|

काठमाडौं : अष्ट्रेलियामा पानीजहाजमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले शुक्रबार ललितपुरको नख्खीपोटबाट पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले नख्खीपोटका २८ वर्षीय राजन गुरुङलाई पक्राउ गरेको हो।

गुरुङले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजत विना १० जनालाई अष्ट्रेलियामा पानी जहाजमा सीपम्यानको काम लगाइदिन्छु भनी नक्कली भिसा र लेटर सहितका कागजपत्रहरु तयार गरेका थिए।

उनले म्याग्दीका तेजबहादुर कार्कीसहित १० जनाबाट ७६ लाख ६८ हजार नौ सय ९७ रुपैयाँ ठगी गरि फरार भएका थिए। उनले इन्टेल हब एजुकेशन फाउन्डेसनको नामबाट हाम्रो बजार डट कममा विज्ञापन गरेर १० जनालाई सम्पर्कमा ल्याएका थिए। कागजपत्र तयार गरी भारतको बेंगलोर र फिलिपिन्समा तालिम लिनुपर्छ भनी बेंगलोर र फिलिपिन्स पठाइ उनीहरुलाई अलपत्र पारेका प्रहरीले जनाएको छ।

२०७० असोजदेखि फरार रहेका गुरुङलाई छ वर्ष नौ महिना कैद र छ लाख ७५ हजार जरिवानाको फैसला वैदेशिक रोजगार न्यायाधिकरणले सुनाएको छ। उनलाई कैद भुक्तानको लागि नख्खु कारागार पठाइसकिएको ब्युरोका प्रहरी उपरिक्षक दिवेश लोहनीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.