वुयतसँग एनगुएन, दक्षिण कोरियाका सानगुक हो  र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पराजित भए।

महिला फोइल व्यक्तिगततर्फ नेपालकी मन्दिरा थापा हङकङकी नोक डाफी चेन, जापानकी सिरा अजुमा, जोर्डनकी राआ मजाली र दक्षिण कोरियाकी हियो जिन होङ्गसँग समान ५–० ले, मकाउकी हियो ल्याम कुसँग ५–१ तथा थाइल्यान्डकी चायदा स्मृतिसुकुलसँग ५–३ ले पराजित भइन्।

यसैगरी गोमा आचार्य दक्षिण कोरियाकी सिना होङसँग ५–३, थाइल्यान्डकी चोक छायानीतपाट स्पिननेकर, जापानकी युका युनोसँग ५–१, सिंगापुरकी म्याक्सिन वाङ्गसँग ५–४, युएईकी अलहायाम अलब्लोसीसँग ५–२  र चीनकी  क्वानक्यान  हुआङसँग ५–० ले पराजित भइन्।

 रग्बीमा पनि पराजित

पहिलो पटक एसियाडमा सहभागिता जनाएको नेपालको पुरुष रग्बी टोलीले कुनै खेल जित्न सकेन। समूह सी मा रहेको नेपाल सोमबार वरीयताका लागि भएको खेलमा फिलिपिन्स र थाइल्याण्डसँग पनि पराजय भोग्यो।

९ देखि १३औं स्थानसम्मका लागि भएको खेलमा नेपाल फिलिपिन्ससँग ५५–० र थाइल्याण्डसँग ३६–० ले पराजित भयो। यसअघि आइतबार यूएई, चीन र अफगानिस्तानसँग नेपाल पराजित भएको थियो।

लनटेनिसका प्रदीपले दोस्रो चरण पार गर्न सकेनन् 

एसियाली खेलकुद अन्तर्गत लनटेनिसको पुरुष सिंगल्समा नेपालका प्रदीप खड्काले दोश्रो चरण पार गर्न सकेनन्।

हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा भएको खेलमा जापानका सिन्तोरो मोचिजुकीले प्रदीपलाई ७–५ र ६–१ को सोझो सेटमा हराए। 

यसअघि पहिलो चरणमा प्रदीपले टिमोर लिस्टेका एन्टोनियो मेन्डेसमाथि ६–० र ६–० को सहज जित हात पारेका थिए। पुरुष सिंगल्समै हङकङका कोलम्यान वोङ चक लामले नेपालका अभिषेक बाँस्तोलालाई पहिलो चरणमा हराए। बास्तोला सोझो सेटमा ६–२ र ६–० मा हारे। 

पुरुष सिंगल्समै हङकङका कोलम्यान वोङ चक लामले नेपालका अभिषेक बाँस्तोलालाई पहिलो चरणमा सीधा सेटमा ६–२ र ६–० हराए।  मिक्स डबल्समा इन्डोनेसियाका अल्डिला सुत्जिदा र बेन्जामिन क्रिस्टोफरको जोडीले नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडीलाई ६–० र ६–० को सोझो सेटमा हराए। 

महिला डबल्समा अभिलाषा विष्ट र माहिका राणाको जोडी दक्षिण कोरियाका डायियोन ब्याक र बोयोङ जियोङको जोडीसँग सहजै हारे। 
अब नेपालले मिक्स डबल्समा मंगलबार सुनिरा थापा र प्रणव खनालको जोडीले प्रतिस्पर्धा गर्नेछन्।

साइक्लिङमा पूरा गर्न सकेनन् रेस 

१९औं एशियाडमा सोमबार साइक्लिङ क्रस कन्ट्रीमा प्रतिस्पर्धा गरेका नेपालका दुवै खेलाडीको प्रर्दशन निराशाजनक रह्यो। उनीहरु दुबैले रेस पूरा गर्न सकेनन्। 
चुनान जिएसोउ स्पोर्ट्स सेन्टर माउन्टेन बाइक कोर्समा भएको माउन्टेन बाइक क्रसकन्ट्री प्रतिस्पर्धामा महिलातर्फ उषा खनाल र पुरुषतर्फ सुरज राना मगरले निर्धारित दूरी पूरा गर्न सकेनन्। 

योसँगै साइक्लिङमा नेपालले भाग लिएको स्पर्धा सकिएको छ।  पराजित टोली मंगलबार नै स्वदेश फर्किने तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.