|

काठमाडौँ  : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समयभित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका छन्।

२०८३ साल चैत्र मसान्तभित्र सम्पन्न गरिसक्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाले सोही समयमा काम पूरा गर्नुपर्ने उनको भनाइ थियो। शुक्रवार सिंहदरबारमा मन्त्रालयको चालू आवको प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले उक्त योजना सम्पन्न गर्ने काम थपिएको समयभन्दा पछि टार्ने अनुमति कसैलाई पनि नरहेको स्पष्ट पारे।

उनले देशकै प्रतिष्ठाकै विषय भएको आयोजनाको काम सम्पन्न गर्न अब नेपाली सेनाले पनि ढिलाइ नगर्ने विश्वास व्यक्त गरे। उपप्रधानमन्त्री खड्काले आयोजनाको कुनै पनि समस्या तत्काल समाधान गरेर अघि बढ्न नेपाल सरकार तयार रहेको पनि दोहोर्‍याए।

उनले उक्त आयोजनाका ठेकदारहरूलाई पनि ढिलाइ नगर्नका लागि अनुगमनको काममा कडाइ गर्नुपर्ने समेत बताए।

उपप्रधानमन्त्री खड्काले भने, ‘फास्ट ट्रयाक तोकिएकै समयमा सम्पन्न गरिसक्नु पर्छ। यो सेनाको प्रतिष्ठासँग जोडिएको छ। यो जति छिटो बनाउँछौ, यसले आर्थिक क्षेत्रमा ल्याउने संख्यात्मक र गुणात्मक परिवर्तनमा ठूलो असर पर्छ। त्यसैले त्यति महत्वको योजना भएको हुनाले हामीले २०८३ को चैत्र मसान्त तोकेका छौँ। यसमा समय थप खर्चने वा टार्ने हामीसँग अनुमति छैन। विशेष गरी ठेकदारहरूले कुनै पनि बहानामा काम नगरेको सन्दर्भमा अत्यन्त कडाइका साथ जानुपर्‍यो। कहीँ पनि मोलाहिजा गर्नुभएन।’

उपप्रधानमन्त्री खड्काले कुनै पनि काममा ढिलाइ नगर्न मन्त्रालय मातहतका निकायलाई सचेत गराए। बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले बजेटको अभावमा नेपाली सेनाले पाएको सडक निर्माण लगायतका जिम्मेवारी समयमै सम्पन्न गर्ने काममा ढिलाइ भएको स्पष्टीकरण दिएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.