|

खगेन्द्र लामिछानेलाई चिनाउन लेखक, कलाकार जस्ता विशेषण जोडिरहनुपर्दैन। शहरमा उनका टलकजंग भर्सेज टुल्के, पशुपतिप्रसाद फिल्म र फुलानी कथा संग्रहको चर्चा सेलाएकै छैन। उनी भने अर्को फिल्मको तयारीमा लागिसके। कथा लेखिरहेका छन्, तिहारपछि सुटिङ गर्ने योजनामा छन्।

फिल्मको हिरो त आफै होला? भन्ने प्रश्नमा खगेन्द्र भन्छन् 'म फिल्म खेल्ने भनेर आएकै होइन, तत्काल मनले जे भन्छ, त्यही गर्छु। आफूलाई मिल्दैन भने त्यो काम गर्ने नै होइन, मिल्छ भने गर्ने हो। क्यारेक्टर यदि फिट हुन्छ भने खेल्ने हो।'

खगेन्द्रलाई आफ्नो खास क्षेत्र लेखन हो भन्ने लाग्छ। त्यसैले उनी फिल्म र नाटक खेल्नभन्दा लेख्न मन पराउँछन्। पानी फोटो र कथा गरी दुईवटा नाटक संग्रह लेखिसकेका छन्। भर्खरै 'फुलानी' कथासंग्रह बजारमा आएको छ। पहिलो संस्करण सकिएर दोश्रो संस्करण निस्किने तयारीमा छ।

२०५६ सालदेखि निरन्तर लेखन र निर्देशनमा छन्, खगेन्द्र। नाटक खेल्ने समयमा त अझ धेरै कुराहरु लेख्न सकिन्छ कि जस्तो लाग्छ, उनलाई। अझ आफैले निर्देशन गरेको नाटकमा त खेल्न मन लाग्दैन। ‘किनकी त्यहाँ निर्देशकको आँखाबाट कस्तो देखिएको छ, त्यो खेल्दाखेरि हेर्न मिल्दैन। म लेख्न कै लागि हो, त्यसैले अहिले मेरो लेख्ने क्रम पनि बढेको छ’ खगेन्द्र भन्छन्।

फस्ट ब्रेक

पोखरामा पढ्दै गर्दा साथीहरुले नाटक खेलेका रहेछन्। कलाकार पुगेनछ, अनि खगेन्द्रलाई पनि खेल भनेर कर गरे। उनले नाटकका शुरुवाती दिनहरु सम्झिँदै भने  ‘खेल्दिम् न त भनेर खेलेको, आखिर मेरो बाटो नै यही रहेछ।' त्यसपछि खगेन्द्र नाटक लेखन र अभिनयमै छन्। पोखरामा अनुप बराल र काठमाडौं आएपछि सुनिल पोखरेलसँग अभिनय सिके। उनले अहिलेसम्म पाँच वटा नाटक र तीन वटा फिल्म खेलेका छन्।

उनले खेलेको पहिलो फिल्म बधशाला हो। 'अनुप दाईले बनाउन लाग्नुभएको रहेछ, खेल न त भन्नुभयो, खेलेको राम्रै प्रंशसा पाइयो,आफूलाई पनि ठीकै लाग्यो, अनि टलकजंग भर्सेज टुल्के बनाएँ, राम्रै भयो, पशुपतिप्रसादले पनि राम्रै गर्‍यो' खगेन्द्र भन्छन् 'वर्षमा एउटा त दिन पर्‍यो नि! अब खेल्न थालेपछि मान्छेले पनि खोज्छन् नि।'

फ्यान बुढी आमै

दुईवटा फिल्मबाट नै दर्शकहरुमाझ राम्रो छाप छोडेका खगेन्द्रलाई पहिला पहिला बाटोमा हिँड्दा खासै कसैले वास्ता गर्दैनथे। तर हिजोआज चिन्नेहरु उनीसँग कुरा गर्न खोज्छन्। उनी पनि फ्यानहरुसँग राम्रोसँग कुरा गर्छन्, विशेष गरी फिल्म र नाटकका कुराहरु नै हुने गरेको उनी बताउँछन्।

दुई हप्ताअघिको एउटा घटना खगेन्द्र सितिमिति विर्सदैँनन्। ६५–७० वर्षकी महिला ‘दाँतको डोबहरु' नाटक हेर्न आएकी थिइन्। 'उहाँले पशुपतिप्रसाद हेरेर मलाई मन पराउनुभएको रहेछ। बाबु तिम्रो नाटक चलेको छ भन्ने पत्रिकाबाट थाहा पाएँ, अनि हेर्न आएको भन्नुभयो' उनी भन्छन्। २० वर्षको करिअरमा त्यो दिन जति सन्तुष्ट कहिल्यै नभएको खगेन्द्र बताउँछन्।

टलकजंग भर्सेज टुल्के कि पशुपतिप्रसाद?

उनी आफै खेलेका दुई फिल्ममा छान्नुपर्दा दुवैको आ–आफनो महत्व भएको बताउँछन्। उनी उल्टै प्रश्न गर्छन्  ‘टलकजंग भर्सेज टुल्के र पशुपतिप्रसाद दुवैले आ–आफ्नो ठाउँमा आ–आफ्नो अर्थ राख्छ। यी दुईको तुलना नै हुँदैन। एउटै कुरा भए पो तुलना हुन्छ, फरक फरक कुरालाई कसरी तुलना गर्ने?’

लु सुन भन्ने चिनियाँ नाटकले प्रभावित गरेपछि खगेन्द्रले टलकजंग भर्सेज टुल्के लेखेका रहेछन्। उनले चिनियाँ नाटकलाई नै आधार मानेर नेपाली सामाजिक घटनालाई उतारेको थिए, नाटकमा। पछि फिल्म बन्ने बेला धेरै कुराहरु परिवर्तन गरे।  

ऋचालाई भूत लाग्यो

सुटिङको क्रममा भएको घटनाहरु मध्ये उनले विर्सनै नसक्ने घटना पोखराको हेम्जामा भएको रहेछ। ‘टलकजंग भर्सेज टुल्केको सुटिङको क्रममा पोखराको हेम्जाको गाउँमा सुटिङ थियो, सुटिङ सकेर फर्कदा रात पर्‍यो। झोलुङ्गे पुल तर्दै गर्दा एक्कासी ऋचालाई के भयो के, भूत लाग्या कि के भन्छ नि त्यस्तै भयो, बोली नै अर्कै, हाउभाउ नै अर्कै हुन थाल्यो, पछि धामीझाँकीले फुकेपछि ठीक भयो।’

अनि अर्को घटना पनि यसरी सम्झे– ‘खोलामा हामफाल्नुपर्ने दृश्य थियो, हामफाल्दा के मिलेन के, दुवै घुँडा ठोक्कियो, ठोक्किएर घाउ नै भयो, एक दिन सुटिङ नै रोक्नुपर्‍यो।’ यसो भन्दै गर्दा उनी आफ्नो हत्केलामा भएको घाउ कोट्याउदै थिए, एक हप्ताअघि मोटरसाइकल लड्दा हात धसारिन पुग्दा हातमा घाउ लागेको रहेछ।

नाटकमा फड्को

२०५९ सालमा आरोहण गुरुकुलमा कथादेश नाटक चलिरहेको थियो। नाटक हेर्ने चलन सुरु भएकै थिएन। एक दिन त नाटक हेर्ने दुई जना मात्रै भए। दर्शकहरु नै अप्ठेरोमा परे, हामी भोली आउँछौं, तपाईहरुलाई किन दुःख दिनु भनेर फर्किन थाले। 'तर हामीले हाम्रो काम हो, गर्छौं भनेर दुई जनालाई नाटक देखायौं' खगेन्द्रले सम्झिए 'बत्तीको पैसा चार सय रुपैयाँ लाग्थ्यो, तिर्ने पैसा नहुँदा हामी १४ जना कलाकारले पनि टिकट किन्यौं।'

तर अहिले काठमाडौंमा पाँचवटा नाटकघर छन्। सबै ठाँउमा टिकट लिन लाइन लाग्छ। दिनमा दुईदेखि तीन सयले नाटक हेर्छन्। १०–१२ वर्षको समयमा नाटकमा धेरै परिवर्तन आएको छ।

मनचिन्तेको फिरन्ते नामको नाटक हेर्न मण्डला थियटरमा हो खगेन्द्रसँग भेट भएको। उनले नाटकबारे नै थपे ‘समयले सँधै परिवर्तन खोजिरहेको हुन्छ, नाटकमा पनि परिवर्तन आयो। तर जति परिवर्तन आउनुपर्ने हो त्यो आउन सकेको छैन, आवश्यकता अनुसार मात्र परिवर्तन आएको हो, द्रुतगतिमा होइन।'

नाटकमा लत बस्दाबस्दै सात वर्ष त जागिर पनि खाए, खगेन्द्रले। बीबीसीको रेडियो ड्रामा 'कथा मिठो सारंगीको' को स्क्रिप्ट लेख्थे उनले।

चलचित्र र नाटकमा धेरै कुरा मिल्छ भन्दै उनी भन्छन्, ‘क्यारेक्टर र इमोसन दुवै कुरा दुवै ठाँउमा चाहिन्छ। प्रविधि फरक हो। नाटकमा निर्देशकले जे जे सिकाएपनि पछि पात्रले जे अभिनय गर्छ त्यो नै सत्य हुनजान्छ तर चलचित्रमा निर्देशकले जे खोजेको हुन्छ, त्यही कुरा नदिएसम्म फेरिफेरि गर्नुपर्ने हुन्छ।’

अभिनयमा लाग्नेहरुलाई सल्लाह

पहिले आफुले आफैलाई जज गर्नुपर्छ। म यो क्षेत्रमा फिट छु कि छैन? त्यत्तिकै हामफाल्नु हुन्न। अनुशासित र लगनशील भएर लाग्दा जुनसुकै क्षेत्रमा सफल हुन सकिन्छ। पहिले पहिले बिग्रिएपछि चलचित्रमा लाग्ने भन्ने थियो, अहिले त्यो परिवर्तन भएको छ। पढेर आउने पुस्ताको कारण यो क्षेत्र पनि मर्यादित र इज्जतिलो हुदै गएको छ।

खगेन्द्रले अभिनयको तालिम मात्र लिएका हुन्। खासमा उनी भूगोलका विद्यार्थी हुन्। ‘तर अहिले त त्रिभुवन विश्वविद्यालयमा नै जिओग्राफी डिर्पाटमेन्ट खारेज भइसक्यो होला’ खगेन्द्र ठट्टा गर्छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.