|

ललितपुर : १९औँ संस्करणको एशियाली खेलकुदमा मंगलबार पनि नेपाली खेलाडीको प्रर्दशन त्यत्ति उत्साहजनक देखिएन। पदकको आशा गरिएका खेलमा समेत नेपालले निराशाजनक प्रर्दशन गर्न थालेको छ।

जसले गर्दा पछिल्ला केही एशियाडमा एक–एक पदक मात्र बोकेर हिँडेको नेपालका लागि एक पदक ल्याउन पनि धौ-धौ हुने हो कि भन्ने आशंका उब्जिन थालेको छ। 

जुडोमा अन्तिम १६ भन्दा माथि उठ्न सकेन

चीनको हाङझाउमा जारी १९औँ एशियाली खेलकुदमा जुडोतर्फ सबै नेपाली खेलाडी पराजित भएका छन्। जारी एशियाडमा ४ महिला र ४ पुरुष गरी कूल ८ जना जुडो खेलाडी सहभागी थिए। 

मंगलबार जुडोका प्रतिस्पर्धामा दुई जना खेलाडी पराजित भएपछि जारी संस्करणमा आठै जना खेलाडीको यात्रा सकिएको छ। यो एशियाडमा कुनै पनि खेलाडीले क्वाटरफाइनलसम्म पुगेर प्रतिस्पर्धा गर्न सकेनन्। 

पुरुषतर्फ प्रतिस्पर्धा गरेका विकास विकले एक खेल जितेर अन्तिम १६ मा पुग्नु बाहेक अन्य खेलाडीले कुनै पनि खेल जित्न नै सकेनन्। अन्य सातै खेलाडी पहिलो चरणमा पराजित भए। नेपालका सबै खेलाडी इप्पोनका आधारमा पराजित भए।

जियोसन लिन्पु जिम्न्याजियममा मंगलबार सम्पन्न खेलमा पुरुष १०० केजीमाथि तौल समूहमा नेपालका रञ्जेश गोल इप्पोनका आधारमा पराजित भए। उनी काजकिस्तानका क्रिकबे गालिमजानसँगको प्रतिस्पर्धामा मात्र १ मिनेट ७ सेकेन्ड टिक्न सके। 

यस्तै महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा निराश भइन्। रिनिताले आकृतिलाई म्याटमा जम्मा २७ सेकेन्ड मात्र टिक्न दिइन्। 

उसुमा सन्तोषजनक भएन

चीनमा जारी १९औँ एशियाली खेलकुदको उसुतर्फ मंगलबार पनि नेपाली खेलाडीको प्रर्दशन त्यत्ति सन्तोषजनक भएन। 

उसुको थाउलो नानछ्वानमा पुरुषतर्फ नेपालका दीपक हमालले मंगलबार १३औँ स्थान हासिल गरेका छन्। यो स्पर्धामा २० खेलाडीको सहभागिता थियो।

साओशन गुआली स्पोर्टस सेन्टरमा सम्पन्न खेलमा दीपकले ९.६३३ स्कोर गरेका थिए। इन्डोनेसियाका हरिस होराटियस ९.७५६ स्कोरका साथ शीर्ष स्थानमा रहे।

यसैगरी महिला नानछ्वानमा नीमा घर्ती मगर पुछारमा रहिन्। १० खेलाडी सहभागी यो स्पर्धामा नीमाले ९.१४० स्कोर गरिन्। चीनकी ह्युयीङ्ग चेन ९.७९० स्कोरका साथ शीर्ष स्थानमा रहँदै स्वर्ण पदकमा बाजी मारिन्। 

यस्तै उसुकै महिला नानदाओमा भने नीमाले आठौँ स्थान प्राप्त गरिन्। १० खेलाडी सहभागी यो स्पर्धामा नीमाले ९.५६६ स्कोर गरिन्। यसमा चीनकी ह्युयीङ्ग चेनले ९.८०० स्कोरका स्वर्ण पदक जितिन्। 

उसुमा अब नेपालको तर्फबाट एक जना खेलाडीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ।  बुधबार थाउलोको महिला जिआनशुमा  कविता थापाले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ। 

तेक्वान्दोका खेलाडी पराजित 

पदकको आशा गरिएको तेक्वान्दोमा पनि एक पछि अर्को खेलाडी पराजित हुँदै गएका छन्। मंगलबार लिलान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आले पुरुष ६३ केजी मुनी तौल समूहमा पराजित भएका छन्। 

अन्तिम ३२ को खेलमा टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गरे पनि उनी अन्तिम १६ मा थाइल्याण्डका बानलुङ टुबतिम्दाङसँग २–० ले हार्न पुगे। 

यसैगरी मंगलबारै भएको महिला ५३ केजी मुनीको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले  पराजित भइन्। 
पदकको अपेक्षा गरिएको तेक्वान्दोमा मंगलबारसम्म ७ खेलाडी बाहिरिसकेका छन् भने चार खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ।

बक्सिङमा बुद्ध पराजित 

१९औँ एशियाली खेलकुदमा पुरुष बक्सिङमा नेपालका बुद्ध ग्याम्जो लामा पराजित भएका छन्। पुरुष ५७ केजीअन्तर्गत अन्तिम ३२ को खेलमा बुद्ध भियतनामका खेलाडी भान डुयोङ एनगुएनसँग अंकका आधारमा ४–० ले पराजित भए।

टेनिसमा फिलिपिन्ससँग हार्‍यो 

१९औँ एशियाली खेलकुदअन्तर्गत मंगलबार टेनिसमा पनि नेपालले खराब प्रर्दशन गरेको छ। टेनिसको मिक्स डबल्समा नेपाल फिलिपिन्ससँग सोझो सेटमा पराजित भएको छ।

हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्ट टेनिस कोर्टमा भएको खेलमा फिलिपिन्सकी एलेक्स एलाला र फ्रान्सिस कासी अल्काल्तराको जोडीसँग नेपालका सुनिरा थापा र प्रणव खनालको जोडी ६–०, ६–० ले पराजित भए।

स्क्वासका टिम इभेन्टमा नेपाल पराजित

१९औँ एशियाली खेलकुदमा स्क्वासतर्फ नेपालले खराब सुरुवात गरेको छ। चौथो दिन मंगलबार स्क्वासमा नेपाल महिला र पुरुष दुवैको टिम इभेन्टमा पराजित भएका छन्। 

मंगलबार हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा पुरुषतर्फ समूह ए मा रहेको नेपाल,  कुवेत र पाकिस्तान दुबैसँग समान ३–० ले हार्न पुग्यो। 

टिम इभेन्टमा नेपालका अमिर ब्लोन कुवेतका अली अल्मेजीसँग ११–२, ११–३, ११–५ ले हार्दा अमृत थापा मगर अब्दुल्लाह अल्मेजायनसँग ११–२, ११–२, ११–६ र अरहान्त केशर सिंह अम्मार अल्तामिनीसँग ११–३, ११–३, ११–५ ले पराजित भए।

अर्को खेलमा अमिर पाकिस्तानका नासिर इक्बालसँग ११–२, ११–५, ११–२ ले, अमृत असिम मुहमम्दसँग ११–३, ११–२, ११–५ ले र अरहान्त नुर जमनसँग ११–१, ११–८, ११–५ ले पराजित भए।

यस्तै महिलातर्फ समूह बी मा रहेको नेपाल मलेसिया र मकाउसँग ३–० ले नै हार्‍याे। महिलातर्फ नेपालकी स्वस्थानी श्रेष्ठ मलेसियाकी बिन्ती अज्मानस आइरासँग ११–३, ११–१, ११–६ ले, विपना ब्लोन अज्मान आइफा बिन्तीसँग ११–२, ११–५, ११–६ र कृष्णा थापा राचेल माए अल्नोल्डसँग ११–४, ११–५, ११–४ ले पराजित भए।

मकाउविरुद्ध स्वस्थानी लेङ लाम लिएङसँग ११–६, ११–९, ११–४ ले, विपना वेएङ चि युएङसँग ११–३, ११–४, ११–४ ले र कृष्णा वाइ लेङ युएङसँग ११–६, ११–५, ११–० ले पराजित भए।

पौडी खेलाडी अनुसिया पहिलो हिटबाटै बाहिर

चीनको हाङझाउमा जारी १९औँ एशियाली खेलकुदको पौडीमा मंगलबार नेपाली खेलाडी हिट चरणबाटै बाहिरिएका छन्।  

पौडीको महिला सय मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिएकी हुन्। हाङझाउ स्पोर्ट्स सेन्टरस्थित पौडी पोखरीमा भएको हिट १ मा तण्डुकार तेस्रो भइन्। 

अनुसियाले निर्धारित १ सय मिटरको दूरी १ मिनेट ०३.१७ सेकेण्डमा पूरा गरिन्। ३० जना प्रतिस्पर्धीमा अनुसिया २५औँ स्थानमा आइन्। 

रग्बीमा कुनै खेल जितेन 

एशियाली खेलकुदको इतिहासमै पहिलो पटक सहभागिता जनाएको नेपाली रग्बी टोली चीनमा जारी १९ औँ एसियाली खेलकुदमा सबै खेलमा पराजित भएको छ। 

हाङझाउ नर्मल युनिभरसिटी चाङ्गकियान एथलेटिक्स फिल्डमा मंगलबार भएको प्लेअफको अन्तिम खेलमा नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८–० ले पराजित भयो। प्रतियोगितामा नेपालले बेहाेरेको यो सबैभन्दा ठूलो हार हो। 

यसअघि नेपालले सोमबार प्ले आफमा फिलिपिन्ससँग ५५–० तथा दोस्रो खेलमा थाइल्यान्डसँग ३६–० ले हारेकोे थियो।

यसैगरी आइतबार भएको समूह चरणमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ५५–७, दोस्रो खेलमा नेपालले घरेलु टोली चीनसँग ६५–० र तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानसँग ४१–० ले पराजित भएको थियो।

लगातार हारेपछि नेपालले ९–१३ सम्मको लागि प्लेअफ खेल्न पाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.