|

जुम्ला : जुम्लामा हुने गरेको घोडा दौड प्रतियोगितामा विसं २०५६ सालमा भाग लिने पहिलो महिला हुन् तातोपानी गाउँपालिका-६ की राधिका रावत।

विमानस्थल रहेको ठाउँमा घोडा दौड आयोजना हुने गरेको थियो। उनी विसं २०५७ सालको घोडा दौडमा पनि सहभागी भइन्।

रावतका अनुसार त्यतिवेला महिलाले घोडा चढ्नु हुँदैन भन्ने भनाइ थियो। ‘मेरो आफ्नै घोडा थियो। मेरी दाइले तिमीले घोडा दौडमा भाग लिनु पर्छ भन्दा म तयार भएँ‚’ उनले भनिन्‚ ‘तर महिलाले घोडा चढ्नु हुँदैन भन्दै महिलाहरुले नै विरोध गरे। तैपनि मैले दौडमा भाग लिएँ।’

महिलाले पनि यस्ता कार्यक्रममा सहभागी हुनु पर्छ भन्ने लागेर घोडा दौडमा भाग लिएको उनले बताइन्। २०५८ सालमा जुम्ला विमानस्थल कालोपत्रे भएपछि घोडा दौड प्रतियोगिता रोकिएकाले आफूले भाग नलिएको रावतले बताइन्।

रावतले २०५६ सालको घोडा दौडमा भाग लिएको पुष्टि कर्णाली कला तथा साँस्कृतिक संरक्षण मञ्चका अध्यक्ष आनन्द अधिकारीले गरे। उनले भने, ‘२०५६ सालमा जुम्ला विमानस्थल हुने घोडा दौडमा तातोपानी-६ की राधिका रावत सहभागी भएकी थिइन्।’

रावत त्यस वेला कक्षा ५ मा पढ्दै गरेकी किशोरी थिइन्। अहिले उनी ४१ वर्षकी भइसकेकी छन्।

‘अहिले जुम्लामा फेरि घोडा दौड शुरु भएको छ। अहिले आफूसँग घोडा छैन त्यही भएर भाग लिन सकिएन‚’ उनले भनिन्, ‘त्यति वेला कसले घोडा दौड प्रतियोगिता गराएको हो सानै भएकाले थाहा पाइनँ।’

त्यस वेला कर्णाली स्पोर्ट्स क्लब जुम्लाले चन्दननाथ नगरपालिका-५ राजासिम चौरमा पुरानो जुम्ली संस्कृति जगेर्ना गर्न घोडा दौड गराउँदै आएको थियो तर कुनै पनि महिलाले घोडा दौडमा भाग लिएका थिएनन्।

यस पटक चन्दननाथ नगरपालिका पशु अस्पताल तथा पशुसेवा कार्यालयको आर्थिक सहयोग र कर्णाली कला तथा साँस्कृतिक संरक्षण मञ्चको आयोजनामा दशैँको बिदामा जुम्ली घोडा दौड प्रतियोगिता आयोजना भएको छ।

यसपल्ट भने प्रतियोगितामा तातोपानी-३ की १४ वर्षीया श्रृष्टि कार्कीले भाग लिएकी थिइन्। उनले घोडाको चाल र कदममा भाग लिएकी थिइन्। उनी चढेको घोडा  फाइनल दौडको छनोटमा भने परेन।

कार्कीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको संरक्षण मञ्चका अध्यक्ष अधिकारीले बताए। 

उनले भने, ‘यसपटक  तातोपानी गाउँपालिका-३ की श्रृष्टि कार्कीले सहभागीता जनाउँदा खुशी लागेको छ। कार्कीको सहभागिताले आगामी दिनमा अरु दिदीबैनीहरुलाई पनि घोडा दौडमा सहभागी हुन हौसला दिनेछ।’

जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यका अनुसार पहिला जिल्ला पञ्चायत र पछि जिल्ला प्रशासनले नै घोडा दौडको आयोजना गर्ने  गरेको थियो।

उनले भने, ‘जिल्ला प्रशासनको घोडा थियो, कृषिको पनि घोडा थियो। अहिले लोप हुने स्थितिमा पुगेपछि प्रतियोगिता आयोजना गरेर जुम्लामा घोडाको महत्त्व प्रवर्द्धन गर्न दौड आयोजना गर्न थालिएको हो।’

खस संस्कृतिका जानकार कनकासुन्दरी-३ का तुङनाथ उपाध्यायका अनुसार दशैँको हर्ष बढाइँ गर्न घोडा दौड गरिने प्रचलन जुम्लामा रहँदै आएको छ। उनले भने‚ ‘यसको इतिहास ठ्याक्कै थाहा छैन। हरेक वर्ष फूलपातीका दिन जुम्लामा घोडा दौड हुने गरेको छ।’

विजेता पुरस्कृत

दौडमा सहभागी तीन जनालाई विभिन्न विधामा पुरस्कृत गरिएको छ। यस वर्ष फूलपातीकै दिन छैटौँ पटक घोडा दौड प्रतियोगिता गरिएको छ।

प्रतियोगितामा पालित, कदम र खुल्ला गरी ३ विधामा पुरस्कार प्रदान गरिएको छ। संरक्षण मञ्चका अध्यक्ष अधिकारीका अनुसार प्रतियोगितामा गुठीचौर गाउँपालिका-१ निवासी विकास ऐडीको सेतो घोडा प्रथम, गुठीचौर गाउँपालिकाको सोही वडाकै मानबहादुर ऐडीको घोडा द्वितिय र गुठीचौर-१ कै टिक बोहोराको घोडा तृतीय भएको छ।

प्रतियोगितामा प्रथमलाई ५ हजार रुपैयाँ, द्वितियलाई ३ हजार रुपैयाँ र तृतीयलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार घोडा दौड प्रतियोगितामा २७ वटा घोडा सहभागी रहेको कर्णाली कला तथा सांस्कृतिक संरक्षण मञ्चका  सदस्य धनराज सुनारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.