परिवारमा बज्रपात, शव छिटो ल्याइदिन सरकारसँग अनुरोध
परिवारमा बज्रपात, शव छिटो ल्याइदिन सरकारसँग अनुरोध
सल्यान : 'बुवा, आमा अब तपाईंले धेरै दु:ख गर्नु पर्दैन है! अब तपाईंको छोरा कमाउने भैसक्यो चिन्ता नगर्नुस, दिदी पनि टाढा छ म नयाँ घर बनाएपछि दिदीलाई पनि नयाँ घरमा ल्याएर राख्छु। तपाईहरु ढुक्क भएर बस्नुस् है।' भन्दै गएको भदौ २० गते सल्यान शारदा नगरपालिका ३ साहुटोल सिरवारका प्रवेश भण्डारी इजरायलको यात्रा तय गरेका थिए। बुढेसकालको सहारा एक्लो छोरा थिए प्रवेश।
उनीसहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेका हुन्।
इजरायल पुगेपछि परिवारसँग निरन्तर फोन सम्पर्कमा रहेका प्रवेशले आमा बुबालाई आफ्नो चिन्ता नगर्न आग्रह गर्ने गर्दथे। गएको शुक्रबार मात्र बुवासँग प्रवेशले सन्चै छु है बुवा मेरा चिन्ता नगरर्नुस् अब म भोलि शनिबार कुरा गर्छु भन्दै फोन राखे।
शनिबार प्रवेशसँग कुराकानी गर्ने प्रतीक्षामा बसेका परिवारले उनलाई अनलाइनमा देखेनन्। शुक्रबार राति ९ बजेपछि प्रवेशको परिवारसँग सम्पर्क टुटेको हो। छोरालाई पटक-पटक अनलाइनमा खोजे तर देखेनन्।
‘ग्रुपमा कल गरेको रहेछ, मैले फोन उठाउन पाइनँ, भोलि शनिबार आमाबुवासँग बोल्छु, बोलाइदिनुहोला भनेर एसएमएस छोडेको थियो’ प्रवेशकी सानिमा शोभा सेजवालले भनिन् ‘त्यसपछि अनलाइन नै देखिनँ। आइतबार बिहान इजरायलमा नेपाली विद्यार्थी पनि आक्रमणमा परेको खबर सुनेपछि उनी डराइन्। प्रवेशका साथीहरूलाई उनकी दिदी प्रतीक्षा र शोभाले कति मेसेज गरे। तर, कसैले जवाफ दिएनन्।
प्रवेशका ४५ वर्षीय बुवा चक्रबहादुर भण्डारीले शनिबार बिहानै इजराइलमा हमला खबर सुने। १९ गते शुक्रबारबाट छोराको खबर नपाएका उनी आत्तिए। रेडियोबाट मात्र आक्रमण भइरहेको खबर सुनिरहे तर पनि छोराको खबर पाउन सकेनन्। छोरासँगको सम्पर्क टुटेपछि बुवा चक्र र आमा चन्द्रिका अत्तालिए ‘छोराको अवस्थामा कस्तो छ? जिउँदो छ कि के छ? थाहा हुन सकेन। बुवाले भने आइतवार दिउँसो नेपाली विद्यार्थी पनि हमलामा परेको भन्ने खबर रेडियो र फेसबुकमार्फत थाहा पाए, तर छोरा कतै भागेर बाँचेको छ कि भन्ने आशा लाग्यो तर साँझ ७ बजे छोराको मृत्यु भएको खबर परिवारमा आयो।
छोराको मृत्युको खबर पाएपछि अहिले परिवार भावविह्ल अवस्थामा छ भने गाउँ शोकमा डुबेको छ। प्रवेशकी ४६ वर्षीया आमा र दिदी बेहोस् अवस्थामा छन्। छोराको सास त आएन तर लाश ल्याउनको लागि नेपाल सरकारसँग परिवारले आग्रह गरेको छ। 'मेरो छोरा त अब रहेन, तर छोराको लाश छिटोभन्दा छिटो नेपाल ल्याउनका लागि सरकारले पहल गरोस्।' प्रवेशका बुवा चक्रले बेहोसी अवस्थामा भने।
सल्यानका प्रवेशसहित इजरायलमा १० जना नेपाली विद्यार्थीको मुत्यु भएको छ। हमलामा घाइते हुनेमा सल्यान शारदा नगरपालिका २ का विधान सेजवाल रहेका छन्। उनको त्यहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुवैको खुट्टामा गम्भीर चोट लागेको छ इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। आक्रमणमा परेका सल्यान त्रिवेणी गाउँपालिका १ का प्रमोद केसी भने सुरक्षित रहेको बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।