|

काठमाडौं : माइतीघरमण्डला यतिखेर पुन: आन्दोनले आक्रान्त बनेको छ। विभिन्न संघ संस्था व्‍यक्ति र समूहले केही न केही माग राखेर आन्दोलन गरिरहने यस माइतीघर-बानेश्वर सडकखण्ड यतिबेला शिक्षक र स्वास्थ्यकर्मीको आन्दोलनले झन् तातेको छ।

सरकारले भदौ २७ गते संसद्‌मा पेस गरेको विद्यालय शिक्षा धेयकविरुद्ध देशभरका शिक्षक माइतीघर मण्डलामा जम्मा भए। करिब १ लाख शिक्षक माइतीघरमा जम्मा  भएको दाबी गरिएको उक्त आन्दोलन असोज ३ गतेबाट चर्कियो। तीनदिन माइतीघर नै कब्जा गरेर उक्त आन्दोलन चर्किएपछि सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भयो। उक्त सहमतिपश्चात् आन्दोलन स्थगित हुने संकेत देखिएको थियो। तर, त्यो सहमतिले अस्थायी शिक्षकहरूको माग सम्बोधन हुन नसकेको भन्दै राहत शिक्षकहरूले शिक्षक महासंघ र सरकारविरुद्ध आन्दोलन चर्काएका छन्।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएर स्थायी प्रकृतिका शिक्षकहरू काठमाडौंबाट फर्किए। तर, राहत, अनुदान, अस्थायी र करारमा आबद्ध रहेका र पेन्सनबाट वञ्चितमा परेका शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। शिक्षकहरू बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन्।

उनीहरूको माग छ : सरकारसँग भएको ६ बुँदे सहमति खारेज हुनुपर्ने पहिलो सर्त राखेका छन्। शिक्षकहरूको प्रदर्शनका कारण बानेश्वर माइतीघर सडक खण्डमा सवारी आवागमन प्रभावित हुँदै आएको छ।  अझै पनि नेपाल राहत शिक्षक केन्द्रीय समिति, पेन्सन वञ्चित शिक्षक केन्द्रीय सङ्घर्ष समिति, नेपाल बाल विकास शिक्षक सङ्घर्ष समिति लगायतका विभिन्न ८ वटा संघ संगठनले आन्दोलन कायम राख्दै सडक छाडेका छैनन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिका महासचिव कुमार बजगाईंका अनुसार देशभर ४० हजार राहत शिक्षकहरू छन्।

शान्तिपूर्ण रहेको उक्त आन्दोलनमा शिक्षकहरूले कहिले नाचगान गर्छन् त कहिले सुतेर आन्दोलन गर्छन्। बिहीबार हात र टाउकोमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका शिक्षकहरू बुधबार भने केही आक्रामक देखिए। बुधबार माइतीघर मण्डलादेखि प्रहरीसँग धकेलाधकेलको वातावरण सिर्जना भएको थियो।

त्यसदिन प्रहरीको घेरा तोड्दै शिक्षकहरू बानेश्वरसम्म पुगेका थिए। शिक्षकहरूका अनुसार त्यसदिन केही शिक्षकहरू घाइते भएको बताइए पनि यसको स्वतन्त्र पुष्टि हुन भने सकेन।​ मंगलबार माइतीघरमा सुतेर उनीहरूले आन्दोलन गरेका थिए। त्यस पहिले उनीहरू सडकको छेउमा आन्दोलन गरिरहेका छन्।

उनीहरू सबै आन्दोलनमै होमिएका छन्। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले पनि शिक्षकहरूको आन्दोलनको कारण पठनपाठन प्रभावित भइरहेको जानकारी दिए। ‘आन्दोलनका कारण पढाइमा असर पुगेको छ’, उनले भने।

सुरक्षा माग्दै आन्दोलनमा स्वास्थ्यकर्मी

त्यस्तै, यतिबेला सुरक्षाको माग राख्दै चिकित्सकहरू पनि सडक आन्दोलनमै छन्। ११ बजे शिक्षकहरू माइतीघर हुँदै बानेश्वर लागेपछि चिकित्सकहरूले पुन माइतीघरमा आन्दोलन सुरु गर्छन्।  चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलित भएका हुन्।

मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरूले  माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका छन्।

स्वास्थ्यकर्मीमाथि श्रृंखलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरू सडकमा उत्रिएर विरोध जनाएका हुन्। स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन्।

 विरोध प्रदर्शनका क्रममा आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्। उनले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदासमेत राज्य मुकदर्शक बन्न नहुने बताए।

उनले भने, ‘सहमति धेरै भइसक्यो, एक्सन हामीलाई चाहिँदैन। यो धेरै भइसक्यो। पक्राउ गर्नुस् हामी मान्छौँ। नत्र सकेनौँ भन्नुस्, हात उठाउनुस्। जबसम्म पक्राउ गरेर मुद्दा चल्दैन, हामी आन्दोलनमा नै हुन्छौँ। यो राज्यको कमजोरी हो, कानूनी राज्य भएको भए घटना भएलगत्तै पक्राउ जारी जेलमा जान्थे। यहाँ त घटना दोहोरिँदा पनि कारबाही छैन। दोषीलाई संरक्षण गर्नु हुँदैन। राज्य टुलुटुलु हेरेर बसेको छ।’

आन्दोलित चिकित्सकहरूले विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ, आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ?असुरक्षा र त्रासमा उपचार कसरी गर्ने? कामेको हातले उपचार सम्भव छैन, सेतो कोट रातो भए समाज नै कालो हुन्छ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए।

यसरी हरेक दिन माइतीघर आक्रान्त बनिरहेको छ। जसले गर्दा यस क्षेत्रबाट चल्ने सवारी साधन र यात्रुहरू मर्कामा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.