|

काठमाडौं : महाकवि देवकोटाले भलाद्मी निबन्धमा भन्नुभएको एउटा वाक्य झलझली सम्झन्छु, ‘जमाना रंग बदल्छ’। खासमा जमाना मात्र रंग बदल्दैन रहेछ, जिन्दगीले पनि रंग बदल्दो रहेछ। जिन्दगी सप्तरंगी इन्द्रेणी जस्तो छ। सात रंगमा कहिले कुन रंग, कहिले कुन रंग छरिन्छ जिन्दगीमा।

कहिले गाढा रंग व्याप्त हुन्छ त कहिले फिक्का रंगको पालो पर्छ। गाढा रंग रंगिँदा जिन्दगी पनि उल्लासमय हुँदो रहेछ अनि फिक्का रंगको पालोमा जिन्दगी पनि फिक्का नै देखिँदो रहेछ, कताकता के के नपुगेको जस्तो, कताकता केही नमिलेको जस्तो।

जिन्दगीमा गाढा रंग भाग्यवादीहरूको भाग्य चम्किएको बेला छरिन्छ। कर्मवादीहरूको कर्मको गतिलो फल मिलेको बेला छरिन्छ। आशावादीहरूको सपना साकार हुँदा छरिन्छ र निराशावादीहरूले सम्पन्न होला भनेर सोच्दै नसोचेका सपना पुरा हुँदा।

एउटै रंगले पनि सबैको एउटै अवस्थालाई प्रतिनिधित्व गर्न सक्दैन। जस्तो कि रहरले जागीरे हुनेहरू, रहरले परदेशिनेहरू, रहरले पढ्नेहरू देखि लिएर रहरले नै सड्नेहरू सम्म सबैको त्यो अवस्थाको जिन्दगीमा गाढा रंग पोतिएको हुन्छ तर बाध्यताले जागीर खानेहरू, बाध्यताले परदेशी हुनेहरू, बाध्यताले पढ्नेहरू र बाध्यतावश सड्नेहरू त्यही अवस्थामा साह्रै फिक्का रंगको जिन्दगीको भारी बोकेर हिँडेका हुन्छन्।

हरेकले आफ्ना अनेकौँ अवस्थालाई रहरले होस् वा बाध्यताले छोड्दै जानुपर्ने कुरा भने धु्रवसत्य रहेछ। जीवको शरीरले पृथ्वीमा पदार्पण गरेपछि त्यही शरीरले पनि अनेक उमेर र अवस्थाहरूलाई क्रमशःछाड्दै जाँदो रहेछ, बाल्यावस्था,किशोरावस्था, युवावस्था, प्रौढावस्था, वृद्धावस्था हुँदै संसार छाड्ने समय टुप्लुक्क आँगनमा देखा परिहाल्छ।

अवसर र खोजीमा शहर पसेको तन्नेरीले जन्मेदेखि खाए खेलेको जन्मस्थानको परिवेश छोड्छ। परदेश हिँडेको एउटा परदेशीले जाँदाजाँदै बाआमाको काख छोड्छ, परिवारको साथ छोड्छ, सुख र दुःखमा साथ दिने साथी छोड्छ, जन्मभूमि र त्यससँग जोडिएका अनेकौँ परिवेश छोड्छ।

ऋण दिएका ऋणीहरू छुट्छन्, ऋण लिएका साहुहरू, अप्ठ्यारो अवस्थामा गुण लगाएका गुणी हातहरू,दुःखमा लगाएको गुण सुखमा बिर्सने बैगुनीहरू ,आफ्ना पाइला दह्रो हुँदा अरुका पाइला अड्याउन दिएका साथहरू छुट्छन्।

आफ्नै बारीमा फलेका फलफूल र अन्नहरू छुट्छन्, आफ्नै भान्छामा पाकेका स्वाद,आफ्नाहरूका माया ममता र स्नेह , अनेक उमंग बोकेका चाडपर्व, मेलापात, जात्रा र उत्सवहरू ,जिउँदाका जन्ती र मर्दाका मलामी छुट्छन्।

भारी गह्रुँगो हुँदा बिसाएका चौतारीहरू, मन चंगा हुँदा उडेको आकाश छुट्छ अनि छुट्छन् छुटाउनै नहुने अनेक घटना परिघटनाहरू।

मलाई परदेश जाने रहर कहिल्यै जागेन र गइहाल्नुपर्ने बाध्यता पनि आइलागेन। तर परिस्थितिवश यस पटक जानैपर्ने अवस्था सिर्जना भयो। न रहरको न त बाध्यताको नै परदेश यात्रा भए पनि जिन्दगीका फिक्का रंगहरू बोकेर परदेश लाग्दै गर्दा मैले पनि मातृभूमिको जमिन छोडेँ।

हवाई जहाजले उचाई लिँदै गर्दा निधारको रातो टीकामा हात पुगेपछि बल्ल झल्यास्स सम्झिएँ घरबाट निस्कने बेलामा बा र आमाका पैतालामा निधार राख्नै भुलेछु।

आमाले पुग्ने वित्तिकै खबर गर है भन्नुभयो, म हस भनेर घरबाट निस्किएको थिएँ तर अब एक वर्षसम्म फोन लाग्दैन है भन्न छुटाएछु।

बाआमालाई बिरामी हुनुभयो भने निको होलानि भनेर रोग साँचेर नबस्नू, मेडिकल गएर औषधी खाइहाल्नु है भन्न छुटाएछु। बारीको रुखमा पाकेका अम्बा टिपेर झोलामा राख्न छुटाएछु। फुर्सदमा पढौँला भनेर झोलामा राख्न ठिक्क पारेकादुई चार थान किताब छुटाएछु। एक्लो महशुस हुँदा बजाउने गरेको बाँसुरी छुटाएछु। जानु भन्दा अगाडि एक दिन रमाइलो गर्नुपर्छ है भनेका साथीहरूलाई भेट्नु त परको कुरा भयो, गएँ है भनेर एककल फोन गर्न समेत छुटाएछु। हिँड्नु अघि पशुपतिनाथको शरण पर्न छुटाएछु।

साथीले विश्वविद्यालयबाट बनाएर ल्याइदिएका शैक्षिक प्रमाणपत्रहरू घरमा ल्याएर राख्न छुटाएछु। दाइलाई बीमाको पैसा र बैँकको किस्ता तिरिदिनु है भन्न छुटाएछु। हिँड्ने बेलामा बच्चाहरूलाई दिन भनेर झोलाको खल्तीमा राखेका चकलेटहरू झिकेर दिन छुटाएछु।

अस्ति अपर्झट परेर भोली फिर्ता गर्छु दे न भनेर साथीसँग पैसा मागेको कुरा भुसुक्कै बिर्सेर तिर्न छुटाएछु। एक महिनाको लागि भनेर साथीले लगेको केही रकम भाका नाघेको पनि चार महिना पुगिसकेको थियो, अब त दे न तिरो तारो मिलाएर जान्छु भनेर माग्न छुटाएछु।

यी त भए बिर्सिएर छुटाएका कुराहरू तर सम्झेरै पनि धेरै कुराहरू छुटे। नजिकै आएको तिहारमा दिदी बहिनीको हातको टीका छुट्यो। वर्षभरि आउने चाडपर्वहरू र मेला महोत्सव छुटे। पाकेर भित्र्याउने बेलाको बाली खेतमै छुट्यो। दशैँपछि साथीहरू मिलेर तिलिचो यात्रामा जाने योजना छुट्यो। गाढा रंगको जिन्दगी बनाउने रहरको विश्वविद्यालयको परीक्षा छुट्यो। वर्षौँ पछि विदेशबाट फर्किन लागेको साथीसँगको सम्भावित भेटघाट पनि छुट्यो।

सायद.... यस्तै हुन्छ होला जिन्दगीले छोडेर जाने बेलामा पनि।

बारीमा फलेका फलहरू बारीमा नै छुट्छन्, भान्छामा पाकेको अन्नभाँडामा नै छुट्छ, फुर्सदमा पढ्न भनेर छुट्याएका किताबहरू टेबलमा नै छुट्छन्, बाआमाका आशिर्वाद, खोपीमा पुजेर राखेका देउता, जिन्दगी गतिलो बनाउने सपना बोकी घुँडा धसेर पढिकन जम्मा पारेका विश्वविद्यालयका शैक्षिक प्रमाणपत्रहरू सिरानीमुनि नै छुट्छ।

भविष्यका लागि भनेर बैँक खातामाजम्मा पारेका पसिनाका कमाई त्यहीखातामा छुट्छन्, पुर्खौँ देखि हस्तान्तरण हुँदै आएको पैत्तिक खेतबारी पुर्खाहरूले छोडेर गए जसरी नै छुट्छ, बच्चाहरूलाई दिन भनेर झोलामा राखेका चकलेटहरू झोलामा, ऋण लगेका ऋणीहरू, ऋण मागेका साहुहरू छुट्छन्।

जटिल अवस्थामा अमूल्यगुण लगाएका गुणीहरू, साथीहरूसँग फुर्सदमा रमाउन बनाएका घुमघाम र रमाइलाभोजका योजनाहरू,चाडपर्व–मेलापात, रोधी–घाटु, भजन–कीर्तन, उत्सव–उमङ्ग, पीर–व्यथाहरू सबै छुट्छन्।

 वर्षौँ खर्चेर बनाएका पद–प्रतिष्ठा र लागेकादाग–धब्बाहरू छुट्छन्, आफ्नो सर्वस्व सम्झेका जाहान–परिवार, सादा जिन्दगीका सारा रंगीन सपनाहरू छुट्छन् र छुट्छन् यस्तै जिन्दगीका अनेक किस्साहरू।

खासमा परदेश जाँदा र परलोक जाँदा छुट्ने कुराहरू उस्तै उस्तै हुँदा रहेछन्, तर केवल एउटै फरक हुँदोरहेछ। परदेश जाँदा फर्किन्छ है भन्ने आश बाँकी हुँनेरहेछ र परलोक जाँदा त्यही फर्कने आश पनि छुट्दोरहेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.