|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन्।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्। उनले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिए।

उनले तत्काल पुग्नुपर्ने स्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन निर्देशन दिए।

उनले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताए। प्रधानमन्त्री दाहालले नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने भन्दै कुनै पनि बेला कहीँ विपद्जन्य घटना हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए।

उनले भने, ‘अहिले भर्खरै ठूलो क्षति नदेखिए पनि यसले गरेको संकेत गम्भीर छ। त्यसकारण अहिले भएको क्षतिको पनि हामीले गम्भीरतापूर्वक लिनुपर्ने र आउने दिनका लागि तयारी विषयलाई पनि त्यत्तिकै गम्भीरतापूर्वक लिनुपर्ने भएको हुनाले यो परिषद्को बैठकले पनि विषयलाई त्यसरी नै लिन म विशेष अनुरोध गर्दछु। अहिले बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न हामी निर्देशन गर्दछौँ। हालसम्म जे जति प्रयास भएको छ, उद्धार, राहतको लागि र व्यवस्थापनमा खटिएको सबैलाई धन्यवाद छ। थप राहत र पुनःस्थापना निर्माणका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन गर्न चाहन्छु।'

प्रधानमन्त्री दाहाल शुक्रबार भूकम्पको केन्द्रबिन्दु क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यसबाट आएको रिपोर्टपछि थप कार्यक्रम अघि बढाउने बताइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.