फाइनल अहमदाबादमा खेलाइने

|

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १३ औं संस्करण भोलि (बिहीबार) भारतमा शुरु हुने भएको छ।

भोलि हुने उद्‌घाटन खेलमा इङ्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुनेछ।

हेट टु हेडमा इङ्ल्याण्ड र न्युजिल्याण्ड

एकदिवसीय ढाँचामा इङ्ल्याण्ड र न्युजिल्याण्डबीच कुल ९५ खेल भएका छन्।

जसमा इङ्ल्याण्डले ४५ खेल जितेको छ भने न्युजिल्याण्डले ४४ खेल जितेको छ। दुई वटा खेल बराबरीमा रोकिँदा चार वटा खेल रद्द भएका छन्। अहमदाबादमा भोलि बिहान वर्षाको सम्भावना २० प्रतिशतमात्रै देखाएको छ।

इङ्ल्याण्ड गत वर्षको डिफेण्डिङ च्याम्पियन पनि हो। फाइनल खेलमा बराबर भएपछि इङ्ल्याण्डले न्युजिल्याण्डलाई सुपर ओभरमा हराउँदै उपाधि जितेको थियो।

न्युजिल्याण्डले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन। गुगलले पनि न्युजिल्याण्डविरुद्ध खेल इङ्ल्याण्डले जित्ने सम्भावना ६५ प्रतिशत रहेको प्रक्षेपण गरेको छ।

विश्वकप उद्घाटनको तयारी

विश्वकप शुरु हुनुअगाडि भव्य रुपमा सांगीतिक प्रस्तुतिसहित निकै तामझामका साथ उद्घाटन समारोह आयोजना हुने गरे पनि यसपटक उद्‌घाटनका दिन यस्ता कुनै पनि कार्यक्रम आयोजना गरिएको छैन।

खेलकुद वेबसाइट रेभ स्पोर्ट्सका अनुसार विश्वको सबैभन्दा ठूलो क्रिकेट बोर्डले यसपटक उद्‌घाटनमा ठूलो समारोह आयोजना गरेको छैन।

विश्वकपमा कति टोली सहभागी छन्?

यस पटककोे विश्वकपमा विश्वका १० टोलीले सहभागी जनाएका छन्। आयोजक भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, इङ्ल्याण्ड र नेदरल्याण्ड्सले विश्वकपमा सहभागी छन्।

भारतका विभिन्न १० शहरमा खेलाइने प्रतियोगितामा लिगका ४५ खेल र नकआउट चरणका ३ खेल गरी ४८ खेल हुने छन्।

कस्तो छ विश्वकपको ढाँचा?

विश्वकपभरि हुने कूल ४८ खेलहरुमध्ये सबैभन्दा पहिले राउन्ड रोबिनका खेलहरु हुनेछन्। यस चरणमा सबै टोलीले सबैसँग १/१ खेल खेल्नेछन्।

खेलेका सबै खेलबाट सबैभन्दा धेरै अंक ल्याउने ४ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। सेमिफाइनलबाट फाइनल पुग्ने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

खेलहरु भारतका १० शहर अहमदाबाद, दिल्ली, मुम्बई, कोलकाता, चेन्नई, लखनऊ, पुणे, बेंगलुरु, हैदराबाद र धर्मशालामा हुने छन्।

दुई पटकको विजेता वेष्ट इण्डिज भने यस पटकको विश्वकपमा हुने छैन। यसपटकको विश्वकपमा छनोट हुन नसकेपछि वेष्ट इण्डिज बिनाको विश्वकप हुनेछ।

सेमिफाइनल खेल मुम्बईको वानखेडे स्टेडियम र कोलकाताको इडेन गार्डेनमा हुनेछ भने फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलाइनेछ।

​कसरी हेर्ने विश्वकप?

यस पटकको विश्वकप क्रिकेट तपाईंले घरमै बसेर टेलिभिजनमा हेर्न सक्नु हुनेछ। विश्वकप क्रिकेटको प्रशारण अधिकार स्टार स्पोर्ट्सले किनेकाले स्टार स्पोर्ट्सका सबै च्यानलहरूबाट विश्वकप  हेर्न सकिनेछ।

अंग्रेजी र हिन्दी भाषामा स्टार स्पोर्ट्सका सबै च्यानलबाट खेल हेर्न सकिनेछ। टीभीबाट हेर्न नचाहनेले प्ले स्टोरबाट डिज्नी प्लस‚ हटस्टार एप डाउनलोड गरेर निःशुल्क हेर्न सकिनेछ।

रिजर्भ डे कहिले?

एकदिवसीय विश्वकपको सेमिफाइनल र फाइनल दुवै खेलका लागि रिजर्भ डे राखिएको छ।

खेलका लागि निर्धारण गरिएको समयमा वर्षा भएमा वा अन्य कारणले खेल रोकिएमा अर्को दिनका लागि खेल सारिनेछ। 

सबैभन्दा बढी विश्वकप जित्ने टोली :

अष्ट्रेलिया : ५ पटक (सन् १९८७, १९९९, २००३, २००७ र २०१५)

वेष्ट इण्डिज : २ पटक (सन् १९७५ र १९७९)

भारत : २ पटक (सन् १९८३ र २०११)

पाकिस्तान : १ पटक (सन् १९९२)

श्रीलंका : १ पटक (सन् १९९६)

इङ्ल्याण्ड : १ पटक (सन् २०१९)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.