|

काठमाडौं : आज विजया दशमी। नेपालीहरूको महान चाड विजया दशमी आज मान्यजनबाट टीका, जमरा ग्रहण गरेर मनाइँदै छ। आफू भन्दा ठूला व्यक्तित्वहरूबाट नवदुर्गाको प्रसाद ग्रहण गरेर यो पर्व मनाइन्छ।

दशैँको मुख्य दिन आज विजया दशमीको महत्व वैदिक कालदेखि नै रही आएको १००८ स्वामी आत्मनन्द गिरीजी महाराजले बताउनु भयो। तनहुँको देवघाट धाममा रहेको गलेश्वर आश्रमका मठाधीश समेत रहेका स्वामी आत्मनन्दले दशैँ आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्म उपासना गरेर मनाइने वैदिक सनातन धर्म अनुरुप शक्ति उपासनाको पर्व रहेको बताए।

उनले विजया दशमी देवीको प्रसाद ग्रहण गर्ने पर्वको रुपमा रहेको बताए। उनले भगवान रामले राक्षस रावणसँग युद्ध गर्दा भगवतीको उपासना गरेर शक्ति प्राप्त भएपछि रावणसँग विजयी भएको उत्सवमा यो पर्व मनाइने बताए। उनले नेपालमा शक्ति देवीको नाममा बली दिने प्रचलन विकृतिको रुपमा आएको उल्लेख गरे। उनले शास्त्रमा धेरै ठाउँमा बली शब्दको प्रयोग भए पनि बलीको अर्थ देवी, देवतालाई प्रतिकको रुपमा अर्पण गर्ने उपहार रहेको बताए। उनले धर्म र संस्कृतिमा विकृति आउनु नहुने र धर्म र संस्कृतिमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताए।

‘आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्म यो वैदिक सनातन धर्म अनुरुप शक्ति उपासनाको पर्व हो या दशैँ। विजया दशमी देवीको प्रसाद ग्रहण गर्ने पर्वको रुपमा हामीले यसलाई लिएका छौँ। पुर्खाले यसलाई परम्परागत रुपमा धानिरहेका छन्। विजया दशमीमा टीका र जमराको प्रयोग हुन्छ र आफू भन्दा ज्येष्ठ, ज्ञानवृद्ध, वयोवृद्धको हातबाट टिको जमरा लगाएर आशिर्वाद लिने गरिन्छ। यो धर्मसँग पनि सम्बन्धित छ। विजया दशमी, टीका र जमराको प्रसंग हाम्रो नेपालीहरूको संस्कृतिक पर्व हो। धर्म तथा संस्कृति यसको सम्मेलन रुप यो पर्व विजया दशमी हो। यो केवल धर्म मात्रै हुन्थ्यो भने विजया दशमी समग्र वैदिक सनातन धर्मावलम्वीहरूले मनाउँथे। तर हिन्दुस्तानका सनातन वा अन्यत्रका सनातनीहरूले विजया दशमीमा जमरा र टिको लगाउँदैनन्। केवल नेपालीहरूले मात्रै मान्यजनबाट टीका र जमरा लगाएर आशिर्वाद लिन्छन्’, उनले भने, ‘नवदुर्गाको प्रसादको रुपमा यसलाई ग्रहण गर्दछौँ। भगवान रामले राक्षस रावणसँग युद्ध गर्दा भगवतीको उपासना गरेर शक्ति प्राप्त भएपछि मात्रै मार्न सक्नुभयो। रावणसँग विजयी पाएको अवसरमा विजया दशमी मनाइन्छ। नेपालमा विकृति नै भन्नुपर्छ। शक्तिको देवीको नाममा जुन बली चढाइन्छ, काटमार हुन्छ। शास्त्रमा धेरै ठाउँमा बली शब्दको प्रयोग आएको छ। तर बली शब्दको अर्थ भेटी, उपहार हो। देवी, देवतालाई प्रतिकको रुपमा अर्पण गर्नु नै बली हो। अहिले केही विकृति बढ्दै गएका छन्। धर्म र संस्कृतिमा विकृति आउनु हुँदैन, धर्म र संस्कृतिमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन। स्वतन्त्र रुपमा धर्मकर्म गर्न दिनुपर्छ, संस्कृति, परम्परा धान्न दिनुपर्छ। कुनै दबाब हुनु हुँदैन।’

त्यस्तै १०८ स्वामी अमृतानन्द गिरीले सनातन वैदिक परम्परामा पर्ने विभिन्न पर्वहरू मध्येको मुख्य पर्व विजया दशमी भएको बताए। उहाँले आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा यो पर्व मनाइने परम्परा रहेको बताए। उनले संस्कृतिसँग पछिल्लो समय केही विकृति जोडिएको भन्दै देवीलाई बली दिनु राम्रो नभएको बताए। उनले बली प्रथा कसले र किन चलायो भन्ने अनुसन्धानको विषय भएको बताए।

उनले टीका प्रसाद ग्रहण गरेर विजया दशमी मनाउनु उदाहरणीय रहेको जिकिर गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.