|

दोलखा : दोलखामा आज थप ४ किलो सुन बरामद भएको छ।

दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा ढुंगामाटोले छोपी राखेको अवस्थामा फेला परेको चार किलो सुन बरामद गरेको इलाका प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए। उनका अनुसार चीनसँगको सिमाना रहेको लामाबगरमा जिल्ला प्रहरी कार्यालय र (सीआईबी)को विशेषज्ञ टोलीले सुन बरामद गरेको हो।

चीनबाट अवैध रूपमा भित्रिएको सुन लुकाएको आशंकामा सीआईबी र दोलखा प्रहरीले खोजतलास गरिरहेको छ। आज फेला परेको चार किलो सुन सहित जिल्लाबाट प्रहरीले ११ केजी सुन बरामद गरिसकेको छ। उक्त सुन प्रकरणमा हालसम्म ७ जना पक्राउ परेका छन्। आज मात्रै एकजना पक्राउ परेका छन्। सोसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको हो।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार विगु गापा–१ का ३० वर्षीय चसमान तामाङ आज पक्राउ परेका छन्। प्रहरी टोलीले आज लामाबगरबाट तामाङलाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए। यसअघि शुक्रबार काठमाडौँबाट राज तामाङ पक्राउ परेका थिए भने अरू पाँचजना दोलखाबाटै पक्राउ परेका छन्।

विगु गाउँपालिका–३ जामुनेको एक घरबाट बुधबार चार किलो, शुक्रबार ३ किलो र आज चार किलो गरी ११  किलो सुन प्रहरीले बरामद गरेको छ। 

दोलखाको उत्तरी नाकाबाट भएको सुन तस्करीमा ठूलै गिरोह संलग्न रहेको देखिएपछि अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को विशेषज्ञ टोली दोलखामा खटिएको छ । टोलीले बरामद सुनको अनुसन्धान गर्नेछ।

सुन बरामदसँगै चीनसँग जोडिएका उत्तरी नाकामा कडाइ गरिएको दोलखा प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.