|

काठमाडौं : 'जीवनमा सबैभन्दा पीडादायी क्षण कुन रह्यो?’ उद्घोषक सरोज घिमिरेले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सोधे।

'मेरो जीवनसाथीको निधन’, श्रेष्ठले मलीन स्वरमा जवाफ दिए।

'अनि सबैभन्दा खुशीको क्षण?'

'हरेक दिन सारा नेपालीले दिने माया र सद्भाव’, मलीन अनुहार उज्यालो बनाउँदै श्रेष्ठ बोले। उनले अगाडि थपे, 'जीवनमा बिनास्वार्थ कसैबाट प्राप्त हुने माया अतुलनीय छ। म भाग्यमानी छु। मैले माया नै माया पाएँ।'

शुक्रबार सिस्नुपानी नेपालको आयोजना र पाठशाला नेपालको सहकार्यमा थापागाउँस्थित पाठशाला स्कुलको मदनकृष्ण नाट्यशालामा श्रेष्ठले आफ्ना जीवनका आरोह अवरोहहरू कतै मलीन हुँदै कतै उत्साहित हुँदै सुनाए।

श्रेष्ठको स्वास्थ्यलाभको कामना एवं पारिवारिक सांगीतिक साधनाको प्रस्तुतिमा जहाँ उनले आफ्ना सन्तानसहित आफ्ना हिट र कालजयी गीतहरू प्रस्तुत गरे। उनले गीत मात्र प्रस्तुत गरेनन्। ती गीतसँग जोडिएका किस्सा पनि सुनाए।

सुरुवातमा श्रेष्ठकी छोरीले सुरु गरिन् तिमी जून जस्तै गीतबाट। आफूले रचना गरेको उक्त गीत छोरीले गाउँदा प्रफुल्लित देखिन्थे श्रेष्ठ। लगत्तै यमन श्रेष्ठ ले नौलो बस्ती गीत सुरु गरे। त्यसपश्चात् आफ्नो स्वर्गीय जीवनसाथी यशोदा सुवेदी जो क्यान्सरबाट बितिन्। उनलाई डेडिकेट गर्दै अर्बौं मान्छेहरूमा भन्ने गीत प्रस्तुत गरे श्रेष्ठले।

पहिलो चरणमा तीन गीत सुनिसकेपछि उद्घोषक घिमिरेले जिज्ञासा पोखे। आज मञ्चमा म मात्र देखिनुभयो। ह अर्थात् हरिवंश आचार्य उपस्थित हुन नसकेको कारण सोधे श्रेष्ठलाई।

सुटिङमा जानु परेकाले आचार्य आउन नसकेको बताएका श्रेष्ठले आफ्नो ठट्यौली जवाफ सुरु गरे। 'मैले हरिवंशलाई कार्यक्रममा आइदिनुपर्‍यो भनेर निमन्त्रणा गरेको थिएँ। तर, उसले तपाईं मात्र बोल्न पाउने कार्यक्रममा म मौन बस्नुपर्छ। भनेर उ आएन।'

उनको ठट्यौली जवाफले पुन: माहोल तात्तियो। विगत ४३ वर्षदेखि सँगै सहयात्रा गरेका मह जोडी नेपालको इतिहासमा सबैभन्दा अब्बल कलाकार जोडी हुन्। जीवनको दु:ख सुख एकैसाथ देखेका महजोडी नेपाली समाजका उदाहरणीय पात्र हुन्। श्रेष्ठले भने, 'हरिवंशले मेरो सबै उतारचढावहरू देख्यो। हामीले सँगै दु:ख देख्यौँ। सुख देख्यौँ। खुसी देख्यौँ। सफलताको स्वाद चाख्यौँ। उसको जन्म नै मेरा लागि बनेको हो भन्ने लाग्छ।'

आफ्नो मित्रतालाई प्रस्तुत गरेका उनले दोस्रो चरणमा गीत सुरु गरे। खोलावारी खोलापारी र एउटै सपना छ भन्ने गीतले दर्शकलाई आफूतिर ताने। त्यसपश्चात् छोराछोरीले क्रमश: गीत सुरु गरे।

जीवनमा आफूले चाहेर पनि गर्न नसकेको कुरा केही छ? उद्घोषक घिमिरे तेस्रो चरणको गीत सुरु गर्नुअघि सोधे।

जवाफमा श्रेष्ठले सुनाए, 'सन्तान साना हुँदा आफूले उनीहरूलाई चाहेको प्रेम दिन नसकेको स्विकार गरे। कहिले सुटिङ त कहिले प्रहसनका लागि सन्तानलाई पिताबाट अपेक्षा हुने समय दिन सकिन भन्ने लाग्छ।' तर, यसमा छोराछोरीले आफूप्रति कहिल्यै गुनासो नगरेको उनले सुनाए।

अहिले दुवैले आफूलाई प्रेम दिएको कारण रोगी शरीरमा पनि उर्जा आइरहेको जिकिर गरे।

तेस्रो चरणमा पुन उनले हे भगवान, फूलबुट्टे सारी गीत सुनाए। यमनले सेल्फी सुनाए र सरानासहित श्रेष्ठले एकसाथ पानी छायाँ गाए।

कार्यक्रमका बीचमा उद्घोषकले नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई केही भनाइ राख्न अगाडि बोलाए। शर्माले त श्रेष्ठको सम्मानमा उनको गीत अर्बौं मान्छेहरूमा भन्ने गीत सुनाए। उनले गाएको सुन्दा उनी कुशल वक्तासँगसँगै कुशल गायक रहेछन् भन्ने सुन्ने दर्शकले कानेखुसी सुरू गरे।

लगत्तै गगन थापा मञ्चमा देखा परे। उनले आफू मह जोडीहरूलाई सुनेर हुर्किएको र अहिले पनि एकै परिवारमा हुने चार पुस्ता मदन कृष्णको प्रशंसक रहेको कुरा आफैँमा दुर्लभ रहेको उल्लेख गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू श्रेष्ठको ठूलो प्रशंसक रहेको र कम्युनिष्टहरूले महजोडीबाट सम्बन्ध प्रगाढ कसरी राख्नुपर्छ भन्ने कुरा सिक्न जरुरी रहेको बताए।

डा. सन्दुक रुइतले श्रेष्ठले जीवनमा गरेको काम र समाजप्रति उनले खेलेको भूमिका आउँदो पुस्ताले समेत सम्झिरहने बताए। 

त्यसपश्चात् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मह जोडीबाट सबैले सिक्नुपर्ने जिकिर गरे। उनले मदनकृष्ण श्रेष्ठ जस्तो बहुमुखी प्रतिभा विश्वमा नै कम रहेको धारणा राखे।

कार्यक्रममा अन्तिम वक्ता रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चायतदेखि वर्तमानसम्म नेपाली राजनीति र सामाजिक सुधारमा श्रेष्ठको योगदान अतुलनीय रहेको बताए। उनले आफू श्रेष्ठको 'डाइहार्ड फ्यान’ रहेको जिकिर गरे।

ओलीले हास्यव्यंग्यलाई नेपाली समाजमा स्थापित गर्ने र हास्यव्यंग्यबाट समाजको कुरीतिलाई हटाउन मह जोडीले गरेको कामलाई नेपाली जनताले सदैव सम्झिने बताए।

कार्यक्रमको चौथो चरणमा 'सयथरी बाजा’ भन्ने गीतको कहानी मीठो शैलीमा सुनाए श्रेष्ठले। त्यतिबेला श्रेष्ठ टेलिचलचित्र १५ गतेका लागि एक गीतको खोजीमा रहेछन्।  एकदिन एउटा गीतका लागि श्रेष्ठ पुगेछन् वरिष्ठ कवि दुर्गालाल श्रेष्ठको घरमा। श्रेष्ठले भनेछन्, ' दाइ गीत लेखिदिनुपर्‍यो।'

दुर्गालालले भनेछन्, 'प्रयास गर्छु।'

'प्रयास गर्ने भए त हामीले गरिहाल्छौँ नि, तपाईंले लेख्नैपर्‍यो।'

यति भनेर श्रेष्ठ निस्किएछन् दुर्गालालको घरबाट। भोलिपल्ट दुर्गालालले फोनमा भनेछन्, 'गीत लेखेको छु। कस्तो छ कुन्नि?’ तपाईंले लेखेसी पक्कै सुन्दर छ। म आइहालेँ तपाईंकोमा।' तारा थापाको स्वर र न्हु ब्रजाचार्यको संगीतमा रहेको उक्त गीत  कहानी सुनाउँदै गर्दा छोराछोरीसहित उनले  सुरु गरे।

करिब २ घण्टाको कार्यक्रममा आफ्ना गीत, नेताहरूसँग भेटका किस्सा, अभिनयका पाटा र जीवनका आरोह र अवरोह उनले सुनाइरहे। दर्शकले ताली मारिरहे। 

गीत सकेपछि उद्घोषक घिमिरेले देशको अवस्था श्रेष्ठको धारणा लिन खोजे। श्रेष्ठले गणतन्त्र चाहेको जस्तो भइरहेको छैन। हरेक दिन युवाहरू पलायन भएको दृश्यले आफूलाई पोले पनि एकदिन सब ठीक हुने आशा आफूले राखेको बताए।

गणतन्त्रमा सबै बराबर रहेको भन्दै उनले ठूलालाई चैन र सानालाई मात्र ऐन हुने जमाना गएको सुनाए। 'आज गलत गर्नेहरू जेल गएका छन्। आज गलत गरेर पनि जेल नगएकाहरू भोली आफ्नो गल्तिको सजाय भोग्छन्। यो गणतन्त्रमा सम्भव छ।' हरेक युवाहरूलाई आशावादी हुन उनले आग्रह गरे।

अन्त्यमा आफूले यो कार्यक्रम यति धेरै भव्य होला भनेर कल्पना नगरेको भन्दै उनले आयोजकलाई धन्यवाद दिए। उनले अन्त्यमा यो कार्यक्रम मदनकृष्ण नाट्यशालामा कसरी हुन गयो भन्ने किस्सा सुनाए।

कार्यक्रमको संयोजन गरेका टंक आचार्यले एकदिन श्रेष्ठलाई भनेछन्, 'दाइ तपाईंको गीतहरू प्रत्यक्ष सुन्नुपर्‍यो।'

श्रेष्ठ : हुन्छ। मेरो कोठामा नै सुनौं?

आचार्य : हामी ३०-४० जना हुन्छौं। कोठामा सम्भव हुँदैन होला।

श्रेष्ठ : बरण्डामा हुन्थ्यो। छिमेकीलाई डिस्टर्व हुन्छ।

आचार्य : उसोभए मदनकृष्ण नाट्यशालामा गरौँ।

 'मदनकृष्ण मुड’ यसरी सम्भव भएको उल्लेख गर्दै कार्यक्रम समापन भएको स्वंय श्रेष्ठले घोषणा गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.